काठमाण्डाै लैजाने तयारी गर्दागर्दै खाेटाङमा १० दिनकी सुत्केरीकाे ज्यान गयाे

 कात्तिक २८, २०८० मंगलबार २०:३१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङमा १० दिनकी सुत्केरीको ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल दिक्तेलमा पुर्‍याइएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी जेनिसा शैंजूको ज्यान गएकाे हो ।

यही कात्तिक १८ गते छोरीलाई जन्म दिएकी शैंजूको सोमवार राति जिल्ला अस्पतालबाट अन्यत्र लैजाने तयारी गर्दागर्दै ज्यान गएकाे हो । श्वास फेर्न अप्ठ्यारो भएपछि जेनिसालाई सोमवार बिहान जिल्ला अस्पताल लगिएको थियो तर एक्स–रे लगायतका जाँचका क्रममा सामान्य देखिएपछि उहाँ घर फर्किनुभएकाे थियाे । राति पुनः श्वास फेर्न अप्ठ्यारो भएपछि उहाँलाई अटो रिक्सामा राखेर जिल्ला अस्पताल लगिएको थियो । स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाव दिएपछि गाडी खोजेर काठमाण्डाै लैजाने तयारी गर्दागर्दै सुत्केरीको ज्यान गएकाे बाम्राङका वडाध्यक्ष महेन्द्र राईले बताउनुभयाे ।

जेनिसा खोटाङ अटोलिङ्क प्रालिमा कार्यरत हुनुहुन्थ्याे । जमेको रगत फोक्सोमा पुगेका कारण श्वासप्रश्वासमा समस्या निम्तिएर सुत्केरीको ज्यान गएको जिल्ला अस्पतालका डा. रमेश श्रेष्ठले बताउनुभयाे । उहाँका अनुसार सुत्केरीको शरीरमा अक्सिजनको मात्रा घटेर न्यून देखिएको थियो । जेनिसाले जिल्ला अस्पतालमै सामान्य अवस्थामा छाेरीलाई जन्म दिनुभएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया