तीन हजार मिटरब्याज पीडितले फिर्ता पाए १ सय १९ बिघा जग्गा

 भदौ २, २०८० शनिबार ८:१०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - देशभरबाट अहिलेसम्म साहुले हडपेको एक सय १८ बिघा १९ कठ्ठा ६ धुर जमिन पीडितलाई फिर्ता भएको छ । पछिल्लो विवरण अनुसार साहुबाट पीडित भएको भनेर २३ हजार नौ सय ६१ जनाले उजुरी दिएका छन् । तीमध्ये तीन हजार एक सय ६१ जना पीडितले जग्गा फिर्ता पाएका गृह मन्त्रालयले जनाएको छ ।

नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजी (साहु) ले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको समेत पाइएको छ । पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फर्छ्याेटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा यो तथ्य पुष्टि भएको छ ।

मिटरब्याजसम्बन्धी कानुन बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ । पीडितले साहुसँग एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ रुपैयाँ माग गरेको देखिएको छ । तर साहुले भने रकम बढाएर दुई अर्ब ६१ करोड ६२ लाख २१ हजार दुई ४३ लिनुपर्ने बनाएको मिलापत्रका क्रममा देखिएको भट्टराईले बताउनुभयो । यो रकम मागेभन्दा डेढ अर्बभन्दा पनि बढी हो ।

सबैभन्दा बढी मधेस प्रदेशको ६९ करोड ५१ लाख छ भने सबैभन्दा कम कर्णालीमा तीन करोड छ लाख रहेको छ । अहिले सरकारले बनाएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले उजुरी लिने, मिलापत्र गराउनेलगायतका काम गरिरहेको छ ।

गम्भीर प्रकृतिका घटना, रकम उठाउन धम्की दिने, मानसिक तथा शारीरिक यातना दिने तथा जग्गा गम्भीर तरिकाले हडप्ने जस्ता व्यक्तिको हकमा भने कारबाहीका लागि सिफारिस गर्ने अधिकार आयोगलाई छ । तर पहिलो चरणमा मिलापत्रलाई नै प्राथमिकता दिएर काम गरिरहेको आयोजनाका सदस्य पूर्वएआईजी उत्तमराज सुवेदीले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया