सुदूरपश्चिम सरकार र उद्योग वाणिज्य महासङ्घबीच लगानीसम्बन्धी सम्झौता

 कात्तिक ४, २०८० शनिबार २०:३१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासङ्घबीच लगानी प्रवर्धन र विकासका गतिविधि सञ्चालनका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको छ । आज शनिवार महासङ्घमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । 

समझदारीअनुसार प्रदेश सरकार र महासङ्घले सुदूरपश्चिम प्रदेशमा लगानी प्रवर्धन गर्न र प्रदेशको आर्थिक विकास एवम् समृद्धिमा योगदान पुर्‍याउन सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । त्यहीअनुसार प्रदेश सरकार र महासङ्घको संयुक्त आयोजनामा आउँदाे फागुन २३ र २४ गते सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन आयोजना गरिनेछ । त्यस सम्मेलन सफल पार्न महासङ्घको सम्पूर्ण संयन्त्रले काम गर्ने महासङ्घ अध्यक्ष ढकालले प्रतिबद्धता जनाउनुभयो । 

अध्यक्ष ढकालले भारत र चीनमा 'बिजनेस समिट' आयोजना गरेको र त्यहाँबाट सोधपुछ हुन थालेको अवस्थामा प्रदेशमा पनि लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । महासङ्घको तेस्रो कार्यकारिणी समिति बैठकले सबै प्रदेशमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । त्यही सन्दर्भमा सुदूरपश्चिम प्रदेश सरकारसँग पहिलो सम्झौता भएको हो । यसले प्रदेशमा आर्थिक विकासका लागि सहयोग पुग्ने अध्यक्ष ढकालले बताउनुभयो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महासङ्घसँगको सहकार्यमा निर्धारित लगानी तथा विकास सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनका अवसरमा सुदूरपश्चिममा लगानी आउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकार लगानी सहजीकरणका लागि सहयोगी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया