खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण

 भदौ १०, २०८० आइतबार ११:५८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

खाेटाङ -  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गरिएकाे छ । 

व्यावसायिक कृषि तथा पशुपक्षी सम्बन्धी सहुलियतपूर्ण कर्जा कार्यान्वयन गर्दै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा व्यवस्थित गर्ने उद्देश्यले किसान क्रेडिट कार्ड वितरण शुरु गरिएको हो । ग्लोबल आईएमई बैंक, आर एण्ड डी इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासँगै किसान क्रेडिट कार्ड वितरण गरिएकाे हाे । 

लगानीको अभाव झेलिरहेका किसानलाई ग्लोबल आईएमई बैंकले त्रि–पक्षीय साझेदारीमा पाँच वर्षभित्र तिर्नेगरी दुई लाख रुपैयाँका दरले कर्जा उपलब्ध गराएसँगै क्रेडिट कार्ड वितरण गरिएको मेयर तीर्थराज भट्टराईले बताउनु भयाे। पहिलो चरणमा कर्जा लिएका नगरपालिकाका २१ किसानलाई किसान भदौ ८ गते क्रेडिट कार्ड वितरण गरिएको छ। 

क्रमशः अन्य किसानलाई किसान क्रेडिट कार्ड वितरण गरिने नगरपालिकाले जनाएको छ । तर सहुलियतपूर्ण कर्जा लिएका किसानले खाताबाट नगद झिकेर चलाउन पाउने छैनन् । क्रेडिट कार्डबाटै दुई लाख रुपैयाँ खर्च गर्ने/गराउने व्यवस्था मिलाइएको छ । किसानले कृषि सामग्री, मल र मेसिनरी सामान बिक्रेता पसलमा क्रेडिट कार्डको क्यूआर कोड स्क्यान गरेर मल, बिउ र उपकरण खरिद गर्न सक्ने मेयर भट्टराईले बताउनु भयाे । 

कृषि व्यवसाय गर्ने किसानका लागि आवश्यक वित्तीय, प्राविधिक एवम् बजार व्यवस्थापनका लागि नगरपालिकामा न्यूनतम ब्याजमा कर्जा कार्यान्वयनमा ल्याइएको हो । नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने गरी किसानलाई क्रेडिट कार्ड वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

कर्जा लिने किसानको ब्याजमध्ये सङ्घीय सरकारले पाँच प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत ब्याज तिरिदिने मेयर भट्टराईले बताउनु भयाे । ‘पैसाको कारण कृषि पेसा गर्न सकिनँ भन्ने किसानका लागि यो कार्यक्रम ल्याइएको हो । प्रत्येक वर्षको नवीकरणमा २० प्रतिशत कर्जा रकम चुक्ता गर्दै लगिनेछ । पाँचौँ वर्षको अन्त्यमा सम्पूर्ण कर्जा रकम चुक्ता हुनेछ,’ मेयर भट्टराईले भने, ‘कृषकले रकम नगदका रुपमा झिक्न पाउने छैन । क्यूआर कोड स्क्यानिङमार्फत् तोकिएको एग्रोभेटलाई भुक्तानी गर्ने/गराउने व्यवस्था छ ।’ 

ऋण लिएर व्यावसायिक रुपमा पशुपक्षी पालन तथा कृषि पेसा गर्ने किसानलाई आर एण्ड डी इनोभेटिभ सोलुसनले कर्जा तथा अन्य साधनस्रोतको सदुपयोग तथा दक्षता अभिवृद्धिसँग सम्बन्धित तालिम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया