चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
‘यहाँ मर्नै नपर्ने मान्छेको मृत्यु भएको छ । रमितेहरु मानवता हराएका मान्छे हुन् । अनि हाम्रो देशको कानुनले पनि सहयोग गर्नेलाई नै दुःख दिन्छ । यही कारणले मान्छेले सहयोग गर्न डराउँछन् जस्तो लाग्छ ।’ सिन्धुपाल्चोकको लिसङ्खापुर गाउँपालिका–७ मा मङ्गलवार भएको दुर्घटनामा दोलखा वैतेश्वर गाउँपालिका–७ का विश्वराज श्रेष्ठले समयमै उपचार नपाएर ज्यान गुमाएको खबर सुनेर देवप्रसाद प्रजापतीले व्यक्त गर्नुभएको प्रतिक्रिया हो यो ।
मङ्गलवार बस र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा घाइते भएका विश्वराजले आधा घण्टासम्म वरपर जम्मा भएका मान्छेलाई सहयोगको लागि याचना गर्नुभएको थियो । तर, कसैले पनि सहयोग गरेन । आधा घण्टापछि पुगेको प्रहरीले पनि पहिले उद्धार गर्नुभन्दा घटनाको विवरणमा केहीबेर अल्मलिँदा विश्वराजले समयमै उपचार पाउन सक्नुभएन र ज्यान गयो ।
यो घटनाले समाजको मानवीय संवेदनशीलताका बारेमा धेरै प्रश्न उठाएको छ ।
करिब एक हप्ता अगाडि एउटा दुर्घटनामा पर्दाको त्यस्तै अनुभव छ गोरखाको सुलीकोट गाउँपालिका–५ ताकुमझा लाकुरीबोटका दीपक दर्जीको ।
उहाँ हातमा प्लास्टर लगाएर ट्रमा सेन्टरको बाहिर बसिरहनु भएको छ । एक हप्ताअघि उहाँ गोरखाको स्थानीय बसबाट घर जाँदै हुनुहुन्थ्यो । घर नजिकको बिसौनीमा झर्ने क्रममा उहाँ लड्नुभयो । लड्दा न त गाडीका सहचालकले यात्रु लडेको भनेर गाडी रोके न त अरु यात्रुहरुले मान्छे लडेको भनेर चालकलाई गाडी रोक्न लगाए । गाडी अगाडि बढ्यो । धन्न त्यही गाडीले उहाँलाई धक्का दिन र किच्न पाएन । त्यहाँ वरपर केही मानिसहरु थिए । कसैले खासै वास्ता गरेन । करिब १० मिनेटपछि उहाँ आफैँ उठ्नु भयो । हात बिस्तारै सुन्निन र दुख्न थाल्यो । त्यसपछि उहाँ काठमाण्डौको ट्रमा सेन्टरमा आएर एक्स रे गर्नुभयो । डाक्टरले भाँच्चिएको छ प्लास्टर गराउनुपर्छ भने । उहाँले प्लास्टर गराउनु भयो ।
उहाँ भन्नुहुन्छ, ‘म लड्दा त्यहाँ केही मान्छे थिए । तर, कसैले वास्ता गरेन । के भयो, कसरी लडेको भनेर सोध्ने अनि उठाउने काम गरेनन् । मेरो केस सिरियस थिएन । तर, कोही मान्छे ठूलो दुर्घटनामा परेर साँच्चै सिरियस हुने हो भने त ज्यानै जाने सम्भावना हुन्छ ।’
अहिले समाजमा संवेदना हराउँदै गएकोमा उहाँ चिन्तित देखिनुहुन्छ । पहिले पहिले भए दुर्घटना हुँदा वा अरु कुरामा मान्छेलाई सहयोग गरौँ भन्ने भावना हुन्थ्यो । अहिले भने हेरेर बस्छन् । फोटो खिच्छन् । टिकटक बनाउँछन् ।
उहाँ भन्नुहुन्छ, ‘पहिले दुर्घटना हुँदा मान्छेले आएर उठाउने, सहयोग गर्ने, अस्पतालसम्म लगिदिने गर्थे । तर, अहिले भने हेरेर बस्ने । सकभर छुन नपरोस् भन्ने गर्छन् । अझ मोबाइलले फोटो, भिडियो खिचेर बस्छन् । अस्पताल लगिदिने त कता हो कता ।’
सिन्धुपाल्चोकको १६ किलोमा मङ्गलवार भएको दुर्घटनाको स्मरण गर्दै उहाँले हेर्ने, देख्ने मान्छेले सहयोग नगर्दा एक ज्यान युवाको ज्यान गएकोमा एकदमै दुःखित भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मेरो ठाउँमा अलि सिरियस दुर्घटना भएको भए मेरै पनि ज्यान जाने सम्भावना हुन्थ्यो । खोइ अहिले समाज के भयो, कता जाँदैछ ?’
कतिपय अवस्थामा दुर्घटनामा परेका घाइतेलाई उपचारका लागि अस्पताल लैजाँदा अस्पतालले समयमै नहेर्ने गरेको धेरै गुनासो पनि सुनिन्छ । मानवीयता देखाएर अस्पतलासम्म पुर्याउँदा उल्टै लैजाने मान्छेले नै सोधपुछको हैरानी उपचारका लागि औषधि तथा अरु थप सहायता गर्नुपरेका कारण मानिसहरु खासै सहयोगका लागि तयार नभएको देखिन्छ ।
तर, अस्पतालमा कोही मान्छेलाई कसैले उद्धार गरेर उपचार गराउन ल्यायो भने अस्पतालको आकस्मिक कक्षमा रहेका प्रहरीको रोहबरमा राखेर उपचार हुने बताउनुहुन्छ ट्रमा सेन्टरका प्रमुख डाक्टर बद्री रिजाल।
उहाँ भन्नुहुन्छ, ‘इमर्जेन्सीमा तत्कालै उपचार शुरु हुन्छ । हामी प्रहरीलाई जानकारी गराउँछौँ । हामी उपचारमा लाग्छौँ । प्रहरी आफन्त खोज्नतिर लाग्छ ।’
सिन्धुपाल्चोकमा भएको घटनाले हामी कतै असंवेदनशील भएका हौँ कि भन्ने चिन्ता छ डाक्टर रिजालको । ‘कोही मान्छे चोट लागेर छटपटाएर उपचार खोजिरहेको अवस्थामा जस्ले पनि उपचारका लागि लैजाँदा पनि केही समस्या हुँदैन,’ उहाँ भन्नुहुन्छ, ‘इमर्जेन्सीमा तुरुन्तै उपचार चाहिनेका लागि केही समस्या पर्दैन । सामान्य चोटपटक लागेको अवस्थामा केही समय कुर्न मिल्छ भने उहाँहरुको मान्छे कुर्ने बेग्लै कुरा हो । ज्यान जाने कुरामा, इमर्जेन्सी उपचारमा आफन्त नहुँदैमा उपचार नहुने भन्ने कुरा हुँदैन । उहाँहरुले उपचार पाउनुहुन्छ ।’
डाक्टर रिजाल भन्नुहुन्छ, ‘उपचारमा लाने बित्तिकै पुलिसले समात्छ, केरकार गर्छ भनेर असंवेदनशील हुनु भएन । दुर्घटना जहाँ जस्लाई पनि पर्न सक्ने हुनाले मानवीय संवेदना भएर सहयोग गर्नुपर्छ । त्यसरी ल्याएको बिरामीको पनि सहजै उपचार हुन्छ । ल्याउने मान्छेलाई अस्पतालले केही दुःख दिँदैन ।’
तर घाइतेको उद्धार गर्दा दुःख पाउने गरेका उदाहरण पनि छन् । घटना दुई/तीन वर्ष पुरानो भए पनि उपचारका लागि बाटोमा दुर्घटना भएका एकजना अपरिचित मान्छेलाई अस्पताल पुर्याउँदा रातभरि अस्पतालमा बस्नुपरेको नमिठो अनुभव सुनाउनुहुन्छ सामाखुशीका महेन्द्र खनाल ।
कार्यालयबाट फर्कने क्रममा नयाँ बसपार्क क्षेत्रमा एक जना मोटरसाइकलवालाले एक जना साइकल चालकलाई उहाँकै अगाडि ठक्कर दिए । मोटरसाइकलवाला भाग्यो । अनि उहाँले आफ्नो मोटरसाइकलमा राखेर बिरामीलाई शिक्षण अस्पताल महाराजगञ्ज लैजानुभयो । तर, प्रहरीले बिरामीको मान्छे सम्पर्क नहुन्जेलसम्म छोड्न मिल्दैन भनेर उहाँलाई रातभर अस्पतालमा राख्यो ।
उहाँ भन्नुहुन्छ, ‘मैले सहयोग गरेबापत दुःख पाउनु पर्यो । मेरो सम्पर्क नम्बर राखेर वा केही गरेर प्रहरीले त मलाई धन्यवाद दिएर पठाउनु पर्ने हो नि । झन् मैले बेकारमा रातभर अस्पताल बस्नुपर्यो । यस्ता कुराले मान्छेहरु सहयोग गर्न तयार हुँदैनन् ।’
तर, सामान्य हिसाबले अलपत्र परेको तथा दुर्घटनामा परेको मान्छेलाई उद्धार गर्ने मान्छेलाई प्रहरीले झन्झट दिँदैन भन्नुहुन्छ, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब उपरीक्षक कुवेर कडायत । उहाँ कुनै पनि दुर्घटनामा कोही मान्छे परेको देखिए सहयोग गर्न वा नजिकको प्रहरीलाई खबर गर्न पनि अनुरोध गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘सकिए सेवा गर्नुस्, सहयोग गर्नुस् नभए नजिकको प्रहरीलाई खबर गर्नुस् ।’
सहयोग गर्दा प्रहरी, प्रशासनबाट उद्धारकर्तालाई झन्झट हुने भन्ने बुझाइ भने आफ्नोआफ्नो हुने गरेको उहाँ बताउनुहुन्छ । ‘सेवा भनेको, धर्म भनेको परिस्थितिले पनि कहिलेकाहीँ व्याख्या गर्ला । अन्यथा सामान्य हिसाबले अलपत्र परेको मान्छे, दुर्घटनामा परेको मान्छेलाई उद्धार गर्ने मान्छेलाई प्रहरीले झन्झट गर्दैन,’ उहाँ भन्नुहुन्छ, ‘सामान्य सोधपुछ के हो, परिस्थिति कस्तो थियो आफ्नो रेकर्ड लिपिबद्ध गर्न लेख्नु स्वाभाविक हो ।’
दुर्घटनास्थलमा प्रहरीले घाइतेको उद्धारमा भन्दा अरु विवरण सङ्कलन र मुचुल्का उठाउनेतिर ध्यान दिने गरेको गुनासो गर्नेहरु पनि छन् । तर प्रहरी प्रवक्ता कडायत भन्नुहुन्छ, ‘कतिपय प्राविधिक समस्या, साधन, श्रोत नहुँदा केही ढिलाइ भएको हुन सक्छ । तर, प्रहरीले घाइतेको उद्धार र उपचारमै पहिलो प्राथमिकता दिने गरेको छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।