कङ्गोमा विद्रोहीले १३ जना विदेशी सैनिकको हत्या गरे
माघ १३, २०८१ आइतबार
करिब नौ महिना अगाडि मात्रै घाम, पानी, झरी हुरी नभनी कोटेश्वर चोकको सडक पेटीमा तरकारी पसल राख्नुहुन्थ्यो सिन्धुली तीनपाटन गाउँपालिकाका मनोज बोगटी । काठमाण्डौ महानगरमा नयाँ नेतृत्व आइसकेपछि सडकपेटीमा पसल राख्न नदिने, व्यापार गर्न नदिने भनेर कडाइ गरियो । यसपछि १३ वर्षदेखि आम्दानीको मुख्य स्रोत रहेको सडकपेटीको तरकारी पसल छोड्ने, महानगरसँग लुकामारी गर्दै राख्ने वा वैकल्पिक केही व्यवसाय गर्ने भन्नेमा मनोजलाई सोच्न बाध्य तुल्यायो ।
महानगरसँग लुकामारी सम्भव रहेन । राम्रो आम्दानी भइरहेको व्यवसाय छोड्न पनि उहाँलाई मन लागेन । तर, अब महानगरले सडक पेटीमा राख्न दिँदैन, त्यसो भए के गर्ने त ? दश जोड दुईसम्म अध्ययन गर्नुभएका मनोजका अगाडि जागिर खाने वा अरु व्यवसाय गर्ने विकल्प पनि खुला थिए । तर, के गर्ने त भन्ने प्रश्नको उत्तरकोरुपमा भने मनोजले कोटेश्वर आसपासकै कुनै सटरमा तरकारी पसल नै राख्ने निधो गर्नुभयो ।
ललितपुरबाट कोटेश्वरतर्फ जाँदै गर्दा चक्रपथको आकाशेपुलबाट केही भित्रतर्फको बाटोमा छ उहाँको तरकारी पसल । उहाँले यहाँ पसल गर्नुभएको नौ महिना भयो । पहिला उहाँलाई लागेको थियो फुटपाथमा भाडा तिर्नुपर्दैन । भाडा तिर्न नपर्दा आम्दानी पनि राम्रै हुन्छ । केहीको दायित्व पनि भएन ।
तर, अहिले भने उहाँको सोचभन्दा परिणाम फरक भयो । सटरमा पसल राखिसकेपछि उताभन्दा उहाँलाई यतै ठीक लागेको छ । बिहानदेखि बेलुकीसम्म खोल्न पाउँदा आम्दानी पनि यतै राम्रो भयो । उहाँ भन्नुहुन्छ, ‘त्यहाँ जोखिम थियो । कतिखेर महानगर आउँछ भन्ने हुन्थ्यो । यहाँ आफ्नै भयो । जतिखेर मन लागे पनि पनि खोल्न पाइयो ।’
सडकपेटीमा राख्दा कतिखेर महानगर आउला र लैजाला भन्ने पीर छँदैछ । साथै सामान पनि महानगरले लैजान्छ भन्ने डरले थप्ने कि नथप्ने भन्ने हुन्थ्यो । बेलुकी दुईरतीन घण्टा पसल राख्नुहुन्थ्यो । अहिले भने उहाँको पसल बिहान छ बजेदेखि नौ बजेसम्म खुल्छ । उहाँ भन्नुहुन्छ, ‘यहाँ आफूले भनेको समयमा बिहानदेखि बेलुकासम्म खोल्न पाइयो । पसलमा पनि बुबा, भाइ, बहिनी सबै आफनो समय हेरेर जो पनि बस्न सक्ने भए । सबैले पालो पाउने पनि भए ।’
उहाँ अहिले सटरको भाडा मासिक १५ हजार रुपैयाँ तिर्नुहुन्छ । व्यापार दिनको झण्डै २० हजार रुपैयाँ जति हुन्छ । आम्दानी पनि अहिले सडकपेटीको भन्दा राम्रो छ । उहाँ भन्नुहुन्छ, ‘व्यापार पनि उताभन्दा राम्रो छ । कमाइ पनि राम्रो छ । भेराइटी पनि उताभन्दा धेरै छ ।’
पहिले त उहाँलाई पनि सटरमाभन्दा सडकपेटीकै व्यापार ठीक भन्ने लाग्थ्यो । पैसा भएको भए सडकमा कस्ले व्यापार गर्थ्याे र भन्ने उहाँले पनि धेरै सुनेको हो । ‘अरुले त के भन्लान् । तर, मेरो अनुभवमा त्यो मानसिकता सत्य पनि होइन रहेछ,’ उहाँ भन्नुहुन्छ, ‘एकैपटक ठूलो भाग खोज्नु भएन । गर्छु भनेर आँट्नु पर्यो सकिन्छ । त्यहीँ मात्र सीमित भएर बसेको भए यो अवस्थासम्म आइपुगिँदैन थियो ।’ अब भने उहाँको लक्ष्य व्यापार विस्तार गर्ने रहेको छ ।
बोगटी जस्तै सडकपेटीको व्यापारबाट सटरमा व्यापार गर्न आइपुग्नु भएको छ चन्द्रपुर नगरपालिका चन्द्रनिगाहपुरका अरुण दास । उहाँ काठमाण्डौ आएर सडकपेटी फेन्सी कपडाको व्यापार गर्न थालेको करिब १२ वर्ष भयो ।
तर, आठ महिनादेखि उहाँले पशुपति गौरीघाटमा सटर लिएर कपडा, पेटी, झोला लगायतको पसल सञ्चालन गर्नु भएको छ । उहाँलाई फुटपाथमा भन्दा सटरमा पसल राख्नु नै ठीक लागेको छ । उहाँ भन्नुहुन्छ, ‘यहीँ नै ठीक छ नि । भाग्नु परेन । महानगर आएर दुःख देला भन्नु परेन ।’
अहिले महानगरमा नयाँ नेतृत्व आएर सडकमा व्यापार गर्न कडाइ गरे पनि उहाँलाई भने राम्रो लागेको छ । उहाँ भन्नुहुन्छ, ‘अहिले धेरै कडा छ । हाम्रो पनि समर्थन छ यसमा । जथाभाबी रोड जाम गरेर बस्न हुँदैन ।’
अहिले महानगरले कडाइ गरेपछि सडकपेटी खुला भएकाले हिँड्ने मान्छेलाई सजिलो भएको उहाँको विचार छ । ‘हामी सुरक्षित ठाउँमा बस्यो भने बाटो खुला हुन्छ । मान्छेलाई हिँड्ने ठाउँ हुन्छ । हिँड्ने ठाउँमै बसिदियो भने अरु मान्छे अनि केटाकेटी बुढाबुढीलाई झन् हिँड्न गाह्रो हुने भयो ।’
फुटपाथ छोडेर सटरमा व्यापार गर्न थाले पनि उहाँको व्यापार घटेको छैन । सटर भाडा नै ३२ हजार रुपैयाँ छ । र्दैनिक कारोबार झण्डै चार/पाँच हजार हुन्छ । अहिले धेरै थरीका सामान राख्ने सुविधा छ । स्टोर पनि छ ।
उहाँ भन्नुहुन्छ, ‘व्यापार पनि घटेको छैन । अहिले इज्जत पनि अलि बढेको छ ।’ पहिले फुटपाथमा व्यापार गर्ने दास अहिले सटरमा भाडा तिरेर पसल चलाउँदा पनि खुशी हुनुहुन्छ ।
फुटपाथमा व्यापार गर्ने मान्छेले पनि सटरमा भाडा तिरेर पसल चलाउन सक्छ भन्ने अर्को उदाहरण हुनुहुन्छ सप्तरी बलवा नगरपालिकाकी राधा साह । उहाँको पसल कोटेश्वरमा छ । तरकारी, फेन्सी, झोला, छातालगायत धेरै चिज छन् पसलमा । उहाँले सटरमा पसल गरेको साढे दुई वर्ष भयो । त्यसभन्दा अगाडि उहाँहरु कोटेश्वर चोकको सडक पेटीमा नै तरकारी पसल राख्नुहुन्थ्यो ।
त्यसबेला उहाँहरु पसल बेलुकी मात्र राख्नुहुन्थ्यो । त्यो पनि परिवारका सबै बसेर । कारण थियो कतिखेर महानगरपालिका आउँछ र सामान लिएर भाग्नुपर्छ भन्ने पीडा । उहाँ भन्नुहुन्छ, ‘उता भन्दा यतै ठीक छ । यहाँ हामी बसेर पढ्न पनि पाउँछौँ । बाटोमा हुँदा त पढ्नै पाइँदैन थियो ।’
सटरमा पसल राख्दा जस्को फुर्सद भयो ऊ बस्न पाउँछ । कोठामा तथा पसलमै पनि पढ्न पाउने हुँदा पनि उहाँलाई यहीँ ठीक लागेको छ । घाम, पानीमा पनि रुझ्नु परेको छैन । उहाँ भन्नुहुन्छ, ‘बाटोकै आश गरेर बसेको भए यहाँ कहाँ आइपुगिन्थ्यो र । मान्छे जहाँ हो त्यहीँ रहेर त अगाडि बढ्नै सकिँदैन नि । भइरहेकोलाई छोडेर अरु नै बाटो खोज्नपर्यो ।’
अहिले ल्याब टेक्निसियन पढ्दै गर्नुभएकी राधाको परिवारमा आमा, दाइ तथा दिदी हुनुहुन्छ । उहाँहरुको घरखर्च यही पसलले चलेको छ । फुटपाथमा पसल चलाएको मानिसले कसरी सटर लिएर पसल चलाउन सक्छ र भन्ने धेरै फुटपाथ व्यापारीको कुरा सुनिन्छ ।
तर, राधा भन्नुहुन्छ, ‘यो भनेको मान्छेहरुले गर्न नचाहेर सजिलो खोजेर हो । आफूले नै गर्न चाह्यो भने सकिन्छ । बाटोकै पछि लाग्यो भने त केही गर्न सकिँदैन नि । बाटोमा हटाइसकेपछि अझै केही त्यस्तै व्यापार गर्दै हुनुहुन्छ । उहाँहरुले पनि यस्तै खोजेर गर्न सक्नुहुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।