सोलुखुम्बुमा घरेलु फर्म दर्ता गर्नेको सङ्ख्या २५ प्रतिशतले घट्यो

 कात्तिक ३०, २०८० बिहिबार ११:५४:५६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा घरेलु फर्म दर्ता गर्नेको सङ्ख्या २५ प्रतिशतले घटेको छ । घरेलु फर्म दर्तामा २५ प्रतिशतले गिरावट आएको हो । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार गएको आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नयाँ फर्म दर्ता कार्यमा २५ दशमलव ६४ प्रतिशतले गिरावट आएको हो । 

आर्थिक वर्ष २०७९/०८० को पहिलो ३ महिनामा ७८ वटा उद्योग तथा वाणिज्य फर्म दर्ता भएको थियो भने चालु आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ५८ वटा मात्रै फर्म दर्ता भएका छन् । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ४४ वटा उद्योग र १४ वटा वाणिज्य फर्महरु दर्ता भएका छन् भने गएको वर्षको सोही अवधिमा ५८ उद्योग र २० वटा वाणिज्य फर्म दर्ता भएको कार्यालयका सूचना अधिकारी सुनिता राईले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको ३ महिनामा ६० वटा फर्म नवीकरण भएका छन् । अघिल्लो वर्ष पालिकाहरुले विभिन्न अनुदानका कार्यक्रमहरु अघि सारेकाले घरेलु उद्योग तथा वाणिज्य फर्म दर्ता हुने क्रम धेरै भएको थियो । तर, चालु आर्थिक वर्षमा विशेष अनुदानका कार्यक्रमहरु कम हुँदा फर्म दर्ता हुने क्रम घटेको हुन सक्ने कार्यालयको अनुमान छ ।

पछिल्लो समय युवाहरु विदेशिने क्रम बढेसँगै घरेलु उद्योग तथा वाणिज्य फर्महरु दर्ता हुने क्रममा गिरावट आएको कार्यालयका सूचना अधिकारी राईले बताउनुभयो । विभिन्न सेवा शुल्कबाट ३ महिनामा ५ लाख ३२ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया