मुंग्रो तथा बियरको बोतल प्रहारबाट खोटाङमा दुई जना घाइते

 कात्तिक ३०, २०८० बिहिबार १२:१५:६ | दमन राई
unn.prixa.net

खोटाङ – खोटाङमा मुंग्रो र बियरको बोतल प्रहारबाट दुई जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ मलबासेका २८ वर्षीय विजय राईले हिजो राति विवादका क्रममा कोदो कुट्ने मुंग्रोले टाउकोमा प्रहार गर्दा त्यही ठाउँका ३५ वर्षीय भुवन राई घाइते भएका छन् ।

मुंग्राले टाउकोमा लाग्दा घाइते भएका भुवनलाई उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक टीका बरालले जानकारी दिनुभयो।

घाइतेलाई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचारपछि सिटी स्क्यानका लागि राजविराज लगिएको हो । घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । भुवनलाई मुंग्रोले हान्ने विजयलाई प्रहरी चौकी हुक्नाजोरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ ।

यस्तै खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका ३६ वर्षीय दिलाराम राईले  बियरको बोतलले टाउकोमा हान्दा त्यसै ठाउँका ४७ वर्षीय थामबहादुर राई घाइते भएका हुनुभएको छ । बियरको बोतलले लागेर घाइते हुनुभएका थामबहादुरलाई खोटाङबजारमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल उदयपुर लगिएको सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बरालले जानकारी दिनुभयो ।

बोतल प्रहार गर्ने दिलारामलाई प्रहरी चौकी वाप्लुखाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले कारबाहीका लागि नियन्त्रणमा लिएको छ । घाइते अवस्था सामान्य भएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया