सरकारले भूकम्प प्रभावित क्षेत्रमा विशेषज्ञ डाक्टरसहित ४१ जना स्वास्थ्यकर्मीलाई खटायो

 कात्तिक १८, २०८० शनिबार १०:४६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : हेलाे सरकार

काठमाण्डाै - सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ डाक्टरसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले आज बिहान टोली त्यसतर्फ गएको जानकारी दिनुभयो । उहाँका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ जना र वीर अस्पतालबाट छ जना चिकित्सक र नर्स छन् ।

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले गएको थियो । भूकम्पमा परि घाइते तथा बेपत्ता भएकाको उद्धार र खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सबै सुरक्षा निकायको समन्वयमा जनप्रतिनिधि र नागरिक समेतको सहयोगमा उद्धार जारी रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म भूकम्पमा परेर एक सय २९ जनाको ज्यान गएको छ भने एक सय ४० जना घाइते भएका विवरण प्राप्त भएको छ । अहिले प्रभावित क्षेत्रमा विभिन्न ठाउँबाट सुरक्षाकर्मी परिचालन भएको पनि उहाँले बताउनुभयो । कडायतका अनुसार रुकुम पश्चिमबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा तीन सय २० जनाको प्रहरी टोली परिचालन गरिएको छ ।

जाजरकोटमा प्रहरी नायब उपरीक्षकको कमाण्डमा चार सय ५० जनाको सुरक्षा फौज परिचालन भएको छ । कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट ३६ जना जाजरकोटका लागि र चौरजहारी बेसक्याम्पबाट १० जना रुकुम पश्चिमका लागि पठाइएको छ । यस्तै, डीआईजीपी डा. गोपेश ठाकुरको नेतृत्वमा ११ जनाको मेडिकल टोलीसमेत खटाइसकिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै, नेपाली सेनाका ११ जनाको उद्धार टोली हेलिकप्टरमार्फत पनि पुगिसकेको कडायतले बताउनुभयो । अहिले भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहान प्रभावित क्षेत्रमा उद्धार र मेडिकल टिमसहित पुग्नुभएको छ ।

अन्तिम अपडेट: असोज २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया