तीजको लहर महिनौँ चल्ने रोचक कारण र तथ्यहरु !

 भदौ २४, २०८० आइतबार १५:९:१२ | मिलन तिमिल्सिना
unn.prixa.net

अचम्मकै पर्व हो तीज, व्रत एक दिन खानपिन र नाचगान चाहिँ एक दुई महिना ! मान्छेले नाग नागपञ्चमीका दिन मात्रै टाँस्छन् । तीज लागे जसरी महिना दिन पहिलेदेखि कसैले घरमा नाग टाँस्दैनन् । जनैपूर्णिमामा पनि डोरो जनैपूर्णिमाका दिन मात्रै बाँधिन्छ, महिना दिनअघि त डोरो बाट्ने काम पनि शुरु हुँदैन । बुद्धजयन्ती, कृष्णाष्टमी, बकर इद, उधौली उभौली, क्रिसमस पनि निश्चित दिनबाहेक अरू दिन कसैले मनाएको देखिँदैन र सुनिँदैन । दशैँको टीका पनि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मात्रै चल्छ । तिहारमा भाइटीका पनि कुकुर र गोरु तिहारको दिन लगाइँदैन, भाइटीकाकै दिन लगाइन्छ । न्वारन, व्रतबन्ध र पास्नी पनि तोकिएको दिनमा मात्रै हुन्छ, महिना दिन अघिदेखि नै उधुम मच्चाएको देखिँदैन । हरेक काजकर्म र चाडपर्व निश्चित दिनमा मात्रै हुन्छ, तर तीज मात्रै यस्तो एउटा पर्व हो जुन महिना दिन पहिलेदेखि नै लाग्छ । दर खाने दिन र तीज चाहिँ किन त्यही दिन मात्रै नभएर पहिलेदेखि नै शुरु हुन्छ त ? यसका केही कारण छन् । प्रहरीले सुन तस्करको खुलेर अनुसन्धान गर्न नसके पनि आउनुस् हामी तीजको लहरको खुलेर अनुसन्धान गरौँ ।

  • पहिले–पहिले तीजका गीतमा महिलाका पीर, व्यथा र बेदना पोखिन्थे । सासु–बुहारीका मनमुटाव र झैगडाका कथा बुनिन्थे । सासुले हेलाँ गरेको कुरा बुहारीले तीजको बेलामा मात्रै पोख्न पाउँथिन् । बुहारीले वचन लगाएको व्यथा सासुले त्यही दिन मात्र सुनाउन पाउँथिन् । हिजोआज सासु–बुहारी सँगै बस्नै पाउँदैनन् । बिहे गर्नेबित्तिकै बुहारी छोराको पछि लागेर शहर पस्छिन् । घरमा सासु आफ्नै बुढासँग । शहरमा बुहारी र गाउँमा सासु भएपछि न भेटभाट, न भलाकुसारी ! सँगै बस्न नपाएर सासु बुहारीको झगडै पर्दैन । झगडा नपरेपछि तीजका गीतमा सुनाउने पीर, व्यथा र वेदना पनि हुँदैन । सासुसँग भन्दा लोग्नेसँग रहँदाका कथा धेरै हुन्छन् । कसैकसैका त प्रेमीसँगका सम्बन्धका कहानी पनि हुँदा रहेछन् । सासु–बुहारीको झगडाका कुरा पो तीजको एक दिन पोखेर सकिन्छ । लोग्ने र प्रेमीसँगको रसरङ्ग र उठबसका कथा एकदिनमा सुनाएर सकिँदैन । त्यसैले तीज आउनु पहिलेदेखि नै मायाप्रेमको भाका मिसिएका तीजका गीतमा मान्छे निरन्तर झुम्न थालेका ।

 

  • पहिले–पहिले तीजमा दर मात्रै खाने चलन थियो । दर भनेपछि तीजको व्रत बस्दा ज्यानलाई दरो र आडिलो बनाउन अघिल्लो रात खाने घिउ र भात मात्रै भनेर बुझिन्थ्यो । तर अहिले दरको परिभाषा र आकार फेरिएको छ । घिउले जीउ मात्रै लाग्ने, तर जिब्रो र खुट्टो नलाग्ने भएर होला, कतिपय मान्छेहरूले दरको दमा आकार र रमा उकार झुण्ड्याएर दरलाई दारु बनाउन थालेका छन् । सक्कली दर मात्रै खाने बानी भइरहेको भए तीजको अघिल्लो रात खाँदा मात्रै आँत भरिन्थ्यो । तर दरको नक्कली दारु खाने बानी बस्न थालेपछि एक दिन बोतल घोप्ट्याउँदा मात्रै धित मर्दैन । अलि पहिलेदेखिको समय त छुट्याउनै पर्‍याे । सामाजिक सञ्जालतिर हेर्नुभएको होला नि मेरो त बुढाले रक्सी पिउँदैनन् भन्दै केही महिलाले आफैँ बोतल घोप्ट्याउँदै गरेको ।

 

  • अर्को कुरा गाउँमा भैँसी पाल्ने मान्छे नभएपछि दर बनाउन चाहिले असली घिउ पाइँदैन । भैँसीलाई पाल्नभन्दा काट्न सजिलो छ । काटेको भैँसीबाट दूध आउने कुरो भएन । दूधको ठाउँमा मासु आउँछ । मासुले घिउ बन्दैन, अरू परिकार बन्छ । त्यसैले दरमा दारुसँगै मासु मिसिन थाल्यो । दरमा मासुको परिकार मिसिन थालेपछि एक दिन मात्रै चाखेर भ्याइएन । 

 

  • पहिले–पहिलेको तीज महिलाको मात्रै थियो । पुरुषले घरको काम सघाउँथे, महिलाहरू फुक्काफाल भएर तीज मनाउँथे । नाचगान र रमाइलो गर्थे । महिलाका लागि घरका पुरुषले नै दर बनाउँथे । उनीहरूलाई खुवाएर मात्रै रहलपहल आफू चाख्थे । महिलालाई स्वतन्त्र भएर तीज मनाउने बाटो खोलिदिन्थे । तर अब तीज महिलाको मात्रै रहेन । पुरुषहरूले पनि तीजको गीत गाउन थाले । बीचबीचमा पसेर कम्मर मर्काउन थाले । त्यसमाथि दारुमा बदलिएको दरको स्वाद महिलालाई भन्दा पुरुषलाई बढी थाहा हुन्छ । महिलाको मात्रै दर र तीज भएको भए पो एक दिनले पुग्थ्यो । पुरुष पनि मिसिएपछि एक दिनले पुग्ने कुरो भएन । त्यसैले त हिजोआज दिनदिनैजसो हुने तीज कार्यक्रममा महिला र पुरुष सराबरी उफ्रन्छन् र दरको स्वाद लिन्छन् ।

 

  • पहिले–पहिले तीजमा गाउँटोल र बस्तीका महिला एकै ठाउँमा जम्मा हुन्थे । नाचगान र रमाइलो गर्थे । तर अहिले अरू धेरै कुराजस्तै दर र नाचगान पनि टिकटक र फेसबुकमा हुन्छ । तीजको एक दिन मात्रै दर खाएर र नाचगान गरेर टिकटक र फेसबुकमा राख्दा कसको हेर्ने, कसको नहेर्ने ? त्यसैले एकथरीले महिना दिनअघि नै दर खाएको र नाचेको भिडियो टिकटक र फेसबुकमा राख्छन् । त्यो देखेपछि अर्कोथरीलाई डाहा हुन्छ । हामी चाहिँ के कम भन्दै अर्कोथरीले पनि त्यसै गर्छन् । एउटाले अर्कोलाई, अर्कोले अर्कोलाई लगाएको र खाएको देखाउनका लागि पनि समय पर्याप्त चाहिने भएकाले पहिलेदेखि नै तीज मनाउने चलन बसेको छ ।

 

  • सबैभन्दा महत्त्वपूर्ण कुरा अहिले आर्थिक सङ्कट छ । व्यापार व्यवसाय चौपट छ । होटल र पार्टी प्यालेस बन्द हुने अवस्थामा छन् । तीजमा एकदिन त्यो पनि घरमा मात्रै दर खाएर र नाचगान गर्दा आफ्नो त बचत होला, तर त्यतिका होटल र पाटी प्यालेसको हालत के होला ? व्यावसायिक र राष्ट्रिय हितलाई ख्याल गरेर पनि महिना दिन अघिदेखि नै होटल र पार्टी प्यालेसमा दर र नाचगानको रस बस्न थालेको हो । हुनेखानेहरू यसरी महिना दिन अघिदेखि नै दरको स्वाद र तीजको रमाइलोमा भुल्दा हुँदाखानेहरूलाई पनि तीज कसरी मनाउने भन्ने चिन्ता हुँदैन । किनकि दरखाने दिन र तीजसम्म त सबै स्वाद र रौनक नै खल्लो भइसकेको हुन्छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • tham grg

    Sept. 11, 2023, 9:25 a.m.

    Right satire

  •  0 Reply

तपाईको प्रतिक्रिया