बेलायत रोजगारी : अहिलेसम्म ६०४ आवेदन सिस्टममा दर्ता, तोकिएको सबै मापदण्ड पूरा गर्ने ३० जना मात्रै

 असोज १०, २०८० बुधबार १८:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बेलायत रोजगारीका लागि ६ सय ४ जना नेपाली नर्सको आवेदन परेको छ ।

नेपाल र बेलायत सरकारबीच भएको श्रम समझदारी अनुसार पहिलो चरणमा एक सय नेपाली नर्स बेलायतको स्वास्थ्य क्षेत्रमा पठाउने गरी सरकारले खुलाएको आवेदनमा अहिलेसम्म  ६ सय ४  जना नर्सहरूको आवेदन परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डम्बर बहादुर सुनुवारले जानकारी दिनुभयो । 

उहाँका अनुसार अहिलेसम्म ६ सय ४ जनाले वैदेशिक रोजगार विभागको सिस्टममा आवेदन दर्ता गराएका छन् । तर सबै प्रक्रिया पूरा गरेर आवेदन पेस गर्नेको सङ्ख्या भने ३० जना मात्रै रहेको छ । 

सरकारी प्रक्रियामार्फत पहिलो चरणमा सरकारले एक सय नेपाली नर्सका लागि गएको जुलाई २० अर्थात् साउन ४ गते आवेदन खुलाएको थियो । 

जसअन्तर्गत अन्य मापदण्डसँगै अङ्ग्रेजी भाषा परीक्षण आईएलटीएसमा औसत ७ र अक्यूपेशनल इङ्लिस टेस्ट   ओईटीमा ‘बी’ अङ्क ल्याएको हुनु पर्नेछ । अहिले सबै मापदण्ड पूरा गरेर आवेदन पेस गरेका ३० जनामा दुई जनाले आईएलटीएसको नम्बर राखेर आवेदन पेस गरेका छन् भने ओईटी गर्ने २८ जना रहेका छन् । 

‘अरू सबै मापदण्ड पुगेकाहरूले अङ्ग्रेजी भाषा परीक्षण अर्थात् आईएलटीएस वा ओईटीको नम्बर पछि राख्छु भनेर विभागको सिस्टममा आवेदन दर्ता गर्नुभएको हो, जुन सङ्ख्या ६०४ रहेको छ’ मन्त्रालयका सहायक प्रवक्ता सुनुवारले भन्नुभयो ‘ अहिलेसम्म अङ्ग्रेजी भाषा परीक्षाको समेत नम्बर राखेर आवेदन पेस भएको सङ्ख्या भने ३० जनाको मात्र छ ।’

तीन महिनाको अवधि राखेर आवेदन माग गरिएको भए पनि आवेदन खुला भएको झण्डै साढे दुई महिनाको अवधिमा ६ सय ४ जनाले आवेदन दर्ता गराए पनि मापदण्ड पूरा गरेर ३० जनाको मात्र आवेदन पेस भएको हो । 

नेपाल र बेलायतबीच सरकारी संयन्त्रमार्फत नर्स लैजानका लागि २२ अगस्ट २०२२ मा श्रम समझदारी भएको थियो । यो श्रम समझदारीलाई कार्यान्वयन गर्न प्रोटोकलमा सहमति भएपछि नर्स लैजाने प्रक्रियालाई सरकारले कार्यान्वयनमा ल्याएको हो ।

इच्छुक नर्सले वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सक्छन् । यसका लागि विभागले छुट्टै पोर्टलको समेत व्यवस्था गरेको छ । आवेदन दिने अन्तिम मिति १९ अक्टोबर २०२३ सम्म छ। 

बेलायत रोजगारीका लागि आवेदन दिन नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएको हुनुपर्छ । 

स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन गरेकाहरूले आवेदन दिन पाउँछन् । यस्तै अङ्ग्रेजी भाषा परीक्षा आईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अङ्क ल्याएको हुनु पर्नेछ । 

बेलायतमा पाउने सेवा सुविधा 

नेपाल सरकार र बेलायत सरकारबीच जीटूजी प्रक्रिया अनुसार श्रमिकहरू जाने भएकाले छनौट भएर जानेहरूले शुल्क तिर्न नपर्ने व्यवस्था दुई देशबीच भएको समझदारीले गरेको छ । 

बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने छन् ।

बेलायतको कानुनअनुसार लाइसेन्स लिएपछि पारिश्रमिक र सेवा सुविधा थप बढ्न सक्छ । यो भर्ना प्रक्रियालाई नेपाल र बेलायतले पाइलट परीक्षणको रूपमा लिएको छ । 

भर्नाको सबै प्रक्रिया वैदेशिक रोजगार विभाग र ह्म्यासपेयर हस्पिटल (एनएचएस) फाउन्डेसन ट्रस्ट युकेले गर्ने छन् । दुई देशबीच भएको श्रम समझदारी अनुसार भर्ना प्रक्रियामा रोजगारदाता, कुनै संस्था वा म्यानपावर कम्पनी वा कुनै पनि एजेण्ट समावेश हुने छैनन् ।

नेपालबाट गएका नर्सहरूले बेलायतमा त्यहाँका स्वास्थ्यकर्मी सहर अधिकार, सेवा सुविधा, सुरक्षा र सम्मान पाउने व्यवस्था समझदारीले गरेको छ ।

यो चरणमा भएका सिकाइहरूको आधारमा आउँदा दिनहरूमा भर्ना प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउने श्रम मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया