विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

 कात्तिक २२, २०८० बुधबार १८:४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको छ । विद्युत् लाइन काटेर झन्डै ५० करोड रुपैयाँ असुल गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताउनुभयो । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकको लाइन काटिरहेका छन् ।

विद्युत महसुल सङ्कलन विनियमावली २०७८ बमोजिम मिटर रिडिङ भएको १६ औँ दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६ औँ दिनदेखि ३० औँ दिनसम्म पाँच प्रतिशतका दरले र ३१ औँ दिनदेखि ४० औँ दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४० औँ दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१ औँ दिनदेखि बिलको २५ प्रतिशतका दरले थप दस्तुर लाग्ने व्यवस्था छ ।

यसरी २५ प्रतिशतका दरले थप दस्तुर लागेको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको छ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।

विनियमावलीको यही प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६० औँ दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताको चरणबद्धरूपमा विद्युत् लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिइएको प्राधिकरणकाे वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया