काठमाण्डौका ११ वटा ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण शुरु

स्वस्थको सिङमा हरियो र अस्वस्थको सिङमा रातो चिह्न

 असोज २८, २०८० आइतबार १५:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पशु सेवा विभागले आज आइतवारदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन शुरु गरेको छ । विभागले काठमाण्डौका विभिन्न ठाउँका बजारमा स्वास्थ्य परीक्षण गरेर स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाउने अभियान आजदेखि शुरु गरेको हो ।

काठमाण्डौका विभिन्न ११ वटा ठाउँबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया शुरु भएको हो । कलङ्की खसी बजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल अकाशे धारा र सुकेधारा थानकोट दाउरा डिपो, दहचोक मूलपानी चौर खसी बजारको होल्डिङ तथा सङ्कलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम शुरु गरिएको विभागले जनाएको छ । खसीबोकाको स्वास्थ्य परीक्षणका लागि तोकिएको ठाउँमा ५ देखि ७ जनाकाे टोली परिचालन गरिएको विभागले जनाएको छ ।

पशु चिकित्सकले दसैँमा उपभोग हुने भनेर बाहिरबाट ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शङ्का लागेमा रगतको नमुनाको आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिंहमा हरियो र अस्वस्थ्य ठहरिने खसीबोकाको सिङमा रातो चिह्न लगाउने व्यवस्था गरिएको छ ।

दशैँकाे मौका छोपेर व्यापारीले विभिन्न प्रकारका रोग लागेका तथा सरुवा रोगबाट प्रभावित खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना भएकाले परीक्षणमा कडाइ गरिएको विभागले जनाएको छ । शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिह्न भएका खसीबोका मात्र खरिद गर्न पनि विभागले सुझाव दिएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया