दशैँ बिदापछि पढाउन शुरु नगर्ने तीन विद्यालयलाई हलेसी तुवाचुङ नगरपालिकाको स्पष्टीकरण

 कात्तिक १४, २०८० मंगलबार १३:३०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

खाेटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दशैँ बिदा सकिए पनि नियमित पठनपाठन शुरु नगर्ने तीन विद्यालयलाई स्पष्टीकरण सोधेको छ ।

कात्तिक ११ गते दशैँ बिदा सकिए पनि कात्तिक १२ गतेदेखि नियमित पठन–पाठन शुरु नगरेको पाइएपछि च्यास्मीटार मावि च्यास्मीटार, मालिकादेवि मावि कदुवा र दूधकोसी आधारभूत विद्यालय, बाहुनीडाँडा, जयरामलाई नगरपालिकाले स्पष्टीकरण सोधेको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, सामाजिक विकास शाखा संयोजक रुद्र राईलगायतको टोलीले कात्तिक १२ गते स्थलगत अनुगमन गर्दा नियमित पठनपाठन शुरु नभएको पाएपछि विद्यालयलाई लिखित स्पष्टीकरण सोधेको हो । कार्यालय समयमा अनुगमन गर्दा दूधकोशी आधारभूत विद्यालयमा एक जना शिक्षक र दुई जना विद्यार्थी मात्र भेटिएका थिए । तर हाजिरी पुस्तिका हेर्दा १५ विद्यार्थीको उपस्थिति देखिएको मेयर राईले बताउनु भयाे । 

'अनुगमनमा पुग्दा मालिकादेवि माविको गेट नै लगाइसकिएको थियो । च्यास्मीटार माविमा कार्यालय सहयोगी मात्र भेटिएका थिए' राईले भन्नुभयाे । 

अनुगमनपछि नगरपालिकाले विद्यालयमा नियमित पठनपाठन शुरु नहुनुको कारण तथा कात्तिक १२ र १३ गतेको सम्पूर्ण शिक्षकको उपस्थिति, काज बिदा तथा अनुपस्थितिको विवरण तीन दिनभित्र पठाउन पत्राचार गरेको छ । विना जानकारी अनुपस्थित हुने शिक्षकको तलब कट्टा गर्ने नगरपालिकाले जनाएको छ । 

दशैँ तिहार जस्ता चाडबाड आसपासमा बिदा सकिए पनि जिल्लाका प्रायजसाे विद्यालयमा पठनपाठन शुरु हुन सकेको छैन । तराईका कतिपय शिक्षक छठपछि मात्र विद्यालयमा हाजिर हुन्छन् । कतिपय गाउँकै शिक्षक पनि चाडबाड आसपासमा नियमित उपस्थित नहुने समस्या पाइएको मेयर राईले बताउनु भयाे । नियमित पठनपाठन नहुने भएपछि दशैँ तिहार आसपासमा विद्यार्थी समेत कम उपस्थित हुने गरेका छन्।

'दशैँ तिहार बिदा सकिए पनि समयमा पठनपाठन शुरु नहुनु थिति जस्तै भइसकेको छ,'मेयर राईले भन्नुभयाे, 'अब कुनै पनि बाहनामा पठन–पाठनलाई प्रभावित पार्न पाइन्नँ । ठिक मितिबाट विद्यालयको पठन–पाठन शुरु हुनुपर्छ । कसैलाई छुट छैन ।'

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया