जाजरकाेट भूकम्प अपडेट : १ सय ३३ जनाको ज्यान गयाे, १ सय ८५ जना घाइते

 कात्तिक १८, २०८० शनिबार १२:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएकाे छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् । 

सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएकाे छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लैजाने क्रम जारी छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटिरहनुभएको छ । उहाँ चिकित्सक टोली र राहतसामग्रीसहित प्रभावित क्षेत्रमा पुग्नुभएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सय जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार ३३ घाइतेको जिल्ला अस्पताल जाजरकोट र रुकुम पश्चिमबाट हेलिकप्टरमा उद्धार गरी उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

राहत तथा उद्धारका लागि चिकित्सकसहितको टोली घटनास्थलमा पुर्याउने काम भइरहेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । काठमाण्डाै, सुर्खेत र नेपालगञ्जमा चिकित्सकसहितको टोली तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो । 

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया