पहिरोले सडक अवरुद्ध हुँदा मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत पुर्याउन समस्या

 साउन ३०, २०८० मंगलबार ८:६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत पुर्याउन समस्या भएको छ । बाढी/पहिरोले सडक भत्किएको तथा हवाई मार्गबाट ढुवानी हुन नसक्दा प्रभावितलाई आवश्यक खाद्यान्न, लत्ताकपडा पुर्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अहिले बन्द छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामका लागि साउन मसान्तसम्म यो सडक बन्द गरिएको हो ।

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडक बन्द हुँदा बाढी प्रभावितलाई राहत पुर्याउन समस्या छ । उहाँले यो सडक तत्काल खुलाउन सके मात्रै राहत सहज हुने बताउनुभयो ।

हिजो बाढीले क्षति पुर्याएको भौतिक संरचनाको प्रारम्भिक विवरण सङ्कलन र प्रभावितको व्यवस्थापनको काम गरिएको छ । प्रमुख जिल्ला अधिकारी केसीले बाढीले गरेको क्षतिको विवरण सङ्कलनका साथै घरबास गुमाएकालाई आफन्त कहाँ, गाउँपालिका कार्यालय र सामुदायिक भवनमा बसोबासको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । स्थानीय बासिन्दा र मजदुरलाई खानेबस्ने व्यवस्था घरपझोङ र बारागुङ गाउँपालिकाले गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतवार राति आएको बाढीले पुर्याएको भौतिक संरचनाको क्षति विवरण सङ्कलन र घरबास गुमाएकालाई सुरक्षित ठाउँमा व्यवस्थापन गरेका हुन् । घरपझाेङ गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र नौ वटा गोठमा बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी दिनुभयो ।

पूर्वसूचनाका कारण स्थानीयवासीले ज्यान जोगाएका अध्यक्ष गुरुङले बताउनुभयो । कागखोलामा तीन वटा पक्की, एउटा झोलुङ्गे र एउटा काठको पुल क्षति भएको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागखोलामा निर्माणाधीन मोटरेबल पुलको स्पाम बगाउँदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासँग यातायात सम्पर्कविच्छेद भएको छ। 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया