उद्योगसँग सहकार्य गरेर बजारमा चिनी पठाइँदै, कालोबजारी गरेको पाइए हेलो सरकार वा १०० नम्बरमा जानकारी दिन अनुरोध

 कात्तिक १७, २०८० शुक्रबार ७:१७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तिहारमा चिनीकाे अभाव हुन नदिने गरी तयारी भइरहेको सरकारले जनाएको छ । दशैँको जस्तै तिहारमा पनि विभिन्न उद्योगहरुसँग सहकार्य गरेर बजारमा चिनी पठाउन थालिएको  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका अनुसार एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । हिजो गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेशबाबु शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार आज काठमाण्डाैका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने छ  ।

सङ्घले उपलब्ध गराएको चिनी खुद्रा व्यापारीले प्रतिकिलो एक सय १७ रुपैयाँमा बिक्री गर्नेछन् । यो मूल्यभन्दा बढी नतिर्न उपभोक्तालाई उहाँको आग्रह छ । सङ्घले उपलब्ध गराएको चिनी पाइने सूचना हरेक पसलमा टाँस गर्न उहाँले अनुरोध गर्नु भएको छ । काठमाण्डाै उपत्यकामा एक हजार सात सय जनाभन्दा बढी खुद्रा व्यापारी सङ्घमा आबद्ध छन् ।

वाणिज्य विभागका महानिर्देशक तीर्थराज चिलुवालले अब बिस्तारै चिनीको अभाव हट्दै जाने बताउनुभयो । खुद्रा व्यवसायीले लागत मूल्यमा नै चिनी बिक्री गर्ने उहाँले जानकारी दिनुभयो ।

हिजो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सरोकारवालाको बैठकले बजारमा चिनीको अभाव हुन नदिन सबै रणनीति अख्तियार गर्ने निर्णय गरेको पनि चिलुवालले जानकारी दिनुभयो ।

बैठकले अवैध ढङ्गले नेपाली बजारमा चिनी भित्रिएको र चर्को मूल्यमा करछली गर्दै बजारमा पठाइने गरेको निष्कर्ष निकाल्दै चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालित गर्ने निर्णय गरेको थियो ।

बैठकले नेपाल प्रहरीले सबै चिनी उद्योगको मौज्दात अवस्था जाँच गर्ने र मौज्दात चिनी बजारमा पठाउन उद्योगीसँग छलफल गर्ने, अवैध ढङ्गले भित्रिएका वा गोदाममा थन्किएको चिनीको खोजीका लागि अनुगमन गर्ने निर्णय पनि गरेको महानिर्देशक चिलुवालले जानकारी दिनुभयो ।

यसैबीच, प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा जानकारी दिन आग्रह गरेको छ । प्रहरीले सूचना निकालेर चिनीको कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा पैसा नलाग्ने १०० नम्बरसहित हेलो सरकार वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरेको हो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया