कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालन

 कात्तिक ८, २०८० बुधबार ८:५७:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - कपिलवस्तुको चन्द्रौटामा क्षयरोग उपचार केन्द्र सञ्चालनमा आएको छ ।

औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको सङ्ख्या बढ्न थालेपछि चन्द्रौटामा उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो । आधारभूत स्वास्थ्य सेवा अस्पतालमा केन्द्र सञ्चालनमा आएपछि क्षयरोगीको उपचारका लागि अन्तै जानुपर्ने बाध्यता हटेको छ ।

लुम्बिनी प्रदेशमा चौथो र कपिलवस्तुमा पहिलो क्षयरोग उपचार केन्द्र चन्द्रौटामा स्थापना गरी सञ्चालन गरिएको राष्ट्रिय क्षयरोग कार्यक्रमका उपसचिव शरदकुमार शर्माले बताउनुभयो । उहाँका अनुसार नेपालभर २३ डीआर सेवा र ८६ उपकेन्द्र रहेका छन् ।

सरकारले सन् २०२१ देखि २०२५ सम्म क्षयरोग उपचारका लागि रणनीति तयार पारेर उपचार केन्द्र र उपकेन्द्र गाउँस्तरमा स्थापना गर्ने उद्देश्य राखेको छ । चन्द्रौटामा सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रणमा प्रभावकारी ढङ्गले अघि बढ्ने शिवराज नगरपालिकाका मेयर अजय थापाले बताउनुभयो ।

क्षयरोग लागेका कतिपय बिरामीले समयमा औषधि सेवन नगर्ने गरेको पाइएकाले सबै बिरामीलाई निगरानी गर्नुपर्ने उपमेयर शिवकुमारी थारूले बताउनुभयो । डीआर उपचार केन्द्रबाट क्षयरोगको जाँच तथा निःशुल्क उपचार हुने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख चुडामणि भट्टराईले बताउनुभयो ।

क्षयरोगका बिरामीलाई औषधिले काम गरे/नगरेको विषयको परीक्षण प्रयोगशालामा हुनेछ । साथै नियमित औषधिले निको हुने/नहुने अवस्थाबारे पनि थाहा पाउन सहज हुने उहाँको भनाइ छ । कपिलवस्तुमा बर्सेनि क्षयरोगका बिरामी बढ्दै गएका छन् ।

तथ्याङ्क अनुसार २०७६/७७ मा पाँच सय ८५, २०७७/७८ मा छ सय ३३, २०७८/७९ मा नौ सय र २०७९/८० मा नौ सय १४ जनामा क्षयरोगको सङ्क्रमण रहेको छ ।  

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया