दशैँको अनुभूति : सपनीमा आनन्द, विपनीमा परमानन्द !

 असोज २८, २०८० आइतबार १६:२७:५ | मिलन तिमिल्सिना
unn.prixa.net

परारभन्दा पोहोरको दशैँ सजिलो भाथ्यो । यसपालि दशैँ मनाउन पोहोरभन्दा पनि सजिलो भो । पोहोर, परार पैसा थोरै भो भनेर मात्रै चित्त बुझाउन पाइएको थियो । यसपालि अलिकति पनि पैसा छैन भनेर ढुक्क हुन पाइएको छ । खल्तीभरि पैसा भो भने तनावै तनाव मात्र हुन्थ्यो ! खल्ती खालि भएपछि के किन्ने, के नकिन्ने, कसलाई किन्ने, कसलाई नकिन्ने भन्ने सबैखाले तनावबाट मुक्ति पाइएको छ । यो पालि खल्ती रित्तो छ, केही किन्नै परेन, त्यसैले, दशैँमा पैसा नहुँदा आनन्द मात्र हैन, परमानन्दकै अनुभूति प्राप्त भैरहेको छ । 

त्यसमाथि दशैँमा आफूलाई भन्दा पनि सरकार र व्यापारीलाई बढी चिन्ता हुन्छ । पैसा नै नभएका र थोरै भएकाहरूलाई दशैँ मनाइदिन उनीहरू सबैथोक छोडेर लागेका हुन्छन् । सहुलियत पसल, अग्रिम टिकट, छुट, बहार र उपहार... के के हो के के ! सबैभन्दा पहिले सरकारले सहुलियत पसलमा खाद्यान्न बाँड्यो । दशैँ मनाइदिन सरकारले नै बाँड्ने भएपछि चुप लागेर बस्ने कुरा पनि भएन । फाल ठोक्दै सहुलियत पसल पुगेपछि थाहा भयो, नाम मात्रै सहुलियत । अरू पसलमा भन्दा जम्मा दुई, चार रुपैयाँ सस्तो । त्यही पनि केही ठाउँमा मात्रै । बजारमा भन्दा अलि धेरै नै सस्तोमा पाइने भनिएको चिनी त देख्नै नपाइने ।

दुई रुपैयाँ सस्तोका लागि सहुलियत पसलमा जान गाडीवालाले ३० रुपैयाँ भाडा लियो । जाँदा ३० रुपैयाँ, फर्किँदा ३० रुपैयाँ । ६० रुपैयाँ त गाडीभाडामै सकियो । बजारसम्म पुग्दा भोक लाग्यो । खानेकुरा देखेपछि खाउँखाउँ लाग्यो । खान बस्दा १०, २० रुपैयाँले पुग्दैन । १० को १० वटाभन्दा बढी नै नोट चाहिन्छ । त्यतिले पनि पेट भरिने चाहिँ होइन ।

दुई रुपैयाँ सस्तो खोज्न सहुलियत पसल जाँदा कम्तीमा दुई सय रुपैयाँ त गाडीभाडा र खाजा खर्चमै सकिँदो रहेछ । तै पनि दशैँमा सहुलियत पसल खोल्यौँ भनेर सरकार दङ्ग मात्रै छैन, उग्र प्रचारप्रसारमा व्यस्त छ । सरकार दङ्ग परेको देखेर आफ्नो मन भरियो । हाम्रै लागि सहुलियत पसल खुलेको हो भने हामी चाहिँ किन मख्ख नपर्ने ? मनले चित्त बुझाउने मेलो निकाल्यो । 

दुख्न लागेको चित्तलाई थामथुम पार्दै घर फर्कनै लाग्दा फेरि नयाँ नोट बाँडेको अर्को हल्ला सुनियो । पुरानै नोट त कहाँ पाउँ भैरहेको बेला नयाँ नोट पाइन्छ भनेपछि लिन नजाने कुरै भएन ।

बैंकमा ठेलमठेल घुइँचो र लामो लाइन, बैंक छिर्ने गेट कहाँ हो कहाँ ? तै पनि उभिनै पर्‍याे । हल्ला सुन्दा र ठेलमठेल हेर्दा लाग्यो, सरकारले सित्तैमा नयाँ नोट बाँड्दैछ । वर्षमा एकपटक आउने दशैँ मनाउनका लागि गरिबको दुःख बुझ्ने सरकारले सित्तैमा बाँड्यो पनि होला । तर सित्तैमा पाइने हावा त बाँड्न नसक्ने सरकारले आफूलाई नराखेर हामीलाई किन सित्तैमा पैसा बाँड्थ्यो ? नोट दिएरै नोट साट्नुपर्ने रहेछ ।

ठिकै छ, पुरानो नोट दिएर नयाँ नोट पाइन्छ भने लिनै पर्‍याे । बैंकको गेटबाट भित्र छिर्ने बेला त्यहाँ उभिएका सुरक्षा गार्डले भने– लौ आजलाई पैसा सकियो, भोलि आउनु !

गार्डको कुराले निराश हुनै लाग्दा उताबाट नयाँ नोटको बन्डल बोकेर आएका एक दयालुले दया देखाउँदै भने– अलि पर हिँड्नुहोस्, सयमा ९० दिँदा मान्नु हुन्छ भने थोरै म सहयोग गर्छु । त्यही पनि लिनै पर्‍याे, भोलि भ्याइँदैन !

सय रुपैयाँमा ९० रुपैयाँको नयाँ नोट पनि मिल्यो । बसभाडा र खाजामा दुई सय रुपैयाँ खर्च गरेर दुई रुपैयाँ सस्तो नुन, तेल पनि पाइयो । अब एक, दुई जोर लुगाफाटा किन्न पाए दशैँ टर्थ्याे ।

‘ए दाजु कता, यता आउनुहोस्, तपाईंलाई विशेष छुट ।’

‘त्यता हैन, यता सस्तो छ, तपाईंलाई भनेर साँचेर राखेको, ल आइहाल्नुहोस् ।’

‘हैन हैन यता ५० प्रतिशत छुट ।’

‘त्यता हैन यता अफर र उपहार दुवै छ । एउटा किन्दा अर्को सित्तैमा, यता आउनुहोस् ।’

ओहो कता मात्रै जाने ? सरकारले भन्दा बढ्ता त व्यापारी पो हामीलाई दशैँ मनाइदिन मरिमेट्दा रहेछन् । कता पस्ने भनेर अलमल भयो । नजिकैको पसलबाट पसले हातै तान्न आइपुगे ।

‘ल हिँड्नुहोस्, तपाईंले खोजेजस्तो उता छ । किन्छु मात्रै भन्नुहोस्, सबै तपाईंकै भयो ।’ सित्तैमा दिउँलाझैँ गरी उनले तानेर लगे ।

जे हेरे पनि किनौँ किनौँ जस्तो । पहिले जुत्ता किन्नुपर्‍याे भनेर भाउ सोधियो । 

‘अरूबेला हो भने २ हजार, दशैँलाई विशेष छुट, ११ सय मात्र’ पसलेले भने । यही जुत्ता दुई महिनाअघि ८ सयमा किनेको, अहिले कसरी ११ सय ? सोध्न नपाउँदै पसलेले भने, ‘हैट त्यो नक्कली, यो असली हो । लगेर दराजमा थन्क्याउनुहोस्, घामपानीबाट जोगाउनुहोस्, दुई वर्ष केही भएछ भने फिर्ता ल्याउनुहोस् । खास मूल्य दुई हजार हो, अहिले विशेष छुट ।’ 

दुई वर्ष दराजमा राख्नु पर्‍याे भने अहिले किन किन्न आइन्थ्यो र भन्नै लाग्दा पसलेले फेरि भने, ‘ल यो जुत्ता किन्नुभयो भने तुना सित्तैमा ।’ 

तुना त यसै पनि सित्तैमा हो नि । भन्न नभ्याउँदै पसलेले पुरानो खालको एउटा मोजा देखाउँदै थपे, ‘ल ल यो मोजा पनि सित्तैमा लैजानुस्, जुत्ता किन्दा तुनासँगै मोजा समेत उपहार !’

सित्तैमा र उपहार भन्ने कुरा सुनेपछि जुत्ताको भाउ महँगो लागेन । त्यसमाथि अरू बेला २ हजार पर्ने रे, अहिले ११ सयमा पाइयो, तुना र मोजा सित्तैमा, घामपानीमा नदेखाइ दराजमा राख्यो भने दुई वर्षसम्म केही नहुने । भनेपछि अर्को दुईटा दशैँमा नयाँ जुत्ता किन्न पर्दैन !

अर्को पसलमा पनि उस्तैखाले पसले भेटिए । सबै दशैँको खुशी बाँड्न बसेका । अरू बेला भन्दा सस्तोमा बेच्न बसेका । जहान र छोराछोरीलाई समेत एक,एक जोर लुगाफाटा बोकेर बसपार्क पुगियो । खल्तीमा घरसम्म पुग्ने भाडा त बाँकी रहेछ ।

बसपार्कमा जता फर्के पनि मान्छे नै मान्छे । बसभन्दा धेरै मान्छे । यति धेरै मान्छेलाई घरघरमा पुर्‍याउन भनेर व्यवसायीले उहिलेदेखि नै अग्रिम टिकट खुलाएका । सरकार र बैंकवालाले नयाँ नोट बाँडेका छन् । पसलेले खाद्यान्न र लुगाफाटामा अफर दिएका छन् । गाडीवालाका पनि त होलान् नि दशैँमा सेवा, सुविधा !

त्यहीबेला एकजना केटो आइपुग्यो । ‘ए दाजु कता ? ल है जाने भए चमेरे सिट खाली छ’ केटोले भन्यो । चमेरे सिट.... सुन्दैमा मज्जा लाग्यो । भनेपछि गाडीवालाले पनि नयाँ अफर दिएका रहेछन्, सिट मात्रै होइन, चमेरे सिट । कस्तो होला यो चमेरे सिट । आरामदायी, आनन्दको, बसेपछि उठ्न नपर्ने ....। बसको सिटभरि मान्छे छन् । अझै पछिल्तिरसम्मै उभिएका छन् । मुस्किलले खुट्टा राख्ने ठाउँ मात्रै छ ।

‘ए भाइ खै त चमेरे सिट ?’ 

‘यही त हो नि चमेरे सिट, चमेरोले जस्तो झुन्डिएर जाने’ अघिदेखि झुन्डिएर बसेको अर्को मान्छेले भन्यो, ‘हामीलाई पनि यही भनेर ल्याएको, के गर्नुहुन्छ अरू गाडी पाइँदैन । पाए पनि यस्तै हो, सिट छैन ।’

सास्ती नै भए पनि सरकार, व्यवसायी र व्यापारीले हाम्रा लागि मरिहत्ते गरेका छन् । खाइ, नखाइ हाम्रै सेवा गरेका छन् । उपहार, सहुलियतको बहार ल्याइदिएका छन् । हामीलाई दशा नै भए पनि उनीहरूलाई दशैँ ल्यायौँ भन्ने त भएको छ ।

ठिकै त भयो नि भनेर बसबाट ओर्लनेबित्तिकै सडक छेउमा रहेको पिङ मच्चाउनै थाल्दा खाटबाट लडेर निद्रा खुल्यो । आँखा मिचेर सिरानमाथि राखेको गोजी छामेको त गोजी उस्तै रित्तो । कताको लुगाफाटा, कताका मरमसला, कताका नयाँ नोट, कताका बसका टिकट र बसको यात्रा ! सपनामा त धेरथोर पैसा भएकाले दशैँ मनाउन खोज्दा अलिकति आनन्दै प्राप्त भएको थियो, ब्युँझेर खल्ती छाम्दा सबै रित्तै छ । त्यसैले, जमरा राखेको दिनदेखि नै मलाई त परमानन्दको अनुभव हुन थालेको छ !

अन्तिम अपडेट: फागुन १८, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया