दुर्गम क्षेत्रमा राहत पुर्याउन चुनौती, खुला ठाउँमा बसेकाहरु चिसोको मारमा

 कात्तिक २१, २०८० मंगलबार ७:४०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - भूकम्प प्रभावित क्षेत्रमा पालिकाहरुसँग समन्वय गरेर राहत वितरण भइरहेको छ । तर, ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती बढेको छ ।

धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन । केही सडक भूकम्पका कारण भत्किएका छन् । यसले गर्दा दुर्गम क्षेत्रमा राहत पठाउन कठिनाइ भइरहेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिनुभयो ।

सडक पुगेका क्षेत्रमा हिजैदेखि राहत वितरण भइरहेको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार सम्बन्धित पालिकासँग समन्वय र छलफल गरेर राहत पुर्याउन थालिएको छ । दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत राहत पठाउने तयारी भएको छ ।

हिजो जुनीचाँदे गाउँपालिकामा हेलिकप्टरमार्फत राहत पठाए पनि अवतरण हुन नसक्दा त्यसै फर्किएको छ । त्यो क्षेत्रमा आज फेरि हेलिकप्टर पठाउने तयारी भएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिनुभयो ।

यस्तै, भूकम्प प्रभावित रुकुम पश्चिमका नागरिकलाई पनि राहत वितरण भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो । राहतमा त्रिपाल, ब्लाङ्केट, केही खाद्यान्न, न्यानो कपडा तथा स्वास्थ्य किट वितरण गर्न थालिएको छ ।

गएको शुक्रवार राति भूकम्प गएपछि धेरैजसो खुलाचौर, सामुदायिक भवन, विद्यालयमा बसेका छन् । कतिपय चिसो भुँइमा पराल र म्याट ओछ्याएर बसेका छन् । यसरी खुल्ला रुपमा बसेकाहरुलाई चिसोले सताउन थालेको छ । खासगरी बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीको स्वास्थ्यमा समस्या पर्न थालेको छ । कतिपयलाई न्यानो कपडा वितरण गरे पनि धेरैले पाएका छैनन् ।

चिसोमा दिनरात बिताउन बाध्य भएका प्रभावितहरुलाई बेलाबेला आइरहने परकम्पले थप त्रासमा पारेको छ । बेलाबेला शक्तिशाली परकम्प गइरहेकाले राहत वितरणमा समेत समस्या पर्न थालेको जिल्ला प्रशासन कार्यालयले बताएका छन् । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया