फुटपाथबाट विस्थापित हुँदै व्यापारी

 साउन २४, २०८० बुधबार १०:११:११ | वैद्यनाथ पाैडेल
unn.prixa.net

धादिङ सिद्धलेक गाउँपालिकाकी शान्ति विश्वकर्मा शारीरिकरुपमा अशक्त हुनुहुन्छ । राम्रोसँग हिँडडुल गर्न सक्नुहुन्न । उहाँ नयाँ बसपार्क क्षेत्रमा थर्मसमा चिया व्यापार गर्नुहुन्थ्यो पाँच/छ महिना अघिसम्म । यसबीचमा धेरै पटक नगरप्रहरीले उहाँको थर्मस लिएर गयो । धरपकड गर्यो । उहाँलाई पनि लगेर थुन्यो ।

‘उसै त बाटोमा हिँड्न नसक्ने, शरीरको भर छैन । दुःख सुख गरेर तीन/चार भाँडो चिया बेच्दै हिँड्थे । तीन/चार पटक प्रहरीको केस पर्यो । लगेर थुन्यो । राति आठ/नौ बजे पनि लगेर थुन्यो,’ उहाँ भन्नुहुन्छ, ‘दिनको उज्यालोमा नगरपालिका । राति पनि प्रहरी । ठूलो/ठूलो लगानी लगाएर गरौँ भने गर्न सकिँदैन ।’

खुट्टाको भर नभएको उहाँको छ महिना अगाडि तातोपानीले हात पोल्यो । त्यसयता केही काम गर्नु भएको छैन । आफूजस्तै केटाकेटीले दुःख नपाउन्, बाटोमा कुद्न नपरोस भन्ने उहाँको चाहना छ । तर, त्यसको लागि के गर्ने भन्ने विकल्प भने छैन । सडक व्यापारले केही विकल्प दिएको थियो । तर, अहिले त्यो पनि छैन ।

उहाँ भन्नुहुन्छ, ‘छोराछोरीलाई दुई/चार अक्षर पढाएर हामी जस्तै सडकमा कुद्न नपरोस् भनेरै फुटपाथमा चिया बेचेर हिँडेको । त्यो पनि भएन । शरीरले पनि दिएन । हामी जस्तालाई त सरकारले केही हेर्नुपर्ने हो ।’

दोलखाको गौरीशंकर गाउँपालिका–१ की रिता केसी पनि नयाँ बसपार्क क्षेत्रमा फुटपाथमा व्यापार गर्नुहुन्छ । उहाँको पनि नगर प्रहरीले धेरै पटक सामान लगिसके । नगर प्रहरीले सामान लगिसकेपछि फिर्ता गर्दैनन्।

उहाँ भन्नुहुन्छ, ‘काठमाण्डौमा बाँच्न धेरै गाह्रो छ । फुटपाथमा सामान राख्दा नगरपालिकाले लगिरहन्छ । यसो शटरको छेउतिर कुनामा बस्यो भने आएर लान्छन् । शटरवालाले पनि बस्न दिँदैनन् ।’

उहाँका अनुसार अहिले बेलुकी साढे सात बजेपछि भने पसल राख्न दिन्छ । पसल मिलाउँदै गर्दा आठ बज्छ । अनि राति आठ बजेपछि खासै मान्छे आउँदैनन् । व्यापार हुँदैन । 

उहाँ भन्नुहुन्छ, ‘बेलुका साढे सात बजे राख्न पाइन्छ । पसल लगाउँदा आठ बज्छ । राति नै बजेदेखि प्रहरी आउँछ । यो एक/डेढ घण्टाले खासै काम पनि छैन । कमाइ पनि छैन ।’

कमाइ नभएपछि उहाँले छोरालाई बोर्डिङ स्कुलबाट सरकारीमा सार्नु भएको छ । त्यहाँ मासिक शुल्क लाग्दैन । तर, भर्ना तथा परीक्षा शुल्क तिनुपर्छ । उहाँको श्रीमान इन्टरनेटको अफिसमा काम गर्नुहुन्छ । यसैले केही खर्च धानेको छ । उहाँको व्यापारले पनि केही खर्च चलेको छ । नगर प्रहरीले करिब तीन महिना अगाडि उहाँको सामान लग्यो । तर, फिर्ता दिएन ।

उहाँ भन्नुहुन्छ, ‘पहिले नगरपालिकाले सामान लग्यो भने फिर्ता दिन्थ्यो । त्यो बेला समानको भाउ अनुसार केही पैसा तिरेपछि फिर्ता पाइन्थ्यो । त्यसपछाडि ३५ दिन राख्ने गरे । ३५ दिन पछाडि पनि पैसा तिरेर आफ्नो समान ल्याउन पाइन्थ्यो । तर, अहिले भने फिर्ता नै पाइँदैन ।’

गोरखाको सिरानचोक गाउँपालिका–२ का राजकुमार तामाङ एक वर्ष अघिसम्म फुटपाथ व्यापार गर्नुहुन्थ्यो । सानो झोलामा मोबाइलको खोल, इएर फोन यस्तै सानातिना सामान बोकेर व्यापार गर्नुहुन्थ्यो नयाँ बसपार्क क्षेत्रमा । एक वर्षदेखि नगरपालिकाले फुटपाथ व्यापारमा कडाइ गरेपछि भने उहाँले यो काम गर्नुभएको छैन । अहिले भने घर बनाउने ठेकेदारको काम गर्नुहुन्छ । तर, यसमा सधैँ काम पाउन गाह्रो छ । काम पनि शारीरिक भएकोले गर्न गाह्रो छ ।

उहाँ भन्नुहुन्छ, ‘पहिले पहिले इएर फोन यस्तै बेच्ने गरेको, नगरपालिकाले राख्नै दिएन । अनि यता ठेकेदारको काम गर्न थालेको । यता पनि काम भने खासै धेरै पाइँदैन । कोठा खर्च चलाउनै गाह्रो छ ।’

तामाङलाई अहिले पनि फुर्सदको बेला अनि शनिवार भने इएर फोन बेच्न जाउँ जाउँ लाग्छ । तर, फेरि नगरप्रहरी आएर दुःख दिन्छ, सामान खोसेर लैजान्छ भनेर जान मन लाग्दैन । काम पनि सजिलो अनि कमाइ पनि राम्रो हुने कारणले उहाँलाई यस्तो लागेको हो ।

‘अझै पनि कामबाट चाँडै फर्केको बेलामा अनि अरु बेला पनि यसो फुर्सद हुँदा मलाई पुरानै काम गरौँ गरौँ भन्ने लाग्छ । तर नगरपालिकाले लखेट्ने अनि सामान नै लगेर नदिने गर्दा भने गर्न मन लाग्दैन,’ तामाङ भन्नुहुन्छ, ‘दुःख गरेर कत्ति गरेर लगानी गरेको हुन्छ । त्यो पनि नगरपालिकाले लगिदिए पछि त हाम्रो त खाने खर्च नै हुँदैन । त्यै भएर यो कामतिर लागेको ।’

काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछाने काठमाण्डौ महानगरभित्र कहीँ पनि फुटपाथमा सामान राखेर व्यापार गर्न नपाइने बताउनुहुन्छ । उहाँका अनुसार महानगरले कुनै पनि क्षेत्रमा फुटपाथमा बिहान, बेलुका वा कुनै पनि समयमा फुटपाथमा व्यापार गर्न अनुमति दिएको छैन ।

उहाँ भन्नुहुन्छ, ‘हाम्रो ड्युटीको परिस्थिति, मान्छेको अभाव भएका कारण कसैले लुकिछिपि राखेको बाहेक महानगरको नीति भनेको फुटपाथ व्यवसाय गर्न नपाइने नै हो ।’

नगर प्रहरीले सडक व्यापारीबाट जफत गरेका सामान निश्चित रकम लिएर फिर्ता दिने गरिएको लामिछानेले बताउनुभयो । तर ,सामानहरु राख्न प्रयोग हुने साइकल, गाडा वा यस्ता किसिमका चिजहरु पनि जफत हुने पनि उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘हामी सकभर त्यस्ता नाशवान प्रकृतिका सामानहरु उठाउँदैनौँ । त्यो राख्ने सामानहरु मात्र उठाउँछौँ । समातिएको सामान भने प्रक्रियागत ढंगले लिलाम हुन्छ ।’
 

अन्तिम अपडेट: फागुन १६, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया