भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
यतिका दिनसम्म सबैले सुन–सुन भने । तर सुन्नुपर्ने मान्छेले सुनको कुरा नसुनेपछि सुनमा घुन लाग्यो । नक्कली शरणार्थीको ट्रेलर हिट भएपछि अब सुनमा पनि हिट फिलिम देखाइन्छ भनेर जुरुक्क कुम उचालेर बुरुक्क उफ्रेका मान्छे फिलिमको फ्लप सिनमा आफ्नै मान्छे भिलेन भएर उभिएपछि कक्रक्क परेर थचक्क बसे । जताततै आफ्ना मान्छेले तर मारेको थाहा पाएपछि अहिले नक्कली शरणार्थी, ललिता निवास र सुन काण्डका ट्रेलर सबै एकसाथ झ्यारझ्यार हुन थालेका छन् । फिलिम हिट बनाउनेलाई भिलेनले हिस्स पारे । हिट फिलिम हेर्न आश तुहिएपछि त्यसको प्यास मेटाउन दर्शक जति आएमजी टु हेर्न सिनेमा हल पसे ।
तर, बजारमा हिट हुने विषयको कमी कहिल्यै हुँदैन । सुनको फिलिमको ट्रेलर नै झ्यारझ्यार गर्न थालेपछि बजारमा अहिले गोलभेँडा हिट भइरहेको छ । मान्छेहरूले गोलभेँडालाई सुनसँग दाँजेका छन् । सामाजिक सञ्जालमा गोलभेँडे गफको भाउ बढेको छ । गोलभेँडाकै फिलिम बनाउन मिल्ने गरी मान्छेहरूले पटकथा र ‘डाइलग’ तयार पारिसकेका छन् । हेरौँ है त !
‘एक समयको कुरा हो, कुनै राज्यमा दुई ठूला टाउकेहरू सुन र पेट्रोलबीच को ठूलो भन्ने विषयमा विवाद हुन्थ्यो । को महँगाे र कसको मूल्य धेरै भनेर हानथाप हुन्थ्यो । तिनीहरूको झगडाले सबै आक्रान्त भइरहेका थिए । यत्तिकैमा एकदिन अचानक गोलभेँडा बुरुक्क उफ्रँदै आयो । तँ महँगो कि म भनेर झगडा गरिरहेका सुन र पेट्राेललाई धम्क्याउँदै गोलभेँडाले भन्यो– तिमीहरूका जमाना गए, अब त जमाना मेरो, मै महँगो र मूल्यवान् ।’
‘चोरको बोसले अरू चोरलाई सोध्यो– ओई तैँले के के ल्याइस् ?
पहिलो चोर : ३ तोला सुन साप ।
चोरको बोस ः तोइट ! जहिल्यै यति जाबो ?
दोस्रो चोर : मैले त १० किलो गोलभेँडा ल्याएँ साप ।
चोरको बोस : स्याबास बाबु ! तैँले चाहिँ गरिखाने भइस् । ल यसले ल्याएको ३ तोला सुन तँलाई बक्सिस भो ।’
‘तरकारी बजारमा गोलभेँडा नपाएर फर्कँदै गरेको मान्छे सुन पसल अघिल्तिर पुग्दा चकित खायो । थकथक हुँदै भन्यो : गोलभेँडा त अचेल सुन पसलमा तोलाको भाउमा पाइँदो रच, म भने तरकारी मण्डीतिर किन्न गैरा ।’
‘एक किलो गोलभेँडा किन्न भनेर गएको मान्छे गोलभेँडाको भाउ सुनेपछि तर्सिएर एक तोला सुन किनेर फर्कियो रे !’
‘प्रहरीले सुन भेट्यो रे । सुन भेटिनु के नौलो भयो त ? गोलभेँडा भेटिएको भए पो !’
‘सुन हो र किलोमा पाउन ! गोलभेँडा पो हो त, तोलामा हुन्छ हिसाब !’
‘यसपालि मङ्सिरमा चाहिँ जसरी पनि घरजम गर्छु भनेर सोचेको थिएँ । तर सुन किन्न सके पनि गोलभेँडा किन्न नसकिने रैछ ! अचार विनाको बिहे त के गर्नु हौ एक बारको जुनीमा । हैन त ?’
‘यता गोलभेँडा सुन जस्तो महँगो भयो । उता आँखा पाक्ने रोगले गर्दा सबैका आँखा गोलभेँडा जस्ता राता हुन थाले । महँगो भो भन्ने बहानमा गोलभेँडा नकिनेर बचाएको पैसा त्यही पाकेको आँखा निको पार्ने मलम किन्न खर्च भइरहेछ ।’
‘गोलभेँडा सकिएर छिमेकीको घरमा माग्न गएको । बरु घरको लालपुर्जा लैजाउ, गोलभेँडा त दिन्न रे !’
‘गोलभेँडा किन्न बजार गएको, पैसा नपुगेर मासु किनेर लिएर आएँ ।’
‘एक जना साथीले खिन्न हुँदै भने : १० रुपैयाँ किलो गोलभेँडा हुँदा म गोलभेँडा किसान थिएँ, अहिले गोलभेँडाको भाउ दुई सय रुपियाँ किलो पुग्दा म गोलभेँडा ग्राहक भएको छु !’
‘त्यो सुन तस्करसँग २२ पटक, २३४ पटक फोन सम्पर्क गर्ने परिवार त कति धनी होलान् ! छाकैपिच्छे गोलभेँडा खाँदा हुन् !’
‘गोलभेँडाको भाउ यसैगरी बढ्दै जाने हो भने हाम्रा देशका नेता र मन्त्रीहरूले पहिलेको गलैँचा काण्ड र अहिलेको सुन काण्ड भन्दा रातो र चम्किलो गोलभेँडा काण्ड गर्छन् !’
‘एकाबिहानै दुई किलो गोलभेँडा किनेर ल्याएको, सबैले मलाई मात्रै हेर्छन् त, दुई किलो सुन नै ल्याएजस्तो के अचम्म !’
‘हैन सुन गोलभेँडा भन्दा पनि महँगो भएको हो र ? हल्लाखल्ला धेरै नै छ त !’
‘जसको भाउ बढ्छ त्यसलाई समयमै त्याग्न सिकौँ, चाहे त्यो गोलभेँडा होस् या प्याज, अनि सुन होस् या मान्छे ।’
‘धिक्कार छ ती गोलभेँडालाई जसको भाउ आज भोलि सुन र हिरासँग दाँजिन्छ । अनि ती अबोध गोलभेँडाहरूलाई भने कुनै अत्तोपत्तो छैन ।’
‘धनीका घडेरीको दाम बढ्दा जोक बन्दैन । सुनचाँदीको मूल्यले आकाश छुँदा जोक बन्दैन । शेयरको मूल्य बढ्दा जोक बन्दैन । तर बिचरा गाउँका किसानले फलाएको गोलभेँडाको मूल्य बढ्दा जोक बन्यो । दूध र दहीको मूल्य बढ्दा जोक बन्यो । त्यसैले त आज गाउँघरमा खेतबारी बाँझो छ ।’
...
सामाजिक सञ्जालमा पोखिएका यी गोलभेंँडे गफ र अर्ति फिलिम हिट बनाउन काफी छैनन् त ? छैनन् भने फेसबुकमा गफ छाँट्न छाडेर बजारमा गोलभेँडा किन्न जानुस्, फिलिम चलाउन चाहिने सुनजत्तिकै सस्ता मरमसला छ्यापछ्याप्ती भेट्नु हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।