काठमाण्डाै–तराई 'फास्ट ट्र्याक' नेपाली सेनाकाे प्रतिष्ठासँग जाेडिएकाे छ : उपप्रधानमन्त्री खड्का

 कात्तिक १७, २०८० शुक्रबार २०:३१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाण्डाै–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण योजना थप गरिएको समयभित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिनुभएको छ । फास्ट ट्र्याककाे काम आउँदाे २०८३ साल चैत्र मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले त्यही समयमा नेपाली सेनाले त्याे आयोजनाको काम पूरा गर्नुपर्ने उहाँको भनाइ थियो ।

शुक्रवार सिंहदरबारमा मन्त्रालयको चालु आर्थिक वर्षको  प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उपप्रधानमन्त्री खड्काले याे याेजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको बताउनुभयो । उहाँले देशकै प्रतिष्ठाकै विषय भएको याे आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाइ नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले , ‘फास्ट ट्र्याककाे काम तोकिएकै समयभित्र सम्पन्न गरिसक्नुपर्छ । नेपाली सेनाले विभिन्न जिम्मेवारी ऐतिहासिक रूपमा सम्पन्न गरेको छ । नेपाली सेनाको आफ्नो छुट्टै पहिचान छ । फास्ट ट्र्याक नेपाली सेनाको प्रतिष्ठासँग जोडिएको छ । हामी सबैले भनिराखेका छौँ– यो जति छिटो बनाउँछौ, यसले देशभरको आर्थिक क्षेत्रमा ल्याउने सङ्ख्यात्मक, गुणात्मक परिवर्तनमा ठूलो असर पर्छ । त्यसैले त्यति महत्त्वको योजनाकाे समय २०८३ को चैत मसान्त तोकेका छौँ । त्योभित्र टुङ्ग्याउने गरी २४ घण्टामा २० घण्टा काम गर्नुपर्ने हो कि, २४ नै घण्टा गर्नुपर्ने हो सम्झाैता गर्नुभएन । सरकारले गर्नुपर्ने काम गर्छ । तर यसमा समय थप खर्चने वा टार्ने हामीसँग अनुमति छैन ।’

उपप्रधानमन्त्री खड्काले कुनै पनि काममा ढिलाइ नगर्न पनि मन्त्रालय मातहतका निकायलाई सचेत गराउनुभयो । बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले बजेटको अभावमा नेपाली सेनाले पाएको सडक निर्माण लगायतका जिम्मेवारी समयमै सम्पन्न गर्ने काममा ढिलाइ हुन गएको स्पष्टीकरण दिनुभएको थियो ।

अन्तिम अपडेट: असोज ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया