छठपर्वका लागि वीरगञ्जका पोखरीहरू सजाइँदै

 कात्तिक २९, २०८० बुधबार १२:५९:४६ | रासस
unn.prixa.net

फाइल तस्बिर

पर्सा – दीपावली सकिएसँगै तराई मधेशका जिल्लामा छठपर्वको तयारी थालिएको छ । छठपर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा सिंगार्ने काम भइरहेको छ।

कतिपय पोखरीका घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको वीरगञ्जस्थित घडिअडर्वा पोखरी, नगवापोखरी, छपकैया पोखरी, श्रीपुर, रानीघाटसहितका पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेको सङ्ख्यमा वृद्धि भइरहेकाले छठपर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भिड देखिन थालेको छ ।

विगतभन्दा यस वर्ष छठपर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीयले बताएका छन् । यस वर्ष मसिंर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अघ्र्य दिने भए पनि यसको मुख्य विधि तीन दिनअगावैदेखि निष्ठापूर्वक शुरु हुन्छन् ।

अहिले गाउँगाउँ घरघरमा छठपर्वका गीत गुन्जिने गरेको पाइन्छ । सूर्यषष्टी अर्थात छठपर्व प्रारम्भ हुनेछन् । छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठपर्व आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभरि उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ । यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो ।

अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिन बर्तालुले रातभरी जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएर व्रत समाप्त हुन्छ । पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा भीड लाग्ने गर्दछ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवम् चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

ज्योतिषशास्त्रका आधारमा छठपर्वका समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणयनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि फलकारीसमेत मानिएको छ । छठपर्वको मुख्य प्रसादका रूपमा रहेका केरा, फलफूल, मीठाइ, अदुवा, उखुलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल गर्ने गरेको पाइन्छ ।

छठ पूजाका लागि नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । छठघाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने उहाँको भनाइ छ । चार दिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ ।

महाभारतअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञात बासमा रहँदा त्यो गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ । त्यस समयमा पाण्डव मिथिलाका किरात राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि त्यस समयदेखि छठपर्व मनाउने परम्परा चलिआएको देखिन्छ ।

अर्कातिर सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको शुरुवात भएको पण्डित शास्त्रको कथन छ । छठपर्व मनाउनुका पछाडि धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्व पनि त्यत्तिकै महत्व राख्दछ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्वपूर्ण ठानिन्छ । भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया