प्रचण्डकाे प्रस्तावमाथि १८ जना नेताले राखे धारणा

नेता कार्यकर्ताको सङ्ख्या ठूलो भए पनि माओवादी पार्टीजस्तो भएन : प्रचण्ड

 साउन १७, २०८० बुधबार २०:२६:५० | रासस
unn.prixa.net

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) को आज बुधवारदेखि शुरु केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको सङ्क्षिप्त प्रतिवेदनमाथि १८ जना नेताले धारणा राखेका छन् । कमलादीको प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा १८ जना नेताले पार्टीको पुनःनिर्माण, पार्टीको कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका काम कारबाहीका बारेमा धारणा राखेका हुन् ।

पार्टीलाई नयाँ जीवन दिने, सङ्गठनात्मक संरचनालाई सानो बनाउने, पार्टीलाई पुनःजागृत गर्ने भन्ने विषयमा केन्द्रित भएर नेताहरूले धारणा राखेका माओवादीका केन्द्रीय सदस्य माधव सापकोटाले जानकारी दिनुभयो । बैठकको शुरुमा  पार्टी अध्यक्ष प्रचण्डले सङ्गठनात्मक संरचनालाई चुस्त बनाउने, पार्टी पङ्क्तिलाई वडास्तरमा फर्काउने, तीन महिनाको विशेष अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने, सम्मेलनमार्फत पार्टीलाई व्यवस्थित तुल्याउने प्रस्ताव राख्नुभएको थियो । 

आजको बैठकमा अध्यक्षले राख्नुभएको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो । बैठकको शुरुमा सम्बोधन गर्दै अध्यक्षले बैठकको आवश्यकता, राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनका सन्दर्भमा धारणा राख्नुभएको थियो । सम्बोधनका क्रममा उहाँले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट नागरिकमा नयाँ आशा पलाएको बताउनुभएको थियो । उहाँले नागरिकमा उत्पन्न भएको आशा र भरोसालाई सङ्गठनमा रूपान्तरणमा गर्नुपर्ने बताउनुभयो ।

उहाँले केन्द्रीय समितिको बैठकले सरकारले गरेको कामलाई अझ व्यवस्थित गर्ने, प्रभावकारी बनाउने, राष्ट्र र नागरिकको आवश्यकताअनुसार अगाडि बढ्न सहज वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष प्रचण्डले पार्टी पुनःनिर्माणको नयाँ अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीका नेता कार्यकर्ता नागरिकमा जोडिनुपर्नेमा जोड दिनुभएको थियो । नेता कार्यकर्ताको सङ्ख्या ठूलो भए पनि माओवादी पार्टीजस्तो नभएको उल्लेख गर्दै उहाँले केन्द्रीय समिति बैठकबाट कम्युनिस्ट पार्टी पुनःनिर्माणको अभियान थाल्नुपर्ने बताउनुभयो । उहाँले गम्भीर, जिम्मेवारीपूर्वक र अनुशासितरूपले बहस छलफल गरी यस बैठकलाई पार्टी पुनःनिर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन केन्द्रीय सदस्यलाई निर्देशन दिनुभयो ।

अध्यक्षको सम्बोधनपछि महासचिव देवप्रसाद गुरुङले बैठक कार्यसूचीमा प्रवेश गरेको घोषणा गर्नुभएको थियो । उहाँले बैठकको ‘एजेन्डा’ प्रस्तुत गर्नुभएको थियो । महासचिवले पेस गरेको एजेन्डा पास भएसँगै बैठक औपचारिकरूपमा छलफलमा प्रवेश गरेको थियो । 

बैठकमा अध्यक्ष प्रचण्डले विधान संशोधनको प्रस्ताव पेस गर्नुभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । अध्यक्षद्वारा विधान संशोधन प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । माओवादीले केन्द्रीय समिति समावेशी नभएको स्वीकार गर्दै विधान संशोधन गरी केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेको छ ।

केन्द्रीय समितिमा समावेशी चरित्र देखाउन तथा केही वरिष्ठ नेतालाई सहभागी गराउन विधान संशोधन गर्नुपरेको उहाँले जानकारी दिनुभयो । प्रस्तावमा मौजुदा केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाउने उल्लेख छ । अहिले माओवादीको केन्द्रीय समिति तीन सय ८७ सदस्यीय छ । 

माओवादी केन्द्रले केन्द्रीय समितिमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधन प्रस्ताव गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । माओवादीमा एक सय ९९ वैकल्पिक केन्द्रीय सदस्य छन् । वैकल्पिक केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकमा सहभागी हुन पाउँछन् । 

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको महासचिव गुरुङले जानकारी दिनुभयो । 

बैठकमा अध्यक्षले पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहेको तथ्याङ्क राख्नुभएको थियो । कोशीमा ९९ हजार छ सय एक, मधेसमा एक लाख १६ हजार नौ सय ७५, बाग्मतीमा एक लाख ४७ हजार तीन सय ५३, गण्डकीमा ६६ हजार छ सय ८७, लुम्बिनीमा एक लाख १२ हजार नौ सय १०, कर्णालीमा ८५ हजार सात सय ७४ र सुदूरपश्चिममा ७० हजार चार सय ८२, सम्पर्क कमिटीमा १९ हजार तीन सय १३, उपत्यकामा १८ हजार तीन सय २५ र प्रवासमा पाँच हजार पाँच सय ३७ पार्टी सदस्य रहेका अध्यक्ष प्रचण्डको प्रस्तावमा उल्लेख छ । 

एक वर्षमा बस्यो केन्द्रीय समिति बैठक

माओवादीको केन्द्रीय समिति बैठक निकै लामो अन्तरालमा बसेको छ । यसअघि २०७९ असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको थिएन । बैठकमा अध्यक्ष प्रचण्डले देशको राजनीतिक समीकरण र राजनीतिक उतारचढाव तथा पार्टीको आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब भएर बैठक बस्न ढिला भएको स्वीकार गर्नुभएको थियो । 

पार्टी अध्यक्षको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि गएको माघ २६ गते भर्चुअलरूपमा केन्द्रीय समितिको बैठक बसेको थियो । माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो । माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोध गरेपछि त्यसमा पुनःविचार गरेको थियो । बैठक भोलि बिहीवार बिहान ११ बजे पुनः बस्नेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया