नवलपरासी : किसानलाई धान काट्न भ्याइनभ्याइ, उत्पादन बढ्ने अनुमान

 कात्तिक १६, २०८० बिहीबार १३:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । 

अहिले गाउँघरमा धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका कावासोतीमा रहेकाे विष्णुनगर कृषि सहकारी संस्थाका अध्यक्ष खुमकान्त गौडेलले बताउनुभयो ।

'खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषिकाे काममा सहज भएको छ,' उहाँले भन्नुभयो, 'अहिले धान काट्ने मेसिन र धान झाँट्ने थ्रेसरको प्रयोगले किसानलाई सजिलो बनाएको छ ।'

धान झाँट्ने थ्रेसरको प्रयोगले एकैदिनमा धेरैको धान झाँट्न सकिने भएकाले काम गर्न छिटो र सहज भएको किसान धनपती अधिकारीले बताउनुभयो । जिल्लामा यस वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । यस वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो । 

'यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकामा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ,' तिवारीले भन्नुभयो । यस वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेर रोपाइँ भएकाले उत्पादन राम्रो हुने अनुमान गरिएको उहाँको भनाइ थियो।

जिल्लामा अहिलेसम्म ४५ प्रतिशत किसानले धान थन्काइसकेका जनाउँदै तिवारीले अबको १५ दिनभित्र सबै धान थन्क्याइसक्ने बताउनुभयो ।

'जिल्लामा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ,' उहाँले भन्नुभयो, 'जिल्लामा सिफारिस भएका ८६ जातमध्ये सात जातका मात्र रैथाने धानको खेती हुने गरेको छ ।' यस वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।  

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया