केरामा देखिएको पानामा रोगको प्रजाति टीआर–४ को थप अनुसन्धानका लागि समिति गठन

 भदौ ८, २०८० शुक्रबार ९:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केरामा लाग्ने पानामा रोगको प्रजाती टीआर–४ नेपालमा पहिलो पटक देखिएपछि सरकारले थप अनुसन्धान र रोकथामका लागि समिति गठन गरेको छ ।

नार्कका बाली रोग वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा गठित समितिमा प्रकाश पौडेल, वसन्त चालिसे, राजीवराज भण्डारी, देवराज अधिकारी, वशिष्ठ आचार्य र संयम पण्डित सदस्य हुनुहुन्छ ।

समितिले रोग देखिएको कैलालीको टीकापुरमा पुगेर सरोकारवालाहरुसँग छलफल एवम् निरीक्षण गरी थप जानकारी सङ्कलन गर्ने कृषि विभागका महानिर्देशक डा.हरिबहादुर केसीले जानकारी दिनुभयो ।

डा. रामबहादुर खड्कासहितको टोलीले झण्डै आठ हजार केराका बोटको अवलोकन र अनुसन्धानपछि रोग पुष्टि भएको हो । कैलालीको टीकापुर क्षेत्रमा पानामा रोगको प्रजाति टीआर–४ देखा परेपछि किसान चिन्तित भएका छन् ।

केरा व्यवसायी महासङ्घ कैलालीका उपाध्यक्ष टेकेन्द्र धामीले केरामा पानामा प्रजातिको रोग पुष्टि भएपछि किसान चिन्तित बनेका बताउनुभयो । उहाँले लाखौँ लगानी गरेर गरिएको खेतीमा सङ्क्रामक रोग देखिएपछि केराखेतीबाट विस्थापित हुनुपर्ने चिन्तामा किसान रहेका बताउनुभयो ।

रानी जमरा कुलरिया सिँचाइ आयोजना कार्यक्रम कार्यान्वयन इकाईका प्रमुख कलशराम चौधरीले केरामा देखिएको पानामा रोगको सङ्क्रमणले किसान केरा खेतीबाट विस्थापित हुने अवस्था आएको बताउनुभयो । उहाँले आयोजनाले केरा खेतीका लागि सिँचाइको क्षेत्रमा ठूलो लगानी गरेको बताउँदै रोगको न्यूनीकरणका लागि सम्बन्धित निकायसँग छलफल चलाइएको बताउनुभयो । उहाँका अनुसार आयोजनाले वार्षिक करोडौँ रकम केराखेती विस्तारका लागि किसानलाई अनुदान उपलब्ध गराउँदै आएको छ । पानामा रोग केरा खेतीमा लाग्ने एक प्रकारको सङ्क्रामक ढुसीजन्य रोग हो ।

यो रोग पहिलो पटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो । यो रोग लागेमा सुरुमा पुराना पातको फेद पहेँलो हुन्छ । त्यसपछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिन्छन् । थाम ठाडो चिरेरभित्र हेर्दा खैरो गानाबाट टुप्पातिर फैलिएको देखिन्छ । जराहरू कालो हुन्छन् र सड्छन् ।

सङ्क्रमण देखिएको केराबारीमा प्रयोग भएको औजार, गाडीको चक्का, मानिसको ओहोरदोहोरबाट पनि रोग सर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन बाली रोग वैज्ञानिक खड्काको आग्रह छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया