हास्यव्यङ्ग्य यात्रा : हरिवंशसँगको सहकार्य र सामाजिक जागरणमा कलाकारिताको अनुभव

 भदौ १७, २०८० आइतबार १३:४४:२१ | मदनकृष्ण श्रेष्ठ
unn.prixa.net

सबैलाई थाहा भएकै कुरा हो हास्यव्यङ्ग्यको गाईजात्रा भनेको राजा प्रताप मल्लको छोरा बितेर रानीले बिलौना गरेको हुनाले रानीलाई सान्त्वना दिनका लागि शुरु गरिएको हो । त्यसबेला जस्को घरमा मान्छे बितेको छ उसको घरका मान्छेलाई गाई बनेर वा हसाउने किसिमले आउनु भन्ने राजाको उर्दी थियो । ती सबै मान्छे रानीलाई देखाएपछि हाम्रो दरबारमा मात्र होइन अरुका घरमा पनि मान्छे बितेका हुन्छन्, जन्मेपछि मान्छे मर्नुपर्छ भनेर रानीको मन बुझाउन गरिएको कार्यक्रम हो गाईजात्रा । 

यो बिस्तारै परम्परागतरुपमा विकसित भयो । यसलाई हरेक वर्ष निरन्तरता दिइयो । त्यसैको निरन्तरता हो यो जसलाई आजसम्म पनि नेपालीहरुले मनाउँदै आइरहेका छन् । तर, राणाशासनको समयमा साधारण गाई बनेर आउने चाहिँ गरियो । त्यो बेला हास्यव्यङ्ग्य भनेर व्यङ्ग्य गर्न चाहिँ पाइँदैन थियो । साधारण सामाजिक व्यङ्ग्यहरु चाहिँ गर्न दिइन्थ्यो । गाईजात्रादेखि कृष्ण अष्टमीसम्मको आठ दिन गाईजात्रा गर्ने चलन थियो ।

पछि पञ्चायतकालमा पनि गाईजात्राले निरन्तरता पायो । त्यो बेलामा पनि हास्यव्यङ्ग्य गर्न पाइन्थ्यो तर, सामाजिक कुरालाई लिएर मात्र । राजनीतिक व्यङ्ग्य गर्न पाइँदैन थियो । पछि राजपाल थापा र ध्रुव हाडा दाइहरुले हाडापालको जोडी बनेर देखाउनुहुन्थ्यो । उहाँहरु प्रहरीमा जागिर भएकोले उहाँहरुले सामाजिक व्यङ्ग्य गर्न पाउनुहुन्थ्यो । गोपालराज मैनालीले पनि व्यङ्ग्य गरेको देखेको थिएँ । पछि २०२९ सालतिर हामी केही साथीहरु मिलेर नेपाल भाषाको कार्यक्रम गर्ने हिसाबले एउटा संस्था दर्ता गर्यौँ । संस्थाको नाम थियो मुनाःस । अर्थात् स भनेको आवाज अनि मुना भनेको जमात । आवाजको जमघट, आवाजको समूह भन्ने अर्थ थियो खासमा । त्यसको सङ्केत चिह्न पनि मङ्गलनाराण भन्ने साथीले मुनाःस भन्ने अक्षरबाट नै घण्टी बनाएका थिए । त्यो बेलामा व्यङ्ग्यहरु गरिन्थ्यो । एकदमै राजनीतिक व्यङ्ग्यहरु हुन्थ्यो । 

त्यो बेलामा व्यङ्ग्य गर्न निकै गाह्रो थियो र पोष्टर पनि प्रहरीले लगिदिन्थ्यो । च्यातिदिन्थ्यो । हामी जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्न पनि गएका थियौँ । तर, यो नचाहिने काम भनेर एकदमै गाली गरेर पठायो । दर्ता पनि गर्न दिएन । त्यो बेलामा रामशेखर नकर्मी र कृष्ण नापितको जोडी थियो । राजनीतिक व्यङ्ग्यहरु भने भयङ्करै हुन्थ्यो । उहाँहरु एकदमै प्रतिभाशाली हुनुहुन्थ्यो । उहाँहरुले लेखेको व्यङ्ग्यहरु नेपाल भाषाको एमएको पाठ्यक्रममा पनि राखिएको थियो । उहाँहरुको हास्यव्यङ्ग्य बेजोड थियो । तर, नेपाल भाषामा गरिएको हुनाले अञ्चलाधीश कार्यालयबाट हेर्न आए पनि व्यापक हुँदैनथ्यो । गुपचुप हुन्थ्यो । दर्शकहरुले हेरेर भरपुर मनोरञ्जन र आनन्द लिन्थे । यसले गर्दा नेवार भाषाका कलाकारहरुले प्लेटफर्म पाए । यसले नेवारी भाषामा कार्यक्रम गर्ने कलाकारहरु जन्मिए । रामशेखर नकर्मी र कृष्ण नापित, श्रीकृष्ण अनु, वत्सगोपाल वैद्य लगायतका थुप्रै कलाकारहरु यसरी जन्मिए ।

मुनासःबाट जन्मिएको कलाकार 

म पनि त्यही मुनासः कार्यक्रमबाट जन्मिएको कलाकार हुँ । मुनासःको पहिलो हास्यव्यङ्ग्य कार्यक्रममा एउटा गीत एउटा कमिक गरेर धारावाहिक गरिन्थ्यो । प्रेमध्वज दाई, योगेश दाइहरु पनि कार्यक्रम गर्न आउनुहुन्थ्यो । भक्तपुर हलको मालिक नगेन्द्र हाडा दाइ सङ्गीतमा पनि पोख्त हुनुहुन्थ्यो । उहाँलाई मैले गीत गाउनलाई भन्न गएको तर, उहाँले रुघा लागेको छ, सञ्चो छैन, गीत गाउन सक्तिन भन्नुभयो । अनि तिम्रो स्वर पनि राम्रो छ, क्यारिकेचर पनि गर्छौँ बरु मैले एउटा गीत लेखेको छु, तिमीलाई गीत पनि सुहाउँछ तिमी गाउ भनेर भन्नुभयो । 

मलाई पनि गीत हेरेर एकदमै मन पर्यो । गीत सांस्कृतिक तथा व्यङ्ग्य मिसिएको थियो । मरु गने द्ये गने गजुः मरु अर्थात् काठमाण्डौ गणेशको मन्दिरमा गजुर छैन । अनि म एकजनाको अहिलेसम्म स्वास्नी छैन भन्ने थियो । त्यो गीत मलाई क्लिक भएको गीत हो ।

हामीले २०२९ सालमा संस्था गठन गर्यौँ । यसबाट कलाकारहरु जन्मिए । छैटाैँ कार्यक्रममा हामीले सत्यमोहन जोशी दाइलाई उद्घाटन गर्न बोलायौँ । जो त्यसबेला प्रज्ञा प्रतिष्ठानको सहसचिवसमेत हुनुहुन्थ्यो । उहाँ त्यो कार्यक्रम देखेर एकदमै प्रभावित हुनुभयो र दङ्गै पर्नुभयो । यो त एकदमै राम्रो र महत्त्वपूर्ण कार्यक्रम हो भनेर यसलाई राष्ट्रियस्तरमा अगाडि लैजानुपर्छ भनेर उहाँले २०३२ सालदेखि प्रज्ञा प्रतिष्ठान अर्थात् त्यसबेलाको राजकीय प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय गाईजात्रा महोत्सव भन्ने नाम दिएर महोत्सव गर्नुभयो । 

कार्यक्रममा राजारानीलाई प्रमुख अतिथि बनाउने भनेर कार्यक्रम गरियो । हामीले कार्यक्रम गर्दा पोष्टर टाँस्न नदिने समातेर लग्ने गर्थ्याे । सत्यमोहन जोशी दाइको पनि जागिरै जालाजस्तो एकदमै गाह्रो भयो । तर, उहाँमा कुटनीति पनि एकदमै राम्रो भएकोले थामथुम पारेर मिलाउनुुभयो । राजारानीलाई प्रमुख अतिथि बनाएर बोलाएर कार्यक्रम गरेर राम्रो पनि भयो । पहिले नेपाल भाषामा मात्र हुने गाईजात्रा अब नेपाली भाषामा पनि शुरु हुन थाल्यो । त्यसले गरेर त्यहाँ थुप्रै कलाकारले प्लेटफर्म पाए । केशवराज पिँडाली, यादव खरेल दाइहरुले हास्यव्यङ्ग्य कविता सुनाउनु भयो । हामीले पनि कार्यक्रम निरन्तर गर्यौँ । 

त्यसपछि रसरङ कार्यक्रम बन्यो । म त्यसबेला कृषिमा जागिरे थिएँ । त्यसबेला बीबीसी नेपाली सेवाबाट रेडियो कार्यक्रम कसरी बनाउने भनेर तालिम दिन आएको थियो । त्यो तालिममा नातिकाजी दाइ, शिवशंकर दाइ लगायत हिरण्य भोजपुरे, गणेश रसिक, पाण्डव सुनुवार, मदनदास श्रेष्ठ, सेनानी भीमबहादुर थापा, प्रहरीबाट आनन्द पुरी म पनि थिएँ । 

तालिम लिइसकेपछि तालिम लिएकाहरुले कस्तो ज्ञान हासिल गरे भनेर कार्यक्रम गरेर देखाउन भनियो । त्यसपछि हामी सबै मिलेर एउटा कार्यक्रम बनाएका थियौँ । त्यो कार्यक्रम भने रसरङ थियो । कार्यक्रम रेडियो नेपालमा महिनाको एक पटक आउँथ्यो । कार्यक्रम पहिलो शुक्रवार वा अन्तिम शुक्रवार आउँथ्यो । मान्छेहरु त्यसबेला रसरङ कार्यक्रम रेडियोमा झुम्मिएर सुन्थे । कार्यक्रम त्यति लोकप्रिय थियो । यता गाईजात्राको कार्यक्रम पनि निरन्तर चलिरह्यो । रसरङ पनि चल्दै गयो । 

२०३२ सालमा मुनाःस बाट म यता गाईजात्रे कार्यक्रममा आएँ । हरिवंश आचार्य भने २०३३ सालमा भाग लिन आएको हो । ऊसँग चिनाजानी भयो । सहकार्य भयो । पछि राष्ट्र बैंकको रजत जयन्तीमा हामीले कार्यक्रम गर्यौँ । हरिवंश र मेरो निरन्तर चलिरह्यो । 

मुनासः बाट कार्यक्रम गरेर पछि गाईजात्रा महोत्सवमा पछि आएर निरन्तरता हुन थालेपछि पछि सम्झौता पनि गर्न छोड्यो । त्यसपछि दीपकराज गिरी, मनोज गजुरेल भाइहरुले कार्यक्रम गर्न थाल्नुभयो । शुरुको कार्यक्रमको मूल कार्यक्रम मुनासः भन्ने लाग्छ मलाई । जुनबाट म पनि क्लिक भएको थिएँ । त्यो बेलाका साथीहरु उमेरले हामी सबै अलि पाको पाको नै भयौँ । शारीरिकरुपले पनि स्फूर्ति रहेन । मलाई पार्किन्सनले गरेर गाह्रो भएको छ । अर्को मुनाःसको साथी नवीन चित्रकारलाई पनि ब्रेन स्ट्रोक भएर हिँड्न नसक्ने अवस्था छ । अरु दुई जना साथीहरु त बिति पनि सके । अरु साथीहरु बलियो भए पनि कार्यक्रम गर्ने गरिको सक्रिय छैनन् । अब अहिले हामी मिलेर एउटा नयाँ समितिलाई हस्तान्तरण गर्दैछौँ । 

हरिवंशसँगको मित्रता र सहकार्य 

हरिवंश आचार्य र मेरो मित्रता यति लामोसम्म टिक्नुमा धेरैले आश्चर्य मान्नुहुन्छ । मिलेर काम गर्दा कति फाइदा हुन्छ भन्ने कुरालाई आफूले पनि महसुस गर्नुपर्छ । यसमा आफूले ध्यान दिएर हेर्नु जरुरी छ । त्यसमा हामी दुवै जना प्रजातान्त्रिक विचारधारका पनि भयौँ । प्रजातान्त्रिकरुपले देशको शासन व्यवस्था अगाडि बढ्नुपर्छ । सबैले स्वतन्त्रताको उपयोग गर्न पाउनुपर्छ । तर, त्यसो भन्दैमा अनुशासनहीन स्वतन्त्रता भने होइन । हिजोआज सामाजिक सञ्जालमा जथाभाबी लेख्ने, मनपरी लेख्ने जुन प्रवृत्ति देखिएको छ त्यो खालको होइन । मानिसलाई स्वतन्त्रता चाहिन्छ । प्रजातन्त्र भएन भने मानिस भएर जन्मिएर पनि मानिस भएर बाँच्न पाइँदैन । अरु तन्त्रहरुमा शासकहरुले एकदमै थिचोमिचो गरेको हुन्छ । शासकको इच्छामा चल्नुपर्ने हुन्छ । यस्ता देशहरु पनि छन् जहाँ शासकले जे चाह्यो त्यो मात्र हुन्छ । केही पनि बोल्न नपाइने त्यस्तो हुन्छ । तर, प्रजातन्त्रमा भने आफूलाई लागेको कुरा राख्न पाइन्छ । कानुनी राज्य हुनुपर्छ । प्रजातन्त्रमा जेसीसको पनि मूलमन्त्र मिल्छ । देशको शासन सत्ता भनेको व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने भनाइ छ जेसीसमा । हामी दुवै जना व्यक्तिको नभएर विधिको प्रजातन्त्रबाट चलेको शासनप्रणाली चाहन्छौँ । 

मानिसमा कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि भइहाल्छ । सबैको आफ्नै सोच विचार हुन्छ । चाहना पनि फरक हुन्छ । अलिकति स्वार्थीपन पनि हुन्छ । आफू राम्रो बनौँ अरु जेसुकै होस् भन्ने हुन्छ । मानिसमा हुने यस्ता सकारात्मक तथा नकारात्मक कुराहरु हरिवंशमा अनि ममा पनि छ । तर, यी सबै कुरा बुझेर मिलेर काम गरेकोले अगाडि बढ्न सजिलो भयो हामीलाई । सँगै काम गर्दा यसले उसलाई तताउन पायो । उसले उसलाई तताउन पायो । मलाई पार्किन्सन छ जहाँ मलाई हिँड्न गाह्रो हुन्छ त्यहाँ हरिवंशले मलाई घिसारेर, घोक्र्याएर, तानेर लगेको हुन्छ । त्यसकारण पनि म सक्रिय हुन पाइरहेको छु । जोडी बनेर काम नगरेको भए अहिले यो सक्रियता नहुन सक्थ्यो । 

हरिवंशको कतिपय कुराहरु मलाई मन पर्दैन । मेरो कतिपय कुराहरु हरिवंशलाई मन पर्दैन । हामी सँगै काम गरेको ४३ वर्ष भइसक्यो । त्यही अनुहार, त्यही आवाज, त्यही मान्छे, त्यही कुरा, त्यत्तिकै हिँडेको छ त्यसले गर्दा मानिसमा विरक्तपना पनि हुनसक्छ । त्यही आवाज, त्यही बोली कति सुन्नु भन्ने पनि हुनसक्छ । मलाई हरिवंशसँग केही छैन । तर, हरिवंशलाई त्यस्तो केही होला कि भनेर म कति पटक सोध्छु । मेरो अनुहार धेरै हेरेर वाक्क भयो कि, बोलीले पो दिक्क लगायो कि, व्यवहार मन परेन कि भनेर म सचेत हुन्छु । जे सुकै भए पनि दिनको एक पटक म सोच्छु पनि । हरिवंशको के कुरा राम्रो हो, के कारणले मलाई राम्रो भयो भनेर म उसको सकारात्मक कुराहरु सोच्छु । त्यो मैले सोचेकै हुन्छु । त्यसकारण उसलाई झर्को लाग्ने केही कुरा आउन खोजे पनि आउँदैन । राम्रो सोचेका कारण आउन खोजे पनि आउन दिँदैन । दुई जना हुँदा राम्रै भएको छ । दुई जना सँगै काम गरेर यत्रो संसार घुमियो । नेपालीहरुको परिवारको रुपमा बस्न पायौँ । सबै नेपालीले परिवार जस्तो व्यवहार गर्छन् । हामी पनि परिवारकै रुपमा सम्झन्छौँ । हामी सबै जात, जाति भाषा, भाषीलाई समान दृष्टिकोणले हेर्छौँ । हामी कुनै पनि विभेद गर्दैनौँ । दुई जनाले गरेर आम्दानी पनि भएको छ । नाम, दाम, काम, माम सबै मिल्यो हाम्रो । यस्तो सबै चिज मिल्दा मिल्दै पनि रिस गर्नु के जरुरी छ र ? मन नपराउनु पर्ने के कारण छ र ? राम्रो पक्ष सबै छ भने मनमुटाव गर्नुपर्ने के जरुरी छ र ? म त्यसरी लिन्छु । म सकारात्मक र राम्रो कुराहरु धेरै सिक्छु । हरिवंशबाट राम्रो, राम्रो कुराहरु म सिकिरहेको हुन्छु । मबाट पनि उसले केही सिकिरहेको हुनुपर्छ । यसरी सकारात्मक ढङ्गले हेर्दा केही पनि छैन । सबै आनन्द नै छ । त्यसकारणले गर्दा यो जोडी टिकिरहेको छ । अब जिन्दगीको उत्तरार्द्धमा आइसकेका छौँ हामी । अब काम नगरि त्यसै बसे पनि हाम्रो मित्रता कायम रहिरहन्छ । 

राजनीतिक रुपान्तरण र सामाजिक परिवर्तनमा भूमिका 

सामाजिक परिवर्तनमा सबैको योगदान छ । सबैकोमा हाम्रो पनि छ । हामीले हास्यव्यङ्ग्यलाई केवल मनोरञ्जनकोरुपमा मात्र प्रस्तुत गरेनौँ । हास्यव्यङ्ग्यलाई समाज परिवर्तनको कुरामा, सामाजिक कुरीति, विकृतिलाई सच्याउनुपर्छ भन्ने किसिमले प्रस्तुत गर्यौँ । राजनीतिकरुपमा सुधारका लागि पनि हामीले हास्यव्यङ्ग्यलाई प्रस्तुत गर्यौँ । पञ्चायतकाललाई अहिलेको अवस्थासँग दाँज्ने हो भने धेरै राम्रो थियो अवस्था । तर, त्यो बेलामा पनि विकृति थियो । भ्रष्टाचार थियो । त्यो बेलामा पनि अन्याय थियो । नातावाद, परिवारवाद थियो । जुन चिजको हामीले विरोध गर्यौँ । अहिलेको भ्रष्टाचारको अगाडि त्यसबेलाको भ्रष्टाचार निकै कम थियो। 

त्यो बेलामा चक्रपथमा गाडी नै कम गुड्थ्यो । हामीले १५ गते सुटिङ गर्दा अहिलेको बीएण्डबी हस्पिटलको ठीक अगाडि सुटिङ गरिएको हो । त्यो बेला गाडी नै हुँदैनथ्यो । आनन्दले सुटिङ गरिन्थ्यो । कतिकति बेला एउटा ट्रक आउँथ्यो । अहिले त्यहाँ सुटिङ गर्न सम्भव नै छैन । त्यो बेला चहलपहल पनि कम थियो । गाडी कम गुड्थ्यो । भ्रष्टाचार पनि कम थियो । अहिले धेरै गाडी गुडे जस्तै भ्रष्टाचार पनि बढी छ । हुनत त्यो बेला त्यो पनि बढी हो । त्यो पनि हुनु हुँदैन भनेर हामीले व्यङ्ग्य गर्यौँ । हामीले व्यवस्थामा भएको कुरीति, कमी, कमजोरीको बारेमा व्यङ्ग्य गर्यौँ । तर, व्यवस्था गयो । हामीले व्यवस्थै जाओस् भनेर गरेका थिएनौँ । हामीले विकृति हटोस् भनेको त्यसमा व्यवस्था पनि पर्यो । व्यवस्था जाने काममा हामी पनि लाग्यौँ । 

अब देशमा प्रजातन्त्र आयो । पहिलेको दाँजोमा धेरै विकृति भएको छ । पहिले एउटा राजा । अहिले सयौँ राजा । हजारौँ राजा भएका छन् । त्यो बेला जति भ्रष्टाचार हुन्थ्यो अहिले त्योभन्दा हजारौँ गुना बढी भ्रष्टाचार भएको छ । खुलेआम सुन तस्करी गर्ने, खुलेआम भ्रष्टाचार गर्ने, अदालतले पनि धर्म छोडेर टेबलमुनिबाट पैसा माग्ने भएको छ । प्रशासनिक क्षेत्रमा धेरै बिग्रिएको छ भने अरु क्षेत्रमा केही विकास पनि भएको छ । 

देशमा पाटन, वीर, प्रसूति गृह जस्ता एक/दुई वटा ठूला अस्पताल मात्र थिए । अहिले हस्पिटल छ्यापछ्याप्ती छ । विदेश जान नपर्ने गरिका राम्रा, राम्रा हस्पिटल छन् । नेताहरु बाहिर जान्छन् । तर, मैले अपरेशन यहीँ गरे । राणाशासनमा दरबार हाइस्कुल मात्र थियो । अहिले कलेजहरु त्यतिकै छ । दरबार हाइस्कुलमा भर्ना हुन दरबारबाट सिफारिस लिएर आउनु पर्थ्याे रे । पञ्चायतमा त्योभन्दा बढी स्कुल कलेज भयो । अहिले त त्योभन्दा धेरै भएको छ ।

तर विकृति र विसङ्गति पनि बढेको छ । हास्यव्यङ्ग्यले अहिलेको राजनीतिक अवस्थालाई अनि नेतालाई भने केही असर गरेजस्तो देखिँदैन । उनीहरु गैँडाको छाला जस्तै भएका छन् । तर, प्रजातन्त्र भनेको यस्तो व्यवस्था जहाँ आज नभए भोलि अनि भोलि नभए पर्सि गलत काम गर्ने सबैलाई कारबाही हुन्छ । 

सुधार कसरी ? 

अहिलेका यी विकृतिलाई पनि समयले सुधार गर्दै लान्छ । समयले ठीक गर्दै लान्छ । प्रजातन्त्रले सबै ठीक गर्दै लान्छ । प्रजातन्त्र भनेको काम गर्दै जाँदा बिग्रियो भने त्यसलाई सच्याउँदै, बनाउँदै विकास गर्दै जाने हो । कानुनमा नमिलेका कुराहरु पनि मिलाउँदै गइन्छ । संविधानमा नमिलेको कुराहरु पनि सच्याउँदै गइन्छ । जस्ले गर्दा पहिला भ्रष्टाचारीलाई समाउन सकिँदैन थियो । अहिले समात्ने क्रम शुरु भएको छ । अझ बढ्छ यो । कुनै पनि राजनीतिक पार्टीले राजनीतिक चलखेल गरेर भ्रष्टाचारीलाई बचाउने काम, आफैँ संलग्न हुने काम सधैँ गरिरहन सक्दैन । एउटा पार्टीले नराम्रो गर्यो भने अर्को पार्टीले उसलाई सजाय दिने क्रम बढ्दै जान्छ । अर्को पार्टीले नराम्रो गर्यो भने अर्को पार्टीको हातमा शासन आउँछ उसले सजाय गर्ने हुन्छ । अहिले त्यही भइरहेको छ । प्रजातन्त्रमा सबै सुधार हुँदै जान्छ । 

नागरिक समाजले त्यसैगरी कुरा उठाइरहनु पर्छ । गलत चिजलाई औँल्याउँदै जानुपर्छ । नागरिक समाजको त्यो दायित्व पनि हो । हामीले हास्यव्यङ्ग्यको माध्यमबाट औँल्याउने काम गर्दै आयौँ । अहिले अरु कलाकारले पनि त्यत्तिकै गर्दैछन् । सञ्चारमाध्यमले पनि त्यत्तिकै गरिरहेको हुन्छ । विपक्षी पार्टीले पनि आवाज उठाउँदै जान्छ ।

सरकारले अहिले रोजगारी बढाउने काममा ध्यान दिनुपर्छ । पहिले पञ्चायतकालमा पनि धेरै उद्योगहरु थिए । ती सबै खत्तम भए । अब नयाँ उद्योगहरु खोलेर भए पनि रोजगारी बढाउने काम गर्नुपर्छ । अहिले पेट्रोलमा हाम्रो अर्बौँ रुपैयाँ खर्च भइरहेको छ । विद्युतीय गाडीको विकास गरेर त्यो अर्बौँ रुपैयाँ रोक्न सकिन्छ । बाहिर जाने अर्बौँ रुपैयाँ रोक्न सकियो भने त्यो पैसा आफ्नै देशमा विकास गर्न सकिन्छ । यस्ता कुराहरुमा ध्यान दिँदै जानुपर्छ । 

अहिले भ्रष्टाचार अनि अस्थिरता चरम अवस्थामा पुगेको छ । यो अन्तिम होस् यो भन्दा धेरै नहोस् भनेर भगवानसँग अनुरोध पनि छ । नयाँ घामको शुरुवात होस् भनेर कामना गरौँ हामी । 

हामी अहिलेका शासकहरुलाई कि सच्चिनुस् कि सक्किनुस् भन्ने पनि आग्रह गर्न चाहन्छौँ । राजनीतिक व्यक्तित्वहरुलाई आफूले गरेको तथा पार्टी अनि कार्यकर्ताले गरेको गल्ती औँल्याएर सच्चिनुस् भन्न चाहन्छु । सच्याउने काम गर्नुस् । हल्का ढङ्गले नसोचेर, राम्रो ढङ्गले सोचेर, गलत कामलाई केरेर राम्रो कामको योजना बनाएर अघि बढ्नुस् भन्न चाहन्छु । त्यसो भयो भने राम्रो हुन्छ । त्यसो गर्नु पनि पर्छ । त्यो गरेन भने सक्किन्छ पनि फेरि । 

प्रजातन्त्रमा हरेक चुनावका बेला एक दिन नागरिकको हातमा शक्ति आउँछ । नागरिकसँग त्यो बेला जस्तोसुकै मै हुँ भन्नेलाई पनि घोक्रेठ्याक लगाउने शक्ति हुन्छ । त्यो दिनको लागि नागरिकको मन जित्ने प्रयास गर्नुस् सबैले । 

नागरिकले अलि धैर्य पनि गरौँ र आवाज उठाउने काममा कञ्जुस्याइँ पनि नगरौँ । हरेक पटकको चुनावमा पैसामा बिक्ने काम कसैले नगरौँ । जसलाई देशको प्रधानमन्त्री र राष्ट्रपतिको समेत नाम थाहा हुँदैन त्यस्ता छाक टार्ने समस्या भएका नागरिकको भोट किन्ने गर्छन् यहाँ । त्यसकारण पनि त्यस्ता नागरिकलाई पनि सचेत बनाउने काम गरौँ । उनीहरुलाई नागरिक समाजले, कलाकारहरुले र सचेत मान्छेहरुले सम्झाउँदै जानुपर्छ र चुनावको समयमा सही मान्छे चुनेर अगाडि बढ्यो भने यी चिजहरु सच्चिँदै जान्छ । 

(वरिष्ठ कलाकार मदनकृष्णसँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदनकृष्ण श्रेष्ठ

मदनकृष्ण श्रेष्ठ वरिष्ठ हास्यव्यङ्ग्य कलाकार हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया