ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सुर्खेतको चिंगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जीसी आफ्ना केही सहयोगीमाझ सिंहदरबारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि उभिइरहनु भएको छ । उहाँ पालिकामा आवश्यक कर्मचारी भर्नाका लागि मन्त्रालय आउनु भएको हो ।
‘हामीकहाँ दरबन्दी, कर्मचारीहरु पूरा छैनन् । कर्मचारी भर्नाका लागि सहमति भएको तर कर्मचारी नहुँदा के हो त भनेर बुझौँ भनेर आएको’ उहाँले भन्नुभयो ।
चिंगाड गाउँपालिकामा कर्मचारी पठाउन यसअघिकै सरकारले सहमति दिइसकेको थियो । तर, अहिलेसम्म पनि कर्मचारी भर्ना गर्ने काम भने हुन सकेको छैन । कर्मचारी नहुँदा सेवाग्राहीको काम गर्न अप्ठेरो परेको, काममा बाधा उत्पन्न भएका कारण जीसी मन्त्रालय आउनु भएको हो ।
उहाँ मन्त्रालयमा यसअघि पनि पटक, पटक आइसक्नु भयो कर्मचारी भर्नाका लागि तर, अहिलेसम्म काम भने भएको छैन । ‘तपाईँको काम प्रदेशमै हो प्रदेशतिरै जानुस् भन्नुहुन्छ । तर, प्रदेश जाने हो भने आधिकारिक चिठी चाहियो । अधिकार बनाउने त सङ्घले होला । अनि प्रदेशले बनाउने होला,’ उहाँ भन्नुहुन्छ, ‘दरबन्दी तल छ भनेर हामीलई राख्न पनि गाह्रो । यहाँबाट सहमति दिइएको छ । तर, कर्मचारी नहुँदा हामीलाई समस्या भएको हो ।’
यही कारणले चिंगाड गाउँपालिकामा इञ्जिनियर नभएको एक वर्ष भयो । शिक्षा हेर्ने कर्मचारी पनि छैनन् । अरु अन्य कर्मचारी पनि छैनन् । गाउँपालिकासँग कर्मचारी भर्नाका लागि सहमति पनि भइसकेको छ । तर, सङ्घले काम अल्झाएका कारण काम हुन नसकेको जीसी बताउनुहुन्छ ।
देशमा सङ्घीयता लागू नहुँदासम्म अधिकार विकेन्द्रित नभएका कारण स्थानीय निकायका साना कामका लागि पनि सिंहदरबार धाउनुपर्ने बाध्यता थियो । सङ्घीयता कार्यान्वयनमा आएपछि अधिकार विकेन्द्रीकरण भयो । तर, आवश्यक कानुनको अभाव अनि भएका कानुन पनि कार्यान्वयन हुन नसक्दा पालिकाका अध्यक्ष स्वयम् कर्मचारी भर्नाका लागि सिंहदरबार धाइरहनु परेको छ । पालिकाले प्रदेशलाई, प्रदेशले सङ्घलाई अनि सङ्घले प्रदेश तथा पालिकालाई देखाएर अल्झाउने काम भइरहेको छ ।
सप्तरीको राजविराज नगरपालिकाका प्रमोद साह हातमा तीन वटा फाइल बोकेर गृहमन्त्रालय जाँदै गर्दा भेटिनुभयो । उहाँका हातमा भएका फाइल मिटरब्याजपीडितसँग सम्बन्धित हुन् । उहाँ यसअघि मिटरब्याजपीडितका तर्फबाट आन्दोलनमा सहभागी पनि हुनुहुन्थ्यो ।
मिटरब्याजपीडितको माग सम्बोधन गर्दै अहिले सरकारले कानुन बनाइसकेको छ । कानुन बन्नु अगाडि नै आफ्नो उजुरी दायर गर्न सरकारले समिति पनि गठन गरेको थियो । तर, पनि उहाँ मिटरब्याजपीडितले दुःख पाएको, न्याय नपाएको भन्दै गृहमन्त्रीसँग भेटेर आफ्ना कुरा राख्न यसको विवरण बुझाउन भनेर गृहमन्त्रालय जान लाग्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, ‘समिति बन्यो । कानुन पनि बन्यो । केही काम भयो पनि । तर, अझै पीडितले न्याय पाएका छैनन् ।’
उहाँका अनुसार अहिले पनि सप्तरी जिल्लामा प्रमुख जिल्ला अधिकारीले पीडितसँग पीडितको जस्तो व्यवहार गरेका छैनन् । साहुहरुको संरक्षण गर्ने काम भएको छ । उजुरी लिएर जाँदा राम्रो व्यवहार गरिँदैन । त्यसकारण डराएर पीडितले अहिले पनि आफ्नो कुरा राख्न सकेका छैनन् ।
उहाँ भन्नुहुन्छ, ‘अहिले सप्तरी जिल्लाको मीटरब्याजपीडितको अध्यक्षले नै साहुहरुसँग मिलेर पीडितलाई दुःख दिने, अनावश्यक मिलापत्र गराउने र पैसा खाने काम भएको छ । यसको विभिन्न विवरण बोकेर यहाँ मन्त्रालयमा आएको हो ।’
मिटरब्याजपीडितको आन्दोलन भयो । सरकारले माग सम्बोधन पनि गर्यो । तर, पीडितमाथिको पीडा नसकिएको र पीडा सुनाउन मात्रै साह सिंहदरबार आउनु भएको छ । उहाँ भन्नुहुन्छ, ‘यो हेर्दा त सामान्य काम हो । तर, काम हुँदैन । बाध्य भएर आफ्ना कुरा सुनाउन मात्र होइन काम पनि गराउन आएको हो ।’
कपास विकास समितिका केही कर्मचारीहरु पनि अहिले सिंहदरबार आएका छन् । सरकारले यस वर्षको बजेटमा कपास विकास समिति खारेज गर्ने निर्णय गरेपछि यो निर्णयका सम्बन्धमा बुझ्न र कार्यान्वयन नगर्न पनि उहाँहरु मन्त्रीलाई भेट्न आउनु भएको हो । यसअघि संसदमा पनि सरकारको यो निर्णयको विरोध तथा आलोचना भएको थियो । एमालेकी सांसद दीपा शर्मा तथा राप्रपाका सांसद तथा महमन्त्री धवलशम्शेर राणाले संसदमा यसको विरोध गर्नुभएको थियो ।
कपास विकास समतिमा काम गर्ने बाँकेको खजुरा नगरपालिकाका माधवराज प्रसाईँ पनि सरकारको यही निर्णय कार्यान्वयन नगराउन दबाब दिनको लागि कृषि मन्त्रीलाई भेट्न आउनु भएको हो । समूहमै आउनु भएका उहाँहरुले मन्त्री भेटन् त पाउनु भएको छैन । तर, भेटने समय लिएर आएका भेट हुनेमा भने उहाँ ढुक्क हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘हामी यहाँ कपास विकास समिति खारेजीको निर्णय कार्यान्वयन नगर्न मन्त्रीलाई भेट्न आएका हौँ । धेरै कर्मचारीको रोजगारीसँग जोडिएको र कम्पनी पनि नाफामा भएका कारण कार्यान्वयन नगर्न हाम्रो अनुरोध हो ।’
सरकारको निर्णय कार्यान्वयन गर्ने, नगर्ने सरकारकै हातमा रहे पनि कम्पनी नाफामा रहेको र कर्मचारीको अवस्था बुझिदिन पनि आफूहरु मन्त्रालयसम्म आएको उहाँ बताउनुहुन्छ ।
सिंहदरबारमा यसैगरी गुनासो सुनाउन आउने अरु पनि धेरै छन् । सबैका आआफ्नै समस्या र गुनासा छन् । स्थानीय र प्रदेशस्तरमै समाधान हुन सक्ने गुनासा पनि सम्बोधन हुन नसकेपछि केन्द्रसम्मै धाउनुपर्ने बाध्यता अहिले पनि छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।