खोटाङको दिप्रुङमा ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटौती

 असोज १३, २०८० शनिबार १०:५७:२० | दमन राई
unn.prixa.net

खाेटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटौती गरिएको छ । गाउँपालिकाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क यात्राका लागि आर्थिक वर्ष २०७४/०७५ देखि शुरु गरिएको ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा कटौती गरिएको हो ।

लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा कटौती गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । प्रभावकारी मापदण्ड अभावमा कतिपय ज्येष्ठ नागरिकका आफन्तले टिकट देखाएर निःशुल्क यातायात सेवा लिएको खुलेको गाउँपालिकाले जनाएको छ । 

दिप्रुङ चुइचुम्मा गाउँपालिका र खोटाङ यातायात प्रालिबीचमा भएको सम्झौता अनुशार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचय–पत्र वितरण गर्ने र त्यही परिचय–पत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो । तर, ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचय–पत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । तत्कालीन गाउँपालिका अध्यक्ष भुपेन्द्र राई र उपाध्यक्ष सपना राई नेतृत्वको स्थानीय सरकारले ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा शुरु गरेका थिए । 

यातायात प्रालि र गाउँपालिकाबीचमा गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात उल्लेख भएको टिकटको व्यवस्था गर्ने, नि:शुल्क यातायात सुविधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचय–पत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको त्यही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर त्यही समितिमार्फत यातायात प्रालिलाई मासिकरुपमा भुक्तानी दिने, सम्झौता वार्षिकरुपमा नवीकरण गर्ने लगायतका सम्झौता भएको थियो । 

साकेलामा सम्झौता नवीकरण भएन 

यस्तै, साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको पाइएको छ ।

साकेला गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष अर्जुन खड्का र उपाध्यक्ष सरिता खड्काको पालामा आर्थिक वर्ष २०७६/०७७ देखि ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका फरक क्षमता भएका व्यक्तिलाई सडक यात्रामा शतप्रतिशत छुट दिने व्यवस्था मिलाइएको थियो ।

चालु आर्थिक वर्षमा भने ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । प्रालिले सम्झौता नवीकरणका लागि २०७९ चैत २२ गते प्रतिनिधि सुन्दर तामाङलाई साकेला गाउँपालिका पठाएको थियो । 

साकेला गाउँपालिका र खोटाङ यातायात प्रालिबीच साकेला गाउँपालिका–रसुवाघाट–गाईघाट सडक तथा साकेला गाउँपालिका–दिक्तेल–काठमाण्डौ सडकमा यात्रा गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई भाडामा शतप्रतिशत छुट दिने सम्झौता भएको थियो ।

साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भने ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदैआएको निःशुल्क यातायात सेवाले निरन्तरता पाइरहेको बताउनुभयो।

गाउँपालिका अध्यक्ष राईका अनुसार अहिले वडा–वडामा टोकन वितरण भइरहेको छ । साकेला गाउँपालिकामा पनि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि उपलब्ध गराइएको टोकन प्रयोग गरेर अन्य व्यक्तिले निःशुल्क यातायात सेवा लिएको पाइएको छ । 

साकेलामा यातायात प्रालिको बसबाट यात्रा गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले सम्बन्धित वडाको वडाध्यक्ष वा वडा सचिवले प्रमाणित गरेको र वडा कार्यालयको छाप हालिएको टोकन लिएर यात्रा गर्ने व्यवस्था मिलाइएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया