उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
खोटाङ – हिजोआज लाखौँ बजेट खर्च गरेर शालिक बनाउने होड चलेको छ । समाजलाई विशिष्ट योगदान दिएका व्यक्तिको शालिक बनाएर राख्नु त स्वाभाविक नै हो तर पशुपक्षीसम्मको शालिक बनाएर चोकचोकमा राखेको देखिन्छ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पामा कुकुरको शालिक बनाएर राखिएको छ । तर माक्पामा कुकुरको शालिक स्थापना गर्नुको सन्दर्भ भने फरक छ । माक्पामा बसोबास गरिरहेका दुमी राईको इतिहाससँग जोडिएको हुँदा ‘माकी/माखी’ नामको कुकुरको मूर्ति राखिएको हो ।
साविकको माक्पा–३ दुम्नीडाँडा (पुर्खाडाँडा)मा ‘माखीपा पार्क’ निर्माण गरेर माकी कुकुरको शालिक राखिएको हो । माखिपाकै सहरामा दुमी राईका पुर्खा दाजुभाइ गान्पा र रतेपाले माक्पा पत्ता लगाएर बस्ती बसाएका कारण ‘माकी’को समाधिस्थल रहेको दुम्नीडाँडामा ‘माखीपा पार्क’ निर्माण गरिएको हो।
माकीपाको मूर्ति तीन लाख ८० हजार रुपैयाँमा तयार पारिएको हो । माकीपाले पत्ता लगाएका कारण ‘माकी/माकीपा’बाट अपभ्रंश भएर ठाउँको नाम नै माक्पा रहन गएको इतिहास छ । दुम्नीडाँडामा अहिले माकीपाको चिहानको भग्नावशेष मात्र बाँकी छ । बहुमूल्य वस्तु राखिएको आशंकामा अज्ञात व्यक्तिले माकीपाको चिहान खोतलेर भग्नावशेष बनाएका हुन् ।
दुमी राई र माखिपाको इतिहासलाई जोगाउँदै पर्यटन प्रवर्द्धनका लागि ऐँसेलुखर्क गाउँपालिकाले डीपीआर तयार पारेर आर्थिक वर्ष २०७४/०७५ देखि माखीपा पर्यटन क्षेत्रको विकासको काम शुरु गरेको हो ।
अहिलेसम्म करिब ५० लाख रुपैयाँ खर्च हुँदा माखिपा पार्कमा माखिपाको शालिक, गान्पा र रतेपाको अर्धकदको शालिक, स्वीमिङ पुल, सती चिहान लगायतका संरचना तयार पारिसकिएको छ । यस्तै, दुमकिम (भेला भएर बस्ने ठाउँ) भवन र शिव मन्दिर बनिरहेको माक्पाका वडाध्यक्ष अरुण राईले बताउनु भयाे ।
माक्पाकै चंखेखोलामा रहेको सपनेश्वर महादेवस्थानसँग जोडेर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ माखिपा पार्क निर्माण गरिएको हो । माखिपा पर्यटन क्षेत्रको विकास अन्तर्गत सुम्नीमा पारुहाङ, एलम्बरको मूर्ति, स्तुपा लगायतका संरचना बनाउने योजना छ । माखिपा पर्यटन क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७९/०८० मा १७ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
माक्पाको दुमी इतिहास बारे स्नातकोत्तर तहमा शोधपत्र तयार गरेका कीर्तिकुमार राईका अनुसार गान्पा र रतेपा दाजुभाइ केपिलासगढी गाउँपालिकाको सिमपानीमा बस्थे ।
उनीहरु शिकार खेल्दै जीवन निर्वाह गर्थे । उनीहरुले माखी नामको कुकुर पालेका थिए । गान्पा र रतेपाले तिनै कुकुरको सहयोगमा शिकार गर्थे । एक दिन शिकार खेल्न गएको माखी शरीरभरी भेडेकुरो टाँसिएको अवस्थामा फर्कियो ।
कुकुरको शरीरमा टाँसिएको भेडेकुरो देखेर गान्पाले ‘माखी पुगेको ठाउँ मलिलो हुनुपर्छ’ भनेर त्यही गएर बस्ने निधो गरे र रतेपालाई जानकारी नदिइ कुकुरलाई अघि लगाएर पछ्याउँदै हिँडे ।
चिन्ह स्वरुप केरा र बोहोरीको बोट काट्दै रावा खोला तरेर कुकुरसँग हालको माक्पा पुगेर बस्न थाले, (इसिलिम, २०७४, अंक १७) । यता सिमपानीमै छोडिएका रतेपाले गान्पाको खोजी शुुरु गरे ।
नजिकै गोहो भेटेपछि गोहो पहिल्याउँदै रतेपा पनि गान्पा भएको ठाउँमा पुगेको ७८ वर्षीय वृद्ध जसबहादुर राई बताउँछन् । माक्पामा बसोबास शुरु भएपछि माखि कुकुरले नै हम्बकुमा पानीको मुहान पत्ता लगाएको इतिहास छ ।
स्थानीय सन्तकुमार दुमीका अनुसार रतेपा कुकुर लिएर शिकार खेल्न पहिलोपल्ट माक्पा पुगेका थिए । कुकुरको शरीरमा भेडेकुरो टाँसिएको देखेपछि रतेपाले उव्जाउ थलो ठानेर त्यही बस्ने निधो गरेका थिए ।
वृद्ध जसबहादुरका अनुसार उनीहरुका पुर्खा भारतको सिङमाङगढीबाट बराहक्षेत्र हुँदै आइपुगेका हुन्।
अहिले माक्पामा बसोबास गरिरहेका दुमी राई उनै गान्पा र रतेपाको सन्तान हुन् । गान्पा र रतेपा दाजुभाइले नै माक्पामा भूमे निकाल्नुका साथै साकेला नाच्ने ठाउँ स्थापना गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sandip rai
Aug. 23, 2023, 6:55 p.m.Hamro khotang ma yesta dherai rahasyamaya esthal haruxan . Bidambana hami rojgar ko kojima sekxaa ko kojima saharin thaleu yo khas lamo samya vayako xoina traa jaha samma lagxa magpa jastai aru pita purkha ko koji garne exya jaher gardai . Samracha parti mero pani ayk salut sahit teyha ka sampurna teem parti suvakamana baykta gardaxu .