आधा शताब्दीपछि पचलि भैरबको जात्रामा यःसिँ पुनरोत्थान, उत्साह र महिला भूमिका

 कात्तिक २, २०८० बिहिबार ७:२:२ | कुमार रञ्जित
unn.prixa.net

काठमाण्डौका ज्येष्ठ नागरिकहरुको स्मृतिमा मात्रै बाँकी रहेको र अब फेरि देख्न पाउनेमा झिनो आशाको त्यान्द्रो रहेको ‘यःसिँ’ यसपटक पुनरोत्थान गरेर पचलि भैरबको जात्रा शुरुवात गरिएको छ ।

८४ वर्षीय तीर्थमान रञ्जितकारले कहिलेकाहीँ सपनामा यःसिँ उत्थान गरेको देख्ने गर्नुहुन्थ्यो । तर विपनामा त्यो असम्भव नै लाग्थ्यो । यसपटक सोच्दै नसोचेको अवस्थामा सपना विपनामा परिणत भएकोमा उहाँमा मात्रै होइन, समग्र काठमाण्डौवासीमा आश्चर्यमिश्रित खुसी प्रकट भएको देखियो ।

काठमाण्डौमा पचलि भैरबको चारदिने जात्रा देशकै राजधानीको स्थापना र निरन्तरताको सांस्कृतिक प्रतिकात्मक पर्व मात्रै नभइ यसले राज्यसत्ता परिवर्तन र हस्तान्तरणको समेत प्रतिकात्मक बिम्ब अभिव्यक्त गर्दै आएको छ । त्यसैले प्रत्येक १२ वर्षमा राष्ट्र प्रमुखले पचलि भैरबसँग शक्तिको प्रतीक खड्ग साटेर शक्ति पुनरोत्थान गर्ने परम्परा समेत यद्यपि निरन्तर छ । यसको सम्पूर्ण सञ्चालन विधि अधिकारप्राप्त ‘थकु जुजु’ मार्फत् हुँदै आएको छ । जसको सिधा अर्थ यो परम्परा लिच्छविकालदेखि नै चल्दै आएको हो भन्ने कुरामा इतिहासकारहरुले ठोकुवा गरेर भन्ने गरेका छन् ।

तर करिब आधा शताब्दीअघि यसमा आर्थिक कारणले केही सांस्कृतिक र सामाजिक विचलन आएको देखियो । जसको मुख्य कारणमा तात्कालीन सरकारले गुथि संस्थानलाई अगाडि सारेर सांस्कृतिक परम्पराहरुलाई कब्जा गरेको नै हो भन्ने देखिन्छ । परम्परागत गुथिहरुका आयस्ता स्रोतहरु सबै कब्जा गर्दै केही निश्चित अपुग रकम प्रदान गरेर जात्रा तथा पर्वहरु सञ्चालन गर्न दिने गरिएपछि कैयौँ सांस्कृतिक सम्पदा र परम्पराहरु मासिएका उदाहरणहरु छन् । जसमा पचलि भैरबको जात्राका लागि यःसिँ उत्थान गर्ने सांस्कृतिक परम्परा पनि पर्दछ ।

काठमाण्डौको मजिपात–लाखेननि क्षेत्रका रञ्जितकार समुदायले परम्परागत रुपमा यःसिँ उत्थान गर्दै आएकोमा पनि तात्कालीन सरकारकातर्फबाट त्यस्तै हस्तक्षेप भएपछि सञ्चालन गर्न असमर्थ भएर विगत आधा शताब्दीदेखि महत्वपूर्ण काम नै हुन छाडेको प्रत्यक्ष अनुभव गरेका गुथि सम्बद्ध ज्येष्ठ नागरिकहरुले बताउने गरेका छन् । यसपटक पचलि भैरबको जात्रा शुरु हुन १५ दिनअघि मात्रै सरकारकातर्फबाट यःसिँ अर्थात् ४० फिट लामो सल्ला जातको रुख प्रदान गर्न अनुमति प्रदान गरिएपछि यसले पुनः निरन्तरता प्राप्त गरेको हो ।

नेपाली लोकबाजा सङ्ग्रहालयका संस्थापक तथा अध्यक्ष रामप्रसाद कँडेलमार्फत् पूर्व संघीय सरकारका राज्यमन्त्री कल्पना धमलासँगको भेटमा काठमाण्डौको क्वःने लागा (तल्लो भेग)लाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन गर्न सकिने कामहरुबारे सुझाव मागिएपछि यस पंक्तिकारले यसै वर्ष पचलि भैरबको जात्रामा यःसिँ पुनरोत्थान गरेर संस्कृतिप्रेमी जनतामा उत्साह जागृत गर्न अनुरोध गरेको हो । त्यसै अनुरुप परम्परागत पचलि आजु यःसिँ गुथिका गुथियार अनिल रञ्जितले आफ्नो गुथिमा प्रस्ताव गरेर सहमतिपत्र ल्याएपछि यःसिँ ल्याउने कार्यको थालनी गरियो । त्यसपछि गुथिका सचिव सरजु रञ्जितको सक्रिय सहयोगमा यःसिँ पुनरोत्थान गर्ने वातावरण बन्यो, जसले यस वर्ष काठमाण्डौको पचलि भैरब आजुको जात्रा र मोहनि नखःमा नयाँ रौनक थपिन पुग्यो ।

यःसिँ उत्थान गर्दा फहराइने ३२ हात लम्बाइ र एक हात चौडाइ भएको हातैले बुनिएको हलपतः (विश्वध्वजा) रञ्जितकार गुथिमै थियो । जुन २ सय ३७ वर्ष पहिले स्थानीय राक्षस ननि (हाल लाखेननि) का एक महिलाले थकु जुजुका परिवारसित मिलेर चढाएको प्रमाणित छ । यःसिँको माथिल्लो भागमा टाँसिएको टुक्रिएर आधा भाग मात्रै बाँकी रहेको ताम्रपत्रमा यस्तो कुँदिएको छ :

‘श्री ३ स्वच्छन्द भैरवायनमः । ॐ सुभ सम्बत् ९०६ मिति आश्विन शुक्ल ४ स श्री ३ पचिली भैरव...
विष्णु सिंह भार्या मजिपात तोल राक्षस ननिया रंजितकार लक्ष्मीया म्ह्याय् च लक्ष्मी धरी...
सम्बत् ९६४ मिति आश्विन शुक्लया चौथी मंगलबार कुन्हु विष्णु सिंहया पुत्र चैत्य कृष्ण सिंह...
भार्या न्हुछे थकुं परिवार समुच्चय जुयाओ चोना बेलस धर्मचित्त उत्पत्ति जुयाओ थ्व...’

ताम्रपत्रमा कुँदिएका अपूर्ण वाक्य र शब्दहरुका अनुसार पचलि भैरबलाई स्वच्छन्द भैरब भन्ने गरिएको, हालको ‘लाखेननि’लाई तात्कालीन समयमा ‘राक्षसननि’ भन्ने गरिएको साथै यःसिँ उत्थानमा रञ्जितकार समुदाय र थकु परिवारबाट महिलाहरुको पहल रहेको स्पष्ट भएको छ । ताम्रपत्रमा ५८ वर्ष फरक पारेर दुईवटा मिति कुँदिएको कारण प्रष्ट छैन । त्यो ताम्रपत्रको बाँकी आधा भाग फेला परेमा पचलि भैरब जात्रा, यःसिँ उत्थान र तात्कालीन समयको अवस्थाबारे धेरै तथ्य प्रष्ट हुने आशा गर्न सकिनेछ ।

स्थानीय जनसमुदायमा प्रचलित किंवदन्तीका अनुसार पचलि भैरब जात्राका क्रममा उठाइने यःसिँमा चढाइने हलपतः रञ्जितकार जातिकै एक विधवा महिलाले तीन महिनासम्म एकछाक उपवास बसेर आफ्नै हातले बुनेर चढाएर फहराइएको हो । हलपतःमा लेखिएका चित्रहरु अस्पष्ट भैसकेका छन् साथै दुवै किनारामा झुण्ड्याइएका घंघला (घण्टा)हरुमध्ये केही संख्या मात्रै बाँकी रहेको छ ।

यःसिँका लागि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय हुँदै वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय हात्तीसार, इलाका वन कार्यालय साँखुमार्फत् शंखरापुर नगरपालिकाको लम्बो डाँडामा रहेको सामुदायिक वनबाट ४० फिट लामो सल्ला रुख ल्याइएको थियो । जसलाई काठमाण्डौको टेकुस्थित मचलिसम्म ल्याइपुर्‍याएपछि एकदिन मचलिबाट पचलिस्थित यःसिँख्यःसम्म स्थानीय जनसमुदायले तानेर पुर्‍याएको थियो । जसलाई २०८० साल आश्विन कृष्ण चौथी असोज १ गते बिहान शुभ–साइतमा पुनरोत्थान गरियो ।

पुनरोत्थान कार्यक्रममा हनुमानढोका दरवार हेरचाह अड्डामा रहेको शार्दूल जङ्ग गण गुल्मबाट आएको गुर्जुको पल्टनकातर्फबाट तोप पड्काएर सलामी दिइएको थियो । त्यस अवसरमा सरकारका तीनै तहका जनप्रतिनिधिहरुका साथै जात्रा व्यवस्थापन समिति, पचलि भैरब क्षेत्र विकास समिति, राष्ट्रिय संस्कृसित संरक्षण अभियान लगायत विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु, हज्जारौँको संख्याका विभिन्न तह र तप्काका जनसमुदायको उपस्थिति रहेको थियो । उठाइएको यःसिँ पचलि भैरब आजुको जात्रा अवधिभरी प्रदर्शनमा राखेर चार दिनपछि ढाल्ने परम्परा अनुरुप जात्रा समापनसँगै कार्तिक ४ गते अष्टमिका दिन ढाल्ने कार्यक्रम रहेको छ ।

आधा शताब्दीपछि पचलि भैरब जात्रामा गरिएको यस यःसिँ पुनरोत्थान कार्यले जनताले चाहेमा असम्भव ठानिएको सांस्कृतिक परम्परालाई पुनः निरन्तरता दिन सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ । साथै सांस्कृतिक परम्परामा विगतमा भए–गरेका अनेकौँ गल्ती र कमजोरीहरुलाई सच्याउँदै लानुपर्ने पनि देखाएको छ । 

अन्तिम अपडेट: कात्तिक १७, २०८०

कुमार रञ्जित

उज्यालोमा कार्यरत कुमार रञ्जित तीन दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया