रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्छ : मन्त्री ज्वाला

 कात्तिक १६, २०८० बिहिबार १८:४३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले योगराज ढकाल (रिगल) काे कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।

आज बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्चको फैसलालाई सरकारले सम्मान गर्ने बताउनुभएको हो । उहाँले सरकारले कुनै पनि निर्णय गर्दा संविधान, नियम र कानुनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रूपमा यो फैसलालाई लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अदालतले गरेकाे फैसलाई सरकारले सम्मान गर्छ । सरकारले निर्णय गरेका कतिपय विषय अदालतमा जान्छन् । ती निर्णयमा कहिलेकाहीँ अदालतले फरक आदेश पनि गर्न सक्छ । हरेक विषयमा जोगिएर निर्णय गर्नुपर्‍याे । संविधान, नियम, कानुनलाई ध्यानमा राखेर निर्णय गर्नुपर्‍याे । त्यसैले यो एउटा सरकारलाई सुझाव पनि हो । संविधान मिचिएको होइन, यस सम्बन्धमा सरकारले निर्णय गर्दा अझै राम्रोसँग विचार गर्नुपर्थ्याे । अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्छ ।’

रिगललाई सरकारको सिफारिसमा गएकाे असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो । रिगलले विसं २०७२ असार २८ गते नेपालगञ्जकाे धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमतीले गएकाे असोज २२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । रिगलले ११ वर्ष ११ महिना पाँच दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया