जाजरकोटमा भूकम्पमा परि ज्यान गुमाउनेमध्ये ७८ जना बालबालिका

 कात्तिक २०, २०८० सोमबार १३:५०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

सुर्खेत - जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि ज्यान गुमाएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिकाकाे रहेकाे छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट ज्यान गुमाएका एक सय ५७ मध्ये ७८ जना बालबालिका रहेका छन् । 

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाले भूकम्पमा परि ज्यान गुमाएका जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जिल्लामा गरी ज्यान गुमाउने झण्डै आधा बालबालिका रहेका छन् । जाजरकोटमा ज्यान गुमाएका एक सय पाँच मध्ये बालक २७  र बालिका २३ जना रहेका रोकाले बताउनुभयो । 

रुकुम पश्चिममा भूकम्पमा परि ५२ जनाले ज्यान गुमाएकामा २८ जना बालबालिका रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'रुकुम पश्चिममा भूकम्पमा ज्यान गुमाएकामध्ये प्रायजसाे बालबालिका छन् । दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन् ।'

भूकम्पमा परि ज्यान गुमाउनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ । जाजरकोटमा ज्यान गुमाउनेमा ३३ जना महिला र १८ जना पुरुष रहेका रोकाले जानकारी दिनुभयो । रुकुम पश्चिममा १६ जना महिला र आठ जना पुरुषको ज्यान गएकाे छ । 

यस्ता विपदमा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँगै अपाङ्गता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन् ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया