२ किलो चिनी किन्न धादिङदेखि काठमाण्डाै !

 कात्तिक २, २०८० बिहीबार १७:५३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बजारमा चिनी अभाव भएपछि धादिङका मानिस चिनी किन्न काठमाण्डाै आएका छन् ।

नेपालीको मुख्य चाड दशैँ, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङ छत्रेदेउरालीका साधुरामप्रसाद भट्टराई काठमाण्डाैकाे कालीमाटीमा रहेकाे साल्ट ट्रेडिङ कर्पोरेशनमा आउनुभएको हो । नेपालीले धेरै मात्रामा चिनी प्रयोग गर्ने दशैँ, तिहार र छठकाे समयमा सरकारले दायित्व निभाउन नसकेको भट्टराईले बताउनुभयो । उहाँले मुख्य चाडपर्वको समयमा दुई किलो चिनी किन्न धादिङदेखि काठमाण्डाै आउनुपर्ने बाध्यता सरकारको लापर्बाहीकै कारण भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

भट्टराईले धादिङका पसलमा चिनी नपाएको र पाए पनि किलोको एक सय ६० रुपैयाँसम्म पर्ने गरेको बताउनुभयो । उहाँले जन्मेदेखि पहिलो पटक धादिङदेखि दुई किलाे चिनी किन्न काठमाण्डाै आउनुपरेको गुनासाे गर्नुभयाे ।

चिनी किन्न सहुलियत पसलमा आउनुभएकी सावित्रा उप्रेतीले दुई घण्टा लाइन लाग्नुपरेकाे बताउनुभयो । सरकारले सञ्चालन गरेको सहुलियत पसलभन्दा बाहिरका पसलमा चिनी नपाएको भन्दै दुई किलो लिन भए पनि लाइनमा बसेकाे उहाँले बताउनुभयो । हरेक वर्ष चाडबाडमा सास्ती बेहाेर्दै आए पनि सरकारकाे ध्यान नगएकाे उहाँले गुनासाे गर्नुभयाे ।

चिनी किन्नका लागि कीर्तिपुरबाट कालीमाटीकाे सहुलियत पसलमा आउनुभएकी पवित्रा थापाको पनि उस्तै गुनासो छ । उहाँले बजारमा चिनी नै नपाएकाले सहुलियत पसलमा चिनी किन्न आएको बताउनुभयो । उहाँले दुई किलो चिनी किन्न लामो लाइन बस्नुपर्दा दुःख लागेको बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई दुई केजीका दरले उपलब्ध गराउने बताउनुभयो । उहाँले सहुलियत पसलमा लाइनमा बस्ने उपभोक्तालाई खाली हात नपठाउने बताउनुभयो ।

निर्देशक झाले चिनी अभाव हुने विषयमा गएकाे जेठमा सरकारसँग आग्रह गरे पनि सरकारले तत्कालीन समयमा स्वीकृति नदिँदा अहिले समस्या आएको बताउनुभयो । उहाँले सरकारले समयमै स्वीकृति दिएको भए अहिले बजारमा अभाव हुँदैन थियाे भन्नुभयाे । चिनी खरिद प्रक्रिया अगाडि बढाए पनि चाडपर्वमा ल्याउन नसकिएको उहाँले बताउनुभयो ।

साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ ।

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया