चिसो शुरु भए पनि डेङ्गीको जोखिम कायमै

 कात्तिक १५, २०८० बुधबार ८:५१:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिसो शुरु भए पनि डेङ्गीको जोखिम कायमै छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला बाहेक सबै जिल्लामा डेङ्गीका बिरामी भेटिएका छन् । यो वर्ष अहिलेसम्म झण्डै ४४ हजार जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । डेङ्गीका कारण यसवर्ष अहिलेसम्म २० जनाको ज्यान गएको छ ।

चिसो शुरु हुन थाले पछि डेङ्गीको प्रकोप केही घट्न थाले पनि जोखिम कायमै रहेकाले सचेत हुन आवश्यक रहेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो । उहाँका अनुसार यो महिनाको अन्तिमसम्म नै डेङ्गीको जोखिम उच्च छ । यसपछि पनि सङ्क्रमण हुने सम्भावना भने रहन्छ । तर, अहिलेको तुलनामा जोखिम कम हुने उहाँले बताउनुभयो। 

डाक्टर दाहालका अनुसार अहिले कास्की, गोरखा, बाग्लुङ र तनहुँमा डेङ्गीका बिरामी बढेको तथ्याङ्क छ । यी जिल्लाको तुलनामा काठमाण्डौ उपत्यकामा सङ्क्रमित कम छन्, तर जोखिम भने उच्च छ । दशैँअघिको वर्षाका कारण पनि लामखुट्टे सक्रिय भइरहेको उहाँले बताउनुभयो । विज्ञहरू लामखुट्टेको प्रजनन स्थल नष्ट नगरिए अर्को वर्ष डेङ्गी सङ्क्रमण थप भयावह बन्न सक्ने चेतावनी दिएका छन् ।

यसपालि कोशी प्रदेशको सुनसरीमा डेङ्गीको सङ्क्रमण तीव्र गतिमा फैलिएको थियो । डेङ्गी सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल सङ्क्रमण हो । यस्तै, डेङ्गी सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई पनि टोक्दा सङ्क्रमण हुन्छ । सङ्क्रमित लामखुट्टेले टोकेको ३ देखि १० दिनभित्र शरीरमा लक्षण देखा पर्न थाल्छ । डेङ्गीको सङ्क्रमण भएमा उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, जीउ दुख्ने, खान मन नलाग्ने, बान्ता हुने, पेट दुख्ने र एकदमै कमजोरी अनुभव हुने जस्ता लक्षण देखिन्छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया