जाजरकोट भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या एकसय नाघ्यो, २०७२ को भूकम्पपछि सबैभन्दा धेरै क्षति

 कात्तिक १८, २०८० शनिबार ७:४१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ ।

६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी एकसय जनाभन्दा धेरैको ज्यान गएको छ । जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उज्यालोलाई जानकारी दिनुभयो । धेरै घाइते भएका र उद्धारको काम भैरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् । 

यस्तै, भूकम्पका कारण रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । ५३ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले रातिदेखि नै खोज तथा उद्धारको काम भैरहेको जानकारी दिनुभयो ।

अहिले घाइतेहरुलाई अस्पताल पठाउने र प्रभावित क्षेत्रमा प्रहरी तथा स्वास्थ्यकर्मी पठाउने काम पनि भैरहेको उहाँको भनाइ छ । कतिपय ठाउँमा भूकम्पपछि पहिरो जाँदा सडक अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको छ । सडक पन्छाउने काम भैरहेको डीआईजी ढकालले जानकारी दिनुभयो । 

२०७२ सालको विनाशकारी भूकम्पपछि सबैभन्दा धेरै मानवीय क्षति भएको छ । जाजरकोट र रुकुम पश्चिमका सयौँ घर भत्किएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया