एमसीसी अन्तर्गत प्रसारण लाइन बनाउन मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया शुरु

 भदौ १, २०८० शुक्रबार ७:४२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै - अमेरिकी अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको छ ।

चार सय केभी विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेसनदेखि नयाँ हेटौँडा सबस्टेसन खण्डमा पर्ने जग्गा अधिग्रहणको प्रक्रिया शुरु गरिएको हो । थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौँडा उप–महानगरपालिकामा पर्ने जग्गा स्थायी रूपमा अधिग्रहण गर्ने गरी सूचना प्रकाशित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज सार्वजनिक सूचना मार्फत् थाहा नगरपालिका वडा नम्बर ८, कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६, राक्सिराङ गाउँपालिका–१ र हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ३ र १९ मा जग्गा अधिग्रहण प्रक्रिया शुरु गरेको जनाएको छ ।

सूचना प्रकाशित भएको मितिदेखि २१ दिनभित्र सरोकारवाला व्यक्तिले अधिग्रहण हुने जग्गामा कुनै घर, टहरा, रुखबिरुवा, बालीनालीलगायतका अन्य संरचना भए ती समेतको मुआब्जा तथा क्षतिपूर्तिको दाबीसहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन सक्नेछन् । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

सूचना प्रकाशित भएको मितिदेखि नै अधिग्रहण गरिने जग्गाहरू रोक्का रहने छन् । ती क्षेत्रमा कुनै पनि संरचना थप्ने कार्य नगर्न/नगराउन पनि सूचित गरिएको छ । तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन अनुसार हुने सूचनामा उल्लेख छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया