हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउनै मुस्किल

 असोज २९, २०८० सोमबार ११:३०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रका नागरिकलाई हवाई टिकट पाउन सधैँ मुस्किल हुने गरेको छ । 

मौसमको प्रतिकूलता र एअरलाइन्सहरुको सीमित उडान भएकाले हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व हुने गरेको देखिन्छ । नेपाल वायुसेवा निगमका उडानहरु अत्यन्तै न्यून हुनु, निजी एअरलाइन्सहरुले पनि नियमित उडानलाई भन्दा चार्टर्ड उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा नागरिकलाई टिकट पाउन मुस्किल हुने गरेको हो ।

नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि नागरिकले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त बिचौलियालाई । सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ ।

सुत्केरी गराउन नेपालगञ्ज आएकी लुम्बिनी प्रदेश पूर्वीरुकुमकी टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहनुभएको छ । नेपालगञ्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन । रुकुमपूर्व सिस्ने गाउँकी टीका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगञ्ज आउनुभएको थियो । १८ दिनकी सुत्केरी टिकासँग जहाजको टिकट छैन । पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यताउता गरिरहनुभएको छ ।

उहाँ भन्नुहुन्छ 'फ्लाइट पनि गाह्राे छ । पाइँदैन । उतै अपरेसन भए पनि ब्लड पाइँदैन । आईसीयू छैन । सेवासुविधा केही पनि छैन । सके पनि नसके पनि यही (नेपालगञ्ज) आउनैपर्ने बाध्यता छ । अब यहाँ यत्तिका समय भइसक्यो फ्लाइट नै पाइँदैन ।’

पूर्वीरुकुम पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर ८ की  निशा सेन बोहरा पनि सुत्केरी गराउन नेपालगञ्ज आउनुभयो । जुम्ल्याहा नानीहरुकी आमा निशाको पनि जहाजको टिकट नपाउँदा घर फर्कने टुङ्गो छैन । एक महिना भइसक्यो नेपालगञ्ज होटलमा बसेको अझै कतिदिन बस्नुपर्ने हो भन्ने पिरलो उहाँमा पनि देखिन्छ । 

निशाले भन्नुभयो ‘म डेलिभरीको लागि यहाँसम्म आएको हो । पूर्वी रुकुमदेखि पश्चिम पठाइदियो । दुईवटा बच्चा छ नेपालगञ्ज जानुपर्छ भनेका कारणले यहाँसम्म आएको । यहाँ आएपछि । अप्रेसन भयो । ४ दिन हस्पिटल बसेको हो । अनि होटलमा एक महिना बस्यौ । अब घर जान लागेको । जहाजको टिकट मिल्दैन भन्नुभएको छ ।’

कर्णाली प्रदेश हुम्ला जिल्ला खार्पूनाथ गाउँपालिका वडा नम्बर ४ का विष्णुबहादुर शाही नेपाल वायुसेवा निगमका कम उडान र भएका उडान पनि समयमा नहुने भएकाले समस्या भएको बताउनुहुन्छ । कसैलाई भनसुन नगरि हवाई उडानको टिकट पाउन नसकिने अनुभव उहाँको छ ।

शाही भन्नुहुन्छ ‘नेपाल वायुसेवा निगमले नियमति उडान गर्ने हो भने पनि निजी एअरलाइन्सको भर पर्नुपर्ने थिएन । नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ । मुख्य समस्या यही हो । प्राइभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन् । मुख्य कुरा टिकट नै पाइँदैन । सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन । च्यानलमा जानुपर्छ । नेताको ज्याक लिएर जानुपर्छ । टिकट पाउन बहुत गारो छ । विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउँला ?’ 

विदेशी टोली आउँदा दिनमा ५ वटासम्म चार्टर्ड गर्ने निजी एअरलाइन्सहरुले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरु बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरु हवाई उडान सेवा प्रति नै आक्रोशित बन्दै गएका छन् ।

नेपाल वायुसेवा निगमले हप्तामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरि स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ । निगमको जहाजको उडान धेरै जसो स्थगित भइरहँदा निजी एअरलाइन्ससँग मिलेमतो भएको हो कि भन्ने शङ्का पनि स्थानीयको छ । निजी एअरलाइन्सहरुले पनि नियमित उडान स्थगित गरेर चार्टर्ड उडान गर्ने गर्दा बल्लबल्ल टिकट पाएका नागरिक चर्को भाडा तिर्न बाध्य हुने गरेका छन् ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया