'आत्महत्याको मुखबाट उम्केपछि लाग्न थाल्यो जीवन सुन्दर छ आशावादी बनौँ'

 भदौ २४, २०८० आइतबार ८:४९:४६ | पारु
unn.prixa.net

प्रतीकात्मक तस्बिर

साँझ छिपिँदै थियो, पशुपक्षीदेखि मानिसहरु सबै सुरक्षितबासको लागि आआफ्नो गुँडभित्र छिरिसकेका थिए । सिन्धुपाल्चोक जिल्लाको तातोपानीको यो गाउँका प्रत्येक घरमा लालटिनको सहाराले घरलाई उज्यालो पार्ने प्रयास गर्दै थिए । धेरैजसो घरमा लालटिनका वरिपरि त्यसघरमा केटाकेटी अगाडि राखेर रमाउँदै बसिरहेका बुबाआमा देखिन्थे भने कुनै कुनै घरमा आफ्ना छोराछोरीको मुखै हेर्नु नपरे हुन्थ्यो भन्दै मुख र हातको सहाराले आफ्नै छोराछोरीलाई अपहेलना गरिरहेका अभिभावकहरु । म पनि यस्तै अभागी घरकी एउटी छोरी थिएँ ।

हामी ४ वटी छोरीपछि एउटा भाइको जन्म भएको थियो । आमाबुबाको लागि छोरो मात्र प्यारो थियो  । खै किन हो आमाबुबाले मलाई कहिले पनि छोरीको जस्तो व्यवहारले हेर्नु भएन । सधैँ गाली गर्ने, म जन्मेकोमा आफ्नो भाग्यलाई दोष दिने गर्नुहुन्थ्यो । अलञ्छिना, मर्न नसकेकी, हामीलाई दुःख दिन जन्मेकी जस्ता अपमानित शब्दको प्रहार ममाथि हरेक दिन, हरेक पल हुने गर्थ्याे । आफ्नै घरभित्र आफ्नै आमाबुबाबाट यस्तो अपमानित जीवन बिताउनु भन्दा बरु मर्न पाए नि हुन्थ्यो जस्तो महसुस हुन्थ्यो । मलाई बाँच्न पटक्कै मन थिएन ।    

त्यस साँझ अरु साँझभन्दा धेरै नै कालो र अन्धकार जस्तो महसुस हुँदै गयो । त्यस दिन पनि केहीबेर अघि आमासँग झगडा परेको थियो । रातको ९ बज्नै लागेको थियो । घरमा सबैलाई खाना खान दिएँ । म आफू पनि खाना खान भनेर थाल अगाडि राखेँ । एकनास आफ्नो थालमा हेरिरहेँ । दिमागले भात खा भन्दै भनेन । भनोस पनि कसरी । दिमागमा हजाराैँ कुराहरु रोटेपिङ सरह फनफनी घुमिरहेका थिए । हातका औँलाहरु थालको भातमा मडारिरहन्थे । औँलाले बल्लबल्ल अलिकति भात समाउँथेँ । भात समाएको हात मुखमा पुग्दा भात र आँसु सराबर नै भइसक्थे ।

“तँलाई जन्माउनु भन्दा त बरु मेरो कोख बाँझो भएको भए हुन्थ्यो, कस्तो अलञ्छिनालाई जन्माएछु” भनेर आमाले सरापेको आवाजले मेरो कानमा झिरले खोचेको जस्तो घोचेकौ घोच्यै गरिरहेको थियो । अनि झिरले घोचेको दुखाइ भने मुटुमा बढेको बढ्यै थियो । आमाको गाली सुनिरहँदा मलाई यो संसारमा बाँच्नै मन लागेन । मलाई केही समयदेखि नै घरको समस्याले गर्दा मरौँ मरौँजस्तो लाग्ने गर्थो । त्यो रात भने म बाँचेर केही काम छैन र म कसको लागि बाँचौँ जस्तो अत्यासपनले प"रै रात आँसुमै पौडिएर बिताएँ । 

भोलिपल्ट झमक्क साँझ परेपछि घाँस काट्न जान भनेर तयार पारेको नाम्लो लिएर आजै मर्छु भनेर सुटुक्क घरबाट निस्किएँ । मेरो दिमागमा मर्ने योजना बाहेक केही कुरा आउनै सकेको थिएन । मेरो घरनजिकै एउटा ठूलो अम्बाको रुखमुनि गएर नाम्लो रुखमा बाँधेँ । अनि भुइँमा बसेर बेस्सरी रोएँ । अनि त्यो नाम्लोलाई आफ्नो घाँटीसम्म पुर्याउँदै गर्दा मनमा अनगिन्ती सोचहरु आइरहे । तर कुनै पनि सोचले म स्वयंलाई बाँच्ने आश देखाएनन् । तँ बाँच्नुपर्छ भनेर हिम्मत देखाउन सकेनन् । म  आफूसँग पूर्णरुपमा हारिसकेको थिएँ । रात छिप्पिँदै गयो ।  अब म यो संसारमा एकछिन पनि बस्दिनँ भनेर घाँटीमा लगाई सकेको डोरीसँगै आफ्नो जीवन समाप्त गर्नतिर लागेँ । त्यहीबेला एक्कासी काकाले देख्नुभएछ । हतपत दौडेर आउनुभयो र मलाई बेस्सरी गाली गर्नुभयो र नाम्लोले बेरिएको मेरो घाँटीलाई नाम्लोबाट बाहिर निकाल्नुभयो । 

म मर्न चाहन्छु, मलाई मर्न दिनुस् भन्दै रोएँ । उहाँले बेस्सरी हकार्दै गालामा दुई झापड हान्नुभयो । आमालाई बोलाउनु भयो । आमाले उल्टै मर्न दिएको भएहुन्थ्यो नि किन बँचाएको भनेर काकालाई भन्नुभयो । आमाको तुच्छ शब्दले मलाई त्यसदिनदेखि श्वास चलिरहे पनि मेरो परिवारको लागि म मरेकै सरह महसुस गर्न थालेँ । त्यो कालो रातबाट बाँचेर आएपछि पनि मेरो दिन झनै अन्धकार हुन थाल्यो । मनमा धेरै कुराहरु खेल्ने, मन डराउने, केही सोच्न नसक्ने, निराश हुने, निद्रा नलाग्ने र मेरो जीवन बेकार छ भन्ने जस्तो महसुस बारम्बार भइरहने जस्ता समस्याहरु बढ्दै गए । घरमा बस्न नसकेर विभिन्न ठाउँमा काम गर्न पुगेँ जहाँ मलाई सहयोग गर्नेभन्दा बढी मलाई दुर्व्यवहार र शोषण गर्ने गर्दथे । म मा भएका समस्याहरु झन्झन् बढ्दै गए । बेलाबेलामा बेहोस हुने समस्या झनै बढ्दै गयो । म को हुँ भन्ने नै बिर्सिसकेको थिएँं । त्यो अवस्थामा मलाई बुझ्ने, सुन्ने, सम्झाउने, सहयोग गर्ने व्यक्तिको एकदम अभाव थियो । मलाई कसैको विश्वास पनि लाग्दैन्थ्यो । घरको समस्या आफ्नाे जीवनमा बढ्दै गएको कठिन परिस्थिति, काम गर्ने ठाउँमा दिनदिनै भोग्नुपर्ने शोषणले गर्दा समस्या झनै बढेको थियो । 

मैले चिनेको एकजना दिदीमार्फत् संस्थामा आएँ । म छोरी संस्थामा जोडिएकी थिएँ । आफू ठिक हुन पाए हुन्थ्यो भन्ने मात्र सपना थियो । शुरुशुरुमा मनोविमर्शकर्तालाई विश्वास पनि गर्न सक्दिन थिएँ । उहाँले मेरो बारेमा जान्ने प्रयास गर्नु भयो । केही समयसम्म त  मैले आफनो केही कुरा भन्न चाहिनँ ।  तर बिस्तारै मैले आफ्नो सबै समस्याहरु बताउन थालेंँ । उहाँलाई जति समस्याहरु सुनायो मेरो मन त्यति नै हलुका भएको महसुस हुन्थ्यो । जुन दिनदेखि म मनोविमर्शमा  बस्न थालेँ,  त्यसपछि केही हदसम्म भए पनि आँट साहस मिल्न थाल्यो । उहाँले मलाई धेरै नै ध्यान दिएर सुनेको र मलाई बुझ्नुहुन्छ भन्ने आभाष हुँदै गयो । मेरो पनि कुरा सुन्ने कोही छ, मलाई विश्वास गर्ने र मलाई पनि माया गर्ने कोही छन् भन्ने भावनाको विकास हुँदै गयो । त्यसपछि झन् मेरो समस्याहरुको बारेमा खुलस्त रुपमा बताउन थालेँ। 

करीब ६ महिनापछि बिस्तारै म परिवर्तन हुँदै गएको महसुस गर्न थालेँ । मनोविमर्शमा मनसँग सम्बन्धित धेरै कुराहरु छलफल गर्ने योजना बनाउने गर्ने गरेका थियौँ र मलाई केही होमवर्क पनि दिने गर्नु भएको थियो । ती सबै होमवर्कहरु मेरो स्वस्याहार र मेरो मनोबल बढाउनमा मद्दत पुग्ने खालका हुन्थे । मनोविमर्शमा बसेपछि नै थाहा भयो मलाई  डिप्रेसन भइसकेको रहेछ । त्यसैले गर्दा मैले औषधिको प्रयोग गनुपर्ने भयो । मनोविमर्श र औषधिलाई मेरो जीवनको महत्त्वपूर्ण पाटो बनाउँदै गएँ । बाँच्ने आधार बनाउँदै लगेँ । 

म जीवनमा केही गर्न सक्दिनँ भन्ने र जीवनबाट हार खाएको मान्छे बिस्तारै म आफैँले आफूमा सकारात्मक हुँदै गएको र जीवनप्रति आशावादी हुँदै गएको पाएँ । म सानो सानो कुरामा पनि खुशी खोज्न थालेँ र आफूलाई खुशी राख्ने हरतरहको प्रयास गरिरहन्थेँ । म आफूले आफ्नो आवश्यकता पहिचान गर्न सक्ने, निर्णय लिन सक्ने र स्वस्याहारमा ध्यान दिन सक्ने भएँ । त्यसपछि म भित्र भएका समस्या हराउँदै गए । टाउको दुख्ने समस्या पनि कम हुँदै गयो । आफ्नो जीवन आफैँलाई रमाइलो लाग्न लाग्यो । आफूलाई आफैँ महत्त्वपूर्ण व्यक्ति लाग्न थाल्यो । 

वास्तवममा भन्नुपर्दा मलाई लाग्ने गर्थ्याे कि म यो डिप्रेसन जस्तो समस्याबाट कहिले मुक्त हुँदिनँ र मेरो जीवन यस्तैमा सकिनेछ । तर आज ती काला दिनहरु पार गरेर म जीवनको उज्यालो बाटोमा हिँडिरहेको छु । समय एउटै नहुँदो रहेछ । यदि प्रयास मात्रै गर्न सक्यो भने पनि आफनो हरेक समस्या समाधनको उपाय निकाल्न सफल बनिँदोरहेछ  । अहिले मेरा भावहरुसँगै मेरो व्यक्तिगत जीवनका अनगिन्ती परिवर्तनले मेरो जीवन सामान्य बनेको छ । आज म छोरी संस्थामा म जस्तै समस्या भोगेका दिदीबहिनीहरुको लागि काम गर्न सक्ने भएको छु । आफूजस्तै समस्या भोगेका दिदीबहिनीहरुलाई नयाँ जीवन दिन प्रेरणाको स्रोत बन्दै आएको छु । त्यसैले आज आत्महत्याको रोकथाम दिवसको सन्दर्भमा के भन्न चाहन्छु भने जीवन सुन्दर छ, आफ्नो समस्याबाट नभागौँ । समस्यालाई सामना गरौँ, आफ्नो खुशी आफैँ खोजौँ र जीवनप्रति सदैव आशावादी बनौँ । 

अन्तिम अपडेट: फागुन १८, २०८०

पारु

नाम परिवर्तन

तपाईको प्रतिक्रिया