इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - देशभर यसवर्ष झण्डै ९० प्रतिशत मात्र रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ९४ प्रतिशतसम्म रोपाइँ भएको थियो । देशभर १४ लाख ८८ हजार ४९ हेक्टरमा धान रोपाइँ हुन्छ । तर यसपालि झण्डै १३ लाख हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
कृषि मन्त्रालयका अनुसार सबैभन्दा कम मधेस प्रदेशमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ । अब रोपाइँ हुन नसके धानको उत्पादन घट्ने र नेपालले गर्दै आएको धान/चामलको आयात थप बढ्नेछ । यसवर्ष धान रोपाइँ हुने क्षेत्रफल घटेको छ । विशेषगरी मधेस, बाग्मती र गण्डकीमा ढिला मनसुन शुरु हुँदा र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगका कारण रोपाइँमा कमी भएको कृषि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीका अनुसार यसवर्ष सबैभन्दा कम मधेसमा झण्डै ७० प्रतिशत रोपाइँ भएको छ । अझै केही दिन रोपाइँ हुने भएकाले यो तथ्याङ्क बढ्ने अनुमान छ । गएको वर्ष मधेसमा साउन सकिँदा झण्डै ९३ प्रतिशतसम्म रोपाइँ भएको थियो ।
मनसुनमा पानी नपर्दा आकाशे पानीको भरमा रहेका मधेस प्रदेशका धेरै किसानले धान नै रोप्न पाएनन् । तर केही दिनअघिको पानीले थोरै भए पनि राहत पुगेको किसानको भनाइ छ । मधेस प्रदेशका आठवटै जिल्लामा गरी कुल पाँच लाख ७४ हजार तीन सय ६० हेक्टर खेतीयोग्य जमिन रहेकोमा चार लाख पाँच हजार चार सय ५० हेक्टर क्षेत्रफल धान रोपाइँ योग्य जग्गा छ ।
साउनको तेस्रो हप्तासम्म ६० प्रतिशत मात्रै रोपाइँ भएकोमा पानी परेपछि झण्डै १० प्रतिशत बढेर ७० प्रतिशत पुगेको मधेस प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता एवम् खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख रोशन मेहताले बताउनुभएको छ ।
धान उत्पादनको धेरै हिस्सा ओगट्ने तराई–मधेसलाई अन्नको भण्डार मानिन्छ । धानबाली विज्ञ सुशील सुवेदीका अनुसार यसवर्ष उत्पादन घट्ने देखिएको छ । भदौ पहिलो हप्तासम्म पनि तराईका केही क्षेत्रमा रोपाइँ हुन सक्ने तर असार–साउनमा रोपेको धानले दिने जति उत्पादन नदिने विज्ञको भनाइ छ ।
बुढो भएको बिउबाट त्यति धेरै फल नलाग्ने धानबाली विज्ञ सुवेदी बताउनुहुन्छ । धेरै धान फल्ने क्षेत्रमै कम रोपाइँ हुँदा उत्पादन घट्ने चिन्ता छ । जग्गा बाँझो राख्नुभन्दा बिउको जोहो गर्न सके धान रोप्न र धानबाली नभए अरु दलहन, कोदोजन्य बाली तथा तरकारी खेती गर्न उहाँको सुझाव छ ।
सुक्खायाममा पनि उत्पादन हुन सक्ने बाली लगाएर बाँझो जग्गाको सदुपयोग गर्न र उत्पादन लिन सकिने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।