दशैँ, तिहार भित्रियो तर खोटाङका सडकको अवस्था भने नाजुक

 कात्तिक १, २०८० बुधबार ९:२०:२७ | दमन राई
unn.prixa.net

खोटाङ – दशैँ, तिहार नजिकिए पनि खोटाङका कतिपय मुख्य सडक मर्मत गरिएका छैनन् । दशैँ तिहारका बेला आवतजावत गर्ने स्थानीयको सहजताका लागि सडक मर्मत सम्भार गर्नुपर्ने भए पनि कतिपय मुख्य सडक नै गाडी गुड्ने अवस्थामा छैनन् । चाडबाड भित्रिसक्दा कतिपय स्थानीय सरकारले आफ्नै क्षेत्रभित्र पर्ने सडक मर्मत गर्न चासो देखाएका छैनन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत चखेवा भञ्ज्याङ–सेखुवा सडकको बाँझेच्यानडाँडा खण्डमा हिलोमा भासिएको बसलाई ट्याक्टर बोलाएर तान्नुपर्ने बाध्यता छ । हिलाम्मे सडकमा भासिएको बसलाई पार गराउन एकै पटक दुई वटा ट्याक्टरलाई पाँच हजार दिएर तानेर यात्रुलाई गन्तव्यमा पुर्‍याउने गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गकै छेपे खोलामा गाडी भासिएर घण्टौँ अड्किने समस्या छ । चाडबाड मनाउनका लागि घर भित्रिने र बाहिरिने यात्रुको चाप बढेका बेला दिक्तेलबजारबाट खार्मी–बालाबेँसी जाने सडकमा वर्षा लागे यता गाडी आवत जावत गराउन सकिएको छैन । दिक्तेल–खोटाङबजार सडकमा दिक्तेलबाट रोक्सिङभञ्ज्याङसम्म मात्र गाडी पुग्ने गरेको महासचिव हिङमाङले बताउनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हुर्लुङ–निगाले–कालिका मावि खार्मी–तापखोला–राँटी पुल सडक मर्मत भइरहेको छ । दशैँ तिहारमा आवतजावत गर्ने यात्रुको सहजताका लागि त्यस सडकको मुख्य–मुख्य ठाउँमा मर्मत भइरहेको खार्मीका वडाध्यक्ष इखबहादुर राईले बताउनुभयो । खोटेहाङ गाउँपालिकाका धेरैजसो मुख्य सडक मर्मत गरिएका छन् । 

गणेशचौतारा–मिलनचोक–खोटाङबजार सडक मात्र अवरुद्ध रहेको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताउनुभयो । ‘मूल सडकमा समस्या छैन । दशैँ तिहारमा यात्रा गर्न समस्या छैन,’ फुयाँलले भन्नुभयो, ‘दुःखसुख ओहोर दोहोर गर्न समस्या छैन ।’

दशैँ, तिहारलाई लक्षित गर्दै रावाबेँसी गाउँपालिकाका मुख्य–मुख्य बाटो चालु अवस्थामा ल्याइएका छन् । शाखा बाटोहरु आवश्यकताका आधारमा मर्मतको काम भइरहेको रावाबेँसी गाउँपालिका–६ हौँचुरका वडाध्यक्ष चिरञ्जिवी कार्कीले बताउनुभयो ।

गाउँपालिकाको डोजर र वडाको तेल खर्च गरेर वडाभित्रको सडक मर्मत गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले बताउनुभयो । चाडबाडका लागि हलेसी तुवाचुङ नगरपालिकाका धेरैजसो कच्ची सडक मर्मत सम्भार गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । यस्तै, ऐसेलुखर्क गाउँपालिकाका सडकमा आवत–जावत गर्न समस्या नभएको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया