पीपीएल : चितवन राइनोजको लगातार दोस्रो जित, काठमाडौं १३ रनले हार्‍याे

 कात्तिक १५, २०७५ बिहीबार १३:२६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिग क्रिकेटमा चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा चितवनले काठमाडौंलाई १३ रनले हरायो । जितसँगै चितवनको प्लेअफ खेल्ने सम्भावना बढाएको छ ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ४९ रन बनायो । लगातार तीन खेलको हारपछि धनगढीविरुद्ध पहिलो जित निकालेको चितवनले आज पनि राम्रो सुरुवात गर्न सफल भयो । पहिलो विकेटका लागि हरिशंकर साह र अनिल साहबीच ५४ रनको साझेदारी भयो । जसमा अनिलले २७ रनको योगदान गरे ।

त्यसपछि टिमको स्कोर ७९ रन हुँदा चितवनका कप्तान व्यक्तिगत १४ रनमा पेभेलियन फर्किए । धनगढी विरुद्ध अर्धसतक प्रहार गरेका हरिशंकरले आज पनि ६० रनको योगदान गरे । उनले ४९ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । यस्तै स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रनको योगदान गरे । बलिङतर्फ वसन्त रेग्मीले दुई तथा पवन सराफ र नन्दन यादवले एक एक विकेट लिए ।

जवाफमा राम्रो सुरुवात गर्न नसकेको काठमाडौं २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ३६ रन बनाउन सक्यो । १५ रनमा पहिलो विकेट गुमाएको काठमाडाैंले २३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका ओपनर जयकिशन कोल्सावल १८ रनमा आउट भए भने अमित श्रेष्ठ मात्र एक रनमा पेभेलियन फर्किए । त्यसपछि पवन सराफ व्यक्तिगत २८ रनमा आउट हुँदा काठमाडाै‌ंले ८१ रनमा तेस्रो विकेट खेर फाल्यो ।

कप्तान ज्ञानेन्द्र मल्ल र विदेशी खेलाडी गौरभ तमोरबीच राम्रो साझेदारी भइरहेका बेला चितवनका कप्तान पारस खड्काले यो साझेदारी तोड्न सफल भए । तोमर ३९ रनमा आउट भएपछि काठमाडौंले खेल आफ्नो हातबाट फुस्कायो । लगत्तै नरेश बुढाऐर र कप्तान ज्ञानेन्द्र मल्ल पनि ३० रन तथा पृथु बास्कोटा मात्र चार रनमा आउट भएपछि काठमाडौंले एक सय २५ रनमा सात विकेट गुमायो ।

त्यसपछि पुछारका खेलाडी एकपछि अर्को विकेट झरेपछि काठमाडौंले प्रतियोगितामा पहिलो हार व्यहोर्यो । बलिङतर्फ करण केसीले तीन तथा पारस खड्काले दुई विकेट लिए ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया