भक्तपुरमा ५२ लाख ७५ हजार रुपैयाँ बराबरकाे नक्कली नोट बरामद, ९ जना पक्राउ

 साउन २६, २०८० शुक्रबार १३:१९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिकाबाट बिहीवार हिजाे बेलुका ठूलो मात्रामा नक्कली नोट बरामद गरेको छ। प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले चाँगुनारायण नगरपालिका–४ चाँगु बुढाथोकीगाउँबाट ५२ लाख ७५ हजार रुपैयाँ बराबरकाे नक्कली नोट बरामद गरेको हो ।

प्रहरी वृत्त थानकोटले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा नौ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ घर भइ अहिले चाँगु बस्ने ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मारी नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो ।

प्रहरीका अनुसार सुवेदीको डेरामै नक्कली नोट छाप्ने गरेकाे पाइएकाे छ। प्रहरीले कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको प्रहरी उपरीक्षक केसीले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–६ घर भइ अहिले काठमाण्डाैको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भइ काठमाण्डाैको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्कीलाई पक्राउ गरिएको छ।

यसैगरी नवलपरासीको सरावल गाउँपालिका–१ घर भइ अहिले काठमाण्डाै बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका–२ घर भइ अहिले काठमाण्डाैको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भइ अहिले काठमाण्डाैको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भइ अहिले काठमाण्डाैको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बरामद गरिएका सबै सामग्री अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट लगिएको प्रहरी उपरीक्षक केसीले बताउनुभयो।

*सङ्ख्या फरक परेपछि सच्याइएकाे छ– सम्पादक

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया