सर्वोच्चको आदेशपछि पक्राउ परेका रिगल जेल चलान, बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद भुक्तान गर्नुपर्ने

 कात्तिक १७, २०८० शुक्रबार १५:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि कारागार कार्यालय नेपालगञ्ज पठाएको बाँके जिल्ला अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले रिगललाई बिहान ११ बजेतिर बाँके जिल्ला अदालतमा पेस गरेको जानकारी दिनुभयो । हिजो बिहीवार नेपालगञ्जको सेतु विक चोकबाट पक्राउ परेका रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर आज शुक्रवार अदालतमा बुझाएको हो ।

यसअघि जन्मकैद सजाय पाएका ढकाल रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्च अदालतले बिहीवार आदेश दिएको थियो । आदेशलगत्तै रिगललाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गएकाे असोज ३ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो । सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये ११ वर्ष ११ महिना ५ दिन कैद रिगललाई कारागारमा राखी कानुनबमोजिम असुल गर्नू भनी परमादेश दिएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया