तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फकाईयो

 कात्तिक २०, २०८० सोमबार १७:५७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तनहुँ – १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ ।

ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कङ्क्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६ दशमलव ९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंक (एडीबी) का वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले आज साेमवार बेलुन उडाएर नदी फर्काउने कार्यको शुभारम्भ गर्नुभयो ।

अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि झन्डै ४० मिटर अग्लो अस्थायी कङ्क्रिट बाँध निर्माण गरिने छ । त्याे बाँध आउँदाे मनसुन शुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा र फड्को भएको बताउनुभयो । विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भए पनि अहिले नमुना आयोजनाको रूपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो ।

आयोजनाको निर्माण प्रगति झन्डै ४६ प्रतिशत रहेको छ । आयाेजनाकाे काम २०८३ साल असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्त्वपूर्ण चरण पार गरेको बताउँदै आयोजना जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माणमा आइपर्ने स्थानीय समस्यालाई संयुक्तरूपमा समाधान गरी निर्माणमा अवरोध हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले निहीत स्वार्थका व्यक्तिहरूबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनुपर्ने बताउनुभयो ।

भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले देशमा केही नभएको भन्ने जताततै गुनासो सुनिरहेका बेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको बताउनुभयो ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले तनहुँ जलविद्युत‍्को प्रकृति, लागत, यसले सिर्जना गर्ने रोजगारीलगायतका आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गरिनुपर्ने बताउनुभयो । उहाँले पालिका र प्रशासनको समन्वयकारी भूमिकाका कारण आयोजना अहिलेकाे अवस्थामा पुगेको बताउनुभयो ।

एडीबीका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युत‍्मा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाको रूपमा दूधकोशी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बताउनुभयो । उहाँले विगत वर्षदेखि नेपालको ऊर्जा क्षेत्रमा गर्व गर्न लायक कामहरू भएको बताउँदै दूधकोशी जलविद्युत‍्जस्ता ठूलो आयोजनाहरूमा एडीबीले लगानी गर्न लागिरहेको उल्लेख गर्नुभयो ।

तनहुँ हाइड्रोपावरका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले  कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सबै ध्यान केन्द्रित गरिएको बताउनुभयो । उहाँले आयोजना निर्माणमा पालिका, प्रशासन, स्थानीयवासीलगायत सबैको साथ र सहयोग रहेको उल्लेख गर्नुभयो ।

आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्शन (प्र.) लि. नेपाल जे. भी. सँगको ठेक्का सम्झौता २०७८ साल भदाै १४ गतेदेखि कार्यान्वयनमा आएको थियो ।

निर्माण कम्पनीले अहिले अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा वायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेकाे छ । याे कार्यको प्रगति झन्डै ५४ प्रतिशत छ । प्याकेज–१ को समग्र प्रगति २५ प्रतिशत छ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेशन चीनसँग २०७५ साल असाेज १५ गते खरिद सम्झौता भएको थियो । निर्माण सुपरीवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य शुरु गर्न कार्यादेश जारी गरेपछि सिनो हाइड्रोले २०७५ साल माघ ६ गते आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

भूमिगत विद्युत् गृह खन्ने कार्य सम्पन्न गरी कङ्क्रिटिङ तथा टर्बाइनलगायतका उपकरणहरू जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ, मुख्य सुरुङ खन्ने काम भइरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति झन्डै ४७ प्रतिशत छ ।

प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के.इ.सी. इन्टरनेशनल लिमिटेड भारतसँग २०७५ साल पुस १० गते भएको खरिद सम्झौता त्यही वर्षकाे फागुन १० गते कार्यान्वयनमा आएको थियो । ३४ दशमलव ७ किलाेमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।

आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

यसअन्तर्गत स्थानीयरूपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३/११ केभीका दुई वटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यी सबस्टेशनमा विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरका लागि एडीबीले  १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया