उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले भोलि कात्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा सङ्कलन गरेर दक्षिणकाली नगरपालिका वडा नम्बर ७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको छ । सडक, नदी किनारा, पार्क, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा भएका छाडा चौपाया व्यवस्थापनका लागि महानगरले काञ्जी हाउस सञ्चालनमा ल्याउन लागेको हो ।
काञ्जी हाउसमा चौपायहरुको लागि बाससँगै खाना तथा स्याहारको व्यवस्था भइसकेको महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिनुभयो । हिजो महानगरको कृषि तथा पशुपन्क्षी विभाग र प्रमुखको सचिवालयका अधिकारीहरुले काञ्जी हाउसमा लगिने गाईबाच्छा राख्ने पूर्वाधारको अवलोकन निरीक्षण गरेका छन् ।
भोलिदेखि महानगरका विभिन्न क्षेत्रबाट सडकमा भएका गाईबाच्छा सङ्कलन गरेर टेकु ल्याइनेछ । सङ्कलित गाईबाच्छालाई सुविधाजनक ढुवानी व्यवस्था गरेर काञ्जी हाउस पुर्याउने झाले बताउनुभयो । काञ्जी हाउस सञ्चालन गर्न २०७८ सालको फागुन ३ गते काठमाण्डौ महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको हो ।
सम्झौता अनुसार लगानी फिर्तासहितका काम गर्न काठमाण्डौ महानगरले दक्षिणकाली नगरलाई ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराइ सकेको छ । काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरपालिकाले कर्मचारी खटाउनेछ । थप पूर्वाधार निर्माण तथा मर्मत सम्भार, मृत जनावरको व्यवस्थापन लगायत काम महानगरपालिकाले गर्नेछ ।
पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधि, उपकरणको प्रबन्ध महानगरले गर्नेछ । एक सय २६ रोपनी जग्गामा महानगरपालिकाले डाले तथा भुइँ घाँस लगाउन सक्नेछ । छाडा चौपायका कारण सडकमा दुर्घटना समेत हुने गरेकोले व्यवस्थापन गर्न लागेकोले काञ्जी हाउसमा व्यवस्थापन गर्न लागेको महानगरपालिकाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।