वन्यजन्तुमैत्री सडक निर्माण र पीडित गाउँ स्थान्तरण गर्न संरक्षणकर्मीको माग

 जेठ २६, २०७५ शनिबार ८:२८:५७ | भावुक योगी

बर्दिया – वन्यजन्तुको ओहोर दोहोर हुने सडक जनावरमैत्री बनाउन वन्यजन्तु संरक्षणकर्मीहरुले माग गरेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कर्तर्निया वन्यजन्तु आरक्षका जनावर ओहोरदोहोर गर्ने राजापुर–गुलरिया हुलाकी सडकखण्ड अन्तरगत कोठियाघाट पुल नजिक खातामा वन्यजन्तुमैत्री सडक बनाउन संरक्षणकर्मीहरुले माग गरेका हुन् । संरक्षणकर्मीहरुले वन्यजन्तुबाट पीडित मधुवन नगरपालिका १ को पथ्थरबोझी गाउँलाई सुरक्षित स्थानान्तरण गर्नुपर्ने पनि माग गरेका छन् । 

सडक दुर्घटनामा परि वन्यजन्तु मारिने र वन्यजन्तु ओहोरदोहोर गर्न समस्या हुने भन्दै वन्यजन्तुमैत्री सडक निर्माण गर्न संरक्षणकर्मीले माग गरेका हुन् । वन्यजन्तुबाट अति प्रभावित मधुवन नगरपालिका १ पत्थरबोझी गाउँका १ सय १२ घरपरिवारलाई सुरक्षित स्थानान्तरण गरी बैधानिक रुपमा बसोबास गराउनु पर्ने विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया भएको थियो । 

पथ्थरबोझी गाउँमा यस वर्ष मात्रै ३ जनाको ज्यान गएको भने २८ जना घाइते भएका छन् । ६६ घर क्षति र ९३८ घरपालुवा पशुको क्षति भएको छ । पथ्थरबोझीमा प्रत्येक वर्ष वन्यजन्तुबाट मानविय क्षति हुने र बर्सेनि झण्डै ५० प्रतिशत अन्नबालीमा क्षति हुने गरेको तराई भुपरिधि कार्यक्रम (ताल) कोहलपुरका प्रबन्धक बुद्धि रिजालले बताउनुभयो । 

वन्यन्तुबाट अन्नबाली क्षति हुँदा पीडितले प्राप्त गर्ने राहत तत्काल सहज ढंगबाट दिनुपर्ने, बर्दिया निकुञ्ज भित्रबाट बग्ने कर्णाली नदीको अर्को भंगालो गेरुवा, खौराहा नदीमा कर्णालीको पानी नआउँदा निकुञ्ज भित्रका वन्यजन्तुलाई पानीको समस्या भएको, डल्फिन, गोही लगायतका वन्यजन्तुमैत्री संरचना नभएको र स्थानीय सरकार व्यवस्थापन नियमावली निर्देशिका नहुँदा द्धिविधा भएको विषयमा समेत छलफल भएको थियो । 

यस्तै कर्णाली गेरुवा नदीको बिचको भागमा पर्ने वन्यजन्तुको ओहोरदोहोर हुने स्थान खाता संरक्षित क्षेत्र अतिक्रमण गरी बसेको बस्तीलाई समेत हटाउन पहल गर्नुपर्ने संरक्षणकर्मीले माग गरेका छन् । अतिक्रमण गरी बसेको बस्ती बाढी र वन्यजन्तुबाट समेत जोखिम अवस्थामा रहेका छन् ।

हुलाकी सडक आयोजना प्रमुख सौरभ बज्राचार्यले राष्ट्रिय निकुञ्ज, जिल्ला वन कार्यालय, डब्लु डब्लु एफ, तराई भुपरिधि तालबाट कस्तो खालको वन्यन्तुमैत्री सडक बनाउनु पर्ने हो पत्र आएमा आफूहरु बन्यजन्तुमैत्री सडक बनाउन सहमत भएको बताउनुभयो । 


प्रदेश नम्बर ५ को बजेट ल्याउने तयारी भइरहेका बेला जैविक मार्ग संरक्षणका सवाल र दिगो समाधानका उपाय सम्बन्धमा जिल्ला वन कार्यालय बर्दिया र तराई भुपरिधि कार्यक्रम ताल कोहलपुरले बर्दियाको ठाकुरद्धारामा सरोकारवालाहरुसँग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको (ताल) कोहलपुरका प्रबन्धक बुद्धि रिजालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया