चितवनबाट लामो दूरीमा गुड्न थाले विद्युतीय गाडी

 भदौ १८, २०८० सोमबार १५:३०:२८ | रासस
unn.prixa.net

काठमाण्डौ – चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक गाडी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा विद्युतीय गाडी सञ्चालनमा ल्याएका हुन् ।

चार यातायात व्यसायीले ४६ विद्युतीय बस सञ्चालनमा ल्याएका छन् । नारायणगढ–हेटौँडा–वीरगञ्ज र नारायणगढ–काठमाण्डाैका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको भरतपुर महानगर यातायात प्रालिका अध्यक्ष चीनबहादुर बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार महानगर यातायात प्रालिले छ गाडी नारायणगढ–काठमाण्डाैका लागि सञ्चालनमा ल्याएको छ भने त्रिनेत्र र चौतारी यातायात प्रालिले सञ्चालनमा ल्याएका सबै बस नारायणगढ–काठमाण्डाैका लागि सञ्चालन भइरहेका छन् ।

राज्यले विद्युतीय गाडीसाधन सञ्चालनका लागि ल्याएको नीतिअनुसार विद्युतीय बस सञ्चालनमा ल्याइएको बोहोराले बताउनुभयो । वातावरण प्रदूषण नहुने भएकाले पनि यस प्रकारका गाडी उपयुक्त हुने उहाँको भनाइ थियो । डिजेलको मूल्यवृद्धि भइरहेका बेला विद्युतीय गाडीसाधन सञ्चालन गर्दा मितव्ययीता समेत हुने उहाँले बताउनुभयो ।

अहिले सञ्चालनमा आएका गाडीसाधनमा ६० किलोवाट मोटरपावर जडान गरिएको जनाउँदै बोहोराले गाडी एकपटक पूर्णरुपमा चार्ज गरेपछि दुई सय किलोमिटरसम्म गुड्ने बताउनुभयो ।

चालकसहित ११ जना अट्ने गाडी प्रदूषणरहित र आरामदायी भएको नारायणगढबाट सिमरा जाँदै गर्नुभएका यात्रु लोक खड्काले बताउनुभयो । डिजेलबाट चल्ने गाडीभन्दा यो गाडी सफा र आरामदायी भएको उहाँको भनाइ थियो। सञ्चालन भएयता यात्राका लागि मिलेसम्म विद्युतीय गाडी रोज्ने गरेको उहाँले बताउनुभयो ।

नारायणगढबाट वीरगञ्ज जान लाग्नुभएका अप्रोज आलमले आफूले पहिलो पटक विद्युतीय गाडी चढ्न लागेको भन्दै फरक महसुस गरेको बताउनुभयो । गाडी चढ्दै गर्दा सफा, आवाज कम र आरामदायी पाएको पहिलो पटक विद्युतीय सावारी चढ्दाको अनुभवसहितको यात्रा आरादायी हुने विश्वास व्यक्त गर्नुभयो ।

चितवन छाहारी यातायात प्रालिका अध्यक्ष बद्री पौडेलले विद्युतीय गाडीमा यात्रा गर्दा सफा, आवाज नआउने र पूर्णरुपमा वातावरण अनुकूलित हुने जनाउँदै यो यात्रुको पहिलो रोजाइँमा पर्ने बताउनुभयो । डिजेलबाट चल्ने बसमा भन्दा विद्युतीय गाडीमा यात्रा गर्दा भाडामा केही महँगो भए पनि यात्रुको कुनै गुनासो नआएको उहाँको भनाइ थियो । उहाँका अनुसार भरतपुरबाट हेटौँडासम्म पुगेको दुई सय ८० रुपैयाँ , वीरगञ्जसम्मको चार सय र नारायणगढ–काठमाण्डाैको भाडा पाँच सय रुपैयाँ भाडादर रहेको छ ।

सत्तरी प्रतिशतसम्म बैंकले लगानी गरिदिने जनाउँदै पौडेलले यस गाडी व्यवसायीका लागि पनि सन्तोषजनक रहेको बताउनुभयो । ‘यसको मुख्य समस्या चार्जिङको हो । सरकारले ठाउँठाउँमा चार्जिङ पोइन्ट बनाइदिने हो भने यस्ता गाडी सञ्चालन गर्न थप सहज हुँदै जानेछ,’ उहाँले भन्नुभयो । एउटा गाडी चार्ज हुनका लागि एक घण्टा लाग्ने हुँदा स्टेशनमा रहेका चार्जिङ पोइन्टको सङ्ख्या पनि गाडीअनुसार थप हुँदै जानुपर्ने उहाँले बताउनुभयो ।

नारायणगढ–वीरगञ्ज रुटमा चल्ने मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको गाडीका चालक वृज किशोर प्रसादले डिजेलको बसमा भन्दा विद्युतीय बसमा धेरै मुनाफा रहेको बताउनुभयो । मुनाफा राम्रो भए पनि चार्जिङको समस्याले सताउने गरेको उहाँले गुनासो गर्नुभयो । डिजेल गाडीकोभन्दा यो गाडीकोे पिकअपसमेत राम्रो रहेको उहाँको भनाइ थियो ।

नारायणगढ–हैटौँडा रुटमा गाडी चलाउने कृष्ण बस्ताकोटीले पनि विद्युतीय गाडीको सबै पक्ष राम्रो भए पनि चार्जिङ पोइन्टकै समस्या हुने गरेको बताउनुभयो । गाडीको सङ्ख्या बढ्दै जाँदा चार्ज गर्न घण्टौँ कुर्नुपर्ने बाध्यता आएको भन्दै रुटको ठाउँठाउँमा चार्जिङ पोइन्ट हुनुपर्ने उहाँको माग थियो ।

जिल्लामा पछिल्लो छ महिनादेखि विद्युतीय सार्वजनिक गाडी सञ्चालनमा आएका हुन् । ११ सिट क्षमता भएको गाडी खरिद गर्दा ४४ लाख रुपैयाँ हाराहारी पर्ने र पाँच वर्षको ग्यारेन्टी निर्माण कम्पनीले लिने व्यवसायीकोे भनाइ छ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया