साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा पसलेलाई दिने चिनीको ‘कोटा’ बढायो

 कात्तिक २३, २०८० बिहीबार १२:४४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गएकाे मङ्गलवारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो। 

प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार अहिलेसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पोरेशनबाट लगिसकेका छन् । उहाँले भन्नुभयो, 'काठमाण्डाै उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पोरेशनबाट चिनी लिन सक्छन् ।' उहाँका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एकसय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो ।  

कर्पोरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी ९७ रुपैयाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पोरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो । 

दशैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार रुपैयाँ मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ । तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गर्दछन् । 

सरकारले कर्पोरेशनलाई भारतसँग जीटूजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो । तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ । कर्पोरेशनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया